गगन थापाज्यू, मिडियामा हेडलाइन बनेर मात्र अब पुग्ला?
अबको राजनीति सडकमा उफ्रिने, ढुंगा हान्ने, चर्को भाषण गर्ने शैलीको भएर पुग्दैन। बद्लिँदो सामाजिक–आर्थिक परिवेशमा बाँचिरहेका र बिथोलिएको अर्थ व्यवस्था र प्रकृतिको चक्रमा उकुसमुकुस भोगिरहेका नागरिकका लागि युवा नेतासँग कस्तो योजना छ?
टिकटक स्क्रोल गर्दै जाँदा गगन थापाको भाषणको एउटा क्लिप आयो, २०६२/६३ को आन्दोलन ताकाको। तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई उनी गगनभेदी आवाजमा चुनौती दिंदै थिए।
फेरि अर्को भिडिओ क्लिप आयो, नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा विजय भए लगत्तैको। त्यसमा उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सेखी झार्दै थिए।
लोकतन्त्र तथा नागरिक आन्दोलनका हामी सहयात्रीमध्ये गगन पनि एक हुन्। सडकमा सँगै पर्चा छरेका दिनहरूको याद ताजा भयो। त्यो र यो समयलाई तुलना गर्न थालेँ।
व्यवस्था नै बदल्न चाहिने ऊर्जा र जोश युवाहरूमा सञ्चार गर्न त्यो वेलाको गगनको भाषण निःसन्देह महत्त्वपूर्ण थियो। उनको भाषणको तिक्खर शैली पनि प्रेरक बनेको थियो। तर, व्यवस्था बद्लिएपछिको समयमा पनि के उनको भाषणको तौरतरिका र राजनीति गरिरहेको शैली उत्तिकै सान्दर्भिक छ त ? सञ्चारमाध्यमलाई पन्चलाइन दिने गरी बोलेर अबको समाज व्यवस्था उनले हाँक्न सक्छन् ? आफ्नो समयका नेतालाई लामो समयदेखि नियालिरहेको आधारमा मेरो मनमा यी प्रश्न उब्जिए।
गगन कसका नेता हुन् ? नेपाली कांग्रेसका समस्त कार्यकर्ताका, उनलाई नेता बनाउन लागिपर्ने भाइहरूका या समग्र नागरिकका ? आफूलाई नेता बनाउन लागिपरेका कार्यकर्तालाई धन्यवाद दिंदै उनले ‘अब खट्ने पालो मेरो’ भनेका छन्। उनी कार्यकर्ताका लागि मात्र खट्छन् या बद्लिँदो सामाजिक–आर्थिक परिवेशमा बाँचिरहेका र बिथोलिएको अर्थ व्यवस्था र प्रकृतिको चक्रमा उकुसमुकुस झेलिरहेका नागरिकका लागि पनि ? यसमा उनको तयारी कस्तो होला ? समयसँगै यी प्रश्नको जवाफ त मिल्ने नै छन्।
गगन कसका नेता हुन्? नेपाली कांग्रेसका समस्त कार्यकर्ताका, उनलाई नेता बनाउन लागिपर्ने भाइहरूका या समग्र नागरिकका? आफूलाई नेता बनाउन लागिपरेका कार्यकर्तालाई धन्यवाद दिंदै उनले ‘अब खट्ने पालो मेरो’ भनेका छन्। उनी कार्यकर्ताका लागि मात्र खट्छन् या बद्लिँदो सामाजिक–आर्थिक परिवेशमा बाँचिरहेका र बिथोलिएको अर्थ व्यवस्था र प्रकृतिको चक्रमा उकुसमुकुस झेलिरहेका नागरिकका लागि पनि?
कांग्रेस महाधिवेशनको समाचारले सामाजिक सञ्जाल गर्माइरहँदा म जस्तो नागरिकको मन भने छिरिक्कै तातो हुन सकेको थिएन। लोकतान्त्रिक आन्दोलनमा आफैं होमिएको एक पात्र, यो तातो माहोलसँग उत्सुक र आशावादी हुन सकिरहेको छैन। छक्क पर्दै थिएँ। गगन थापा लगायत नेताहरूले गरिरहने आगो ओकल्ने भाषण कसका लागि होला ? मैले मेरो लागि पनि हो भनेर किन हो महसूस गर्न सकिरहेको थिइनँ।
मुलुकको राजनीतिले मेरो जीवनमा भरोसा दिन सकेको छैन, आफ्नो निजी जीवन होस् या पेशागत सुरक्षाका प्रत्याभूतिसम्म। म भन्नु एक विम्ब हो नेपाली नागरिकको।
‘अबको समय डेटाइज्मको हो, प्रविधिले नै संसारको साम्राज्य चलाउनेछ’ भन्ने इतिहासकार तथा दार्शनिक युभाल नोआ हरारीको अनुमान पढिरहँदा देशका मुख्य दुई राजनीतिक दलको महाधिवेशन भयो। प्रविधि दश कदम अगाडि, समाज पाँच कदम र मिडिया दुई कदम अगाडि रहँदा राजनीति पछिपछि लागिरहेको समय छ। पेजरको जमानामा उदाएका युवाहरू स्मार्टफोन पनि आउटडेटेड हुने जमानामा दलको नेतृत्वमा पुगे। कम्तीमा कांग्रेसले नेतृत्वमा ताजा रक्तसञ्चार गर्यो। यतिमै पनि मानिसहरूको हौसला चुलिएको देखियो।
अब नयाँ पुस्ताका नेताहरूले द्रुत गतिमा बद्लिरहेको समाज कसरी हाँक्दै जालान् ? विपक्षीका नेतालाई कति तिखो गाली गरेर ताली खान्छन् भन्दा पनि उनीहरूको आफ्नै भिजन कस्तो होला ? जटिल हुँदै गएको समाज व्यवस्था हाँक्ने कस्तो तयारी छ ? आम नागरिकको चासोको विषय यो छ। नयाँ हुँदैमा सबै कायापलट भइहाल्छ भन्ने मान्यता नराख्ने मानिसहरूले यो उत्सुकता राख्न पाउँछन्। नयाँ र युवा त कुनै दिन शेरबहादुर देउवा पनि थिए। माधवकुमार नेपाल पनि थिए।
गगन थापाले निर्वाचनको वेला ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को दस्तावेज पनि पेश गरे। समुन्नत नेपाल सुन्दा जति राम्रो सुनिन्छ, वास्तवमा त्यसको रूप कस्तो हो भनेर सरल भाषामा आम मानिसले बुझ्ने गरी थाहा पाउनुपर्छ। किसानले, वैदेशिक रोजगारीको लाइनमा उभिएका तन्नेरीले मैले खोजेको देश यस्तै हो भन्न सक्ने खालको दृष्टि चाहिन्छ। यसै पनि कोभिड–१९ ले थला परेको समाज छ। मानिसको मनस्थिति गलेको छ। व्यापारीहरूको सातो गएको छ। शासकहरूले विकासको नाममा प्रकृतिसँग जुन खेलबाड गरिरहेका छन्, त्यसको अन्तिम परिणाम कोभिड–१९ महामारी होइन। अझै कष्टकर दिनहरू हामीले देख्नै बाँकी छ।
लोकतान्त्रिक व्यवस्थाले वर्षौं बदल्न नसकेको आर्थिक सामाजिक व्यवस्था हामी बाँचिरहेका छौं। यो अझै बिग्रेर जाँदै छ। हिजो सामाजिक न्यायको अवस्था रुग्ण थियो। आज प्राकृतिक न्यायको अवस्था पनि खलबलिएको छ। समाज र प्रकृति सहयात्री भन्ने नबुझ्दा हावा र पानीमै तड्पिएको अवस्थामा छौं। शहरमा बटुवा सहज रूपमा हिंड्न पाउनु पनि विकसित देशको ‘लक्जरी’ भएको छ। जुन कुरा हाम्रो लागि आकाशको फल बनिरहेको छ। फराकिलो फुटपाथमा हिंड्न पाउने कुरा राजनीतिको चासोको विषय होइन? प्राकृतिक न्यायको बेवास्ताले सामाजिक न्याय कमजोर भयो। दुवैको बेवास्ताले कमजोर हुने भनेको राजनीतिक व्यवस्था हो। लापरवाह नेतृत्वका कारण जे नहुनुपर्ने थियो, त्यही भइरह्यो र भइरहेको छ।
यसैले अब देश अमेरिका जस्तो बनाउँछु भन्ने खालका नाराहरु पनि बिक्दैनन्। अमेरिका आफैं समग्र विकासको उत्तम नमुना होइन। विश्वभरका पर्यावरणविद्हरूले विकसित मुलुकहरूसँग पृथ्वीको बर्बादीको जवाफ मागिरहेछन्। नेपालमा उदाउँदै गरेका नेतृत्व यस्तो विषयमा कति सजग र चनाखो छन्, हामीले जान्न पाउनुपर्छ। विजयी भइसकेपछि असरल्ल पम्प्लेट छोडेर खादा ओढेर हिँड्ने नेतृत्वलाई अबको समयले रुचाउने छैन, चीत्कारमा रहेको पृथ्वीले मन पराउने छैन।
गगन थापाले निर्वाचनको वेला ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को दस्तावेज पनि पेश गरे। समुन्नत नेपाल सुन्दा जति राम्रो सुनिन्छ, वास्तवमा त्यसको रूप कस्तो हो भनेर सरल भाषामा आम मानिसले बुझ्ने गरी थाहा पाउनुपर्छ। किसानले, वैदेशिक रोजगारीको लाइनमा उभिएका तन्नेरीले मैले खोजेको देश यस्तै हो भन्न सक्ने खालको दृष्टि चाहिन्छ।
हाम्रा नेताहरूका लागि बौद्धिक खुराक भनेको विदेशमा पढेर देश बनाउन आउने मानिसहरू हुन्। उनीहरूका विकासका अवधारणा सन् १९५० को आर्थिक विकासको मोडलबाट धेरै पर पुग्न सकेको देखिँदैन। यूरोप र अमेरिकाले अड्कलेर दिने ज्ञान नै ज्ञानको अन्तिम र उत्कृष्ट स्वरूप होइन। हाम्रा कान्ला–कान्लामा लुकेर बसेका लोकज्ञान, हाम्रो समाज विकासको इन्धन बन्न सक्छ। विकासका लागि कृषि पेशाबाट निस्किएर उत्पादनमूलक काममा लाग्नुपर्छ भनिन्छ। शहरमा फैलिँदै गएका सुपरमार्केटहरूमा सेवा प्रदायक रोजगारी पाउनुलाई उनीहरू प्रगतिको सूचक मान्छन्। खेतबारीमा अन्न नफले, फलफूल र तरकारी नफले प्लास्टिकमा पोको पारेर बेचिने चिजबिज कहाँबाट आउँछन्? सुपरमार्केटको झिलीमिली नै विकास देख्नेले किसान र स–साना व्यापारीको कुनै हैसियत देख्दैन। उनीहरूका मर्का सुन्दैन। अनेकौं दिन लगाएर भित्रिएको जापानको नास्पाती खानु अब पुरानो मोडल भइसक्यो। आफ्नै बारीमा ताजा र रसिलो फलफूलको भविष्य बताउन नसक्ने मानिस आउडेटेड योजनाविद् हो।
सुकिला लुगा लगाएर, धेरै पैसा तिरेर विष भरिएका खानेकुरा खानु समुन्नत हुनु पक्कै होइन। मकैको बीउमा पनि परनिर्भर देशको नागरिक पपकर्न खाँदै सिनेमा हेर्नुलाई कसरी विकसित मान्नु! यसैले सञ्चारमाध्यमका सेलिब्रिटी विद्वान्हरूले पेश गर्ने ‘कम्प्रिहेन्सिभ’ विकासका मोडल मात्र अध्ययन गरेर पुग्दैन। समुन्नतिको बद्लिँदो अवधारणालाई ताजा नेतृत्वले थाहा पाउनुपर्छ। सास नै फेर्न नपाए, पानी पिउन नपाए बजारका सबै चम्किला वस्तुको के अर्थ! नागरिकको गुणस्तरीय जीवन विकासको मानक बन्नुपर्छ। बलियो पर्यावरण त्यसको आधार हुुनुपर्छ। खेतका पाटाहरूमा माफिया होइन किसान मुस्कुराउनुपर्छ। समुन्नत हुनु भनेको पैसाको कारोबार बढ्नु मात्र होइन, मानिसहरूले बाँचिरहेको जीवनको गुणस्तर बढ्नु हो। मानिसहरूको आँखाको खुशी र मनको शान्ति हो।
राजनीति सञ्चारमाध्यममा छाउने राजनीतिक घटनाक्रमहरूको सँगालो होइन। असली राजनीति मानिसको जीवन प्रतिविम्बित गर्न सक्ने हुनुपर्छ। महीना दिनको अन्तरमा खानेतेलको भाउ दोब्बर हुुनु घर व्यवस्थापकको निजी समस्या होइन, यो देशको अव्यवस्थाको उदाहरण हो। डिजेलको भाउ बढ्नासाथ नाराबाजीमा उत्रने राजनीति भान्साको सरोकारमा किन चुप बस्छ ? के राजनीति गर्नेहरूले हावा खाएर भाषण गर्छन् ? होइन भने यतिका समयमा मानिसको जनजीवन समेट्ने गरी बोल्ने नेता कोही किन देखिएन ? गगन थापा सहितका युवा नेताहरूको चर्को भाषण यस्ता जनसरोकारका विषयमा किन हराउँछन् ? किनभने दाल, चामल, तेल जस्ता सामान्य लाग्ने जनजीविकाका कुरा उठाउँदा मूलधारका भनिने मिडियाले ठाउँ दिँदैन। जबकि नागरिकले त कुन नेताले हाम्रो चासोबारे बोल्छ भनेर हेरिरहेको छ।
समाज व्यवस्थालाई बलियो गरी बोक्न नसक्ने राजनीति त राजनीति नै होइन। समाज व्यवस्थाको अनुहार चिन्न ‘स्टे ट्युन’ वाला व्यावसायिक राजनीतिक विश्लेसण काफी हुनेछैन, मानिसहरूको आँखाको उदासी र खुशी नाप्न सक्ने दृष्टि चाहिन्छ। यसैका लागि नागरिकसँग नेताहरूको संवाद घनीभूत हुनुपर्ने हो। तर, उनीहरू दाजुभाइहरूकै घेराबाट बाहिर जान सकेको देखिँदैन।
राजनीति सञ्चारमाध्यममा छाउने राजनीतिक घटनाक्रमहरूको सँगालो होइन। असली राजनीति मानिसको जीवन प्रतिविम्बित गर्न सक्ने हुनुपर्छ। महीना दिनको अन्तरमा खानेतेलको भाउ दोब्बर हुुनु घर व्यवस्थापकको निजी समस्या होइन, यो देशको अव्यवस्थाको उदाहरण हो। डिजेलको भाउ बढ्नासाथ नाराबाजीमा उत्रने राजनीति भान्साको सरोकारमा किन चुप बस्छ?
‘अबको संसार डाडाइज्मले चल्नेछ। प्रविधि संसारको नयाँ सम्राट हुनेछ। मानिसहरूको भोट पनि व्यवस्था चुन्ने काममा असान्दर्भिक हुँदै जानेछ। मानिसले आफ्नो अभिमतको सान्दर्भिकता गुमाउँदै गएसँगै लोकतन्त्र र उदारवाद जस्ता कुरा पनि कमजोर हुनेछन्,’ हरारीको पुस्तक होमो डिअसमा यी सम्भाव्यता पढिरहँदा नेपाली कांग्रेसले नयाँ नेतृत्व चुन्दै थियो। नयाँ समयले ल्याइरहने नयाँ तौरतरिकाको फाइदा कहाँ छ, जोखिम कहाँनिर छ? यस्ता कुरा नेताहरूको मनमा चल्छ कि चल्दैन होला, सोच्दै थिएँ। ‘अटोमेसन रिभोलुसन’ले अधिकांश मानिसको जागिर खोस्दै छ भनेर संसारमा बहस भइरहँदा हाम्रो नेतृत्व रोजगारीका वैकल्पिक बाटाहरू सोच्छन् कि सोच्दैनन् ? देशका लाखौं युवा परदेशमा छन्। कैयौं बेरोजगारहरू देशभित्रै छन्। नेताहरूले यिनका लागि पनि योजना बुन्छन् या पार्टीका दाजुभाइकै भविष्य सुनिश्चित बनाउन आफ्नो शक्ति र सोच खर्च गर्लान् ?
प्रविधिको गुणगान मात्र गाइरहँदा डिजिटल गेमको लतमा परेर ज्यानै गुमाउनेसम्म तहमा पुगेका केटाकेटी र तन्नेरीहरूलाई अबको राजनीतिले कसरी सम्बोधन गर्ला ? सधैं अप्ठेरोमा रहेको सामाजिक न्याय, बिग्रँदो पर्यावरणीय चक्र, प्रविधिको बढ्दो हस्तक्षेप जस्ता तमाम चुनौतीका पत्र छिचोलेर अघि बढ्न अबका नेताहरुलाई सजिलो छैन।
उमेरमा साना भए पनि पुरानै नेता जस्तो बिहानदेखि बेलुकासम्म कार्यकर्ता भेट्घाटमै समय सकिए नयाँ हुनुको अर्थ हुँदैन। असल नेताले धेरै व्यस्त हुनै पर्दैन, नेताहरू व्यस्त हुन्छन् भन्ने पुरानै स्वाङ लिएर हिंड्नु पनि पर्दैन। चिया खाँदै गर्दा पनि विश्वमा भइरहेका ताजा बहस युट्युबमा सुन्न सकिन्छ। संसारको कसीमा आफ्नो देशलाई मापन गर्न सकिन्छ, हाम्रा लागि हितकर कुरा पहिल्याउन सकिन्छ। शान्त भएर योजना बनाउन सकिन्छ। योजना साकार पार्न लगनसाथ तीन–चार घन्टा खटिए पुग्छ। बाँकी समय रमाइलो मिजासमा टिकटक बनाए पनि हुन्छ। कतारमा अठार घन्टा श्रम गरेर एकछिन रमाउने युवाले पनि भनोस् न, ‘ओहो यति ठूलो नेता पनि म जस्तै मान्छे रहेछ।’ मुद्दामा गहनता भए अनुहारमा गम्भीरता नभए पनि हुन्छ।
चार वर्ष अघि सिक्किम पुग्दा तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङ कतै पनि भाषण गरेको देखिएन। अहिले जस्तो टिकटकको जमाना पनि थिएन। भाषणका क्लिपहरू भाइरल गराइरहने कुनै दस्ता कतै सक्रिय थिएन। नेपालको रापेछाप, दोलखाबाट रोजगारीका लागि भरिया पनि मुख्यमन्त्री चाम्लिङको दिल खोलेर तारिफ गर्थे। एमजी मार्गका व्यापारी उनको नाम सुन्ने बित्तिकै मुस्कुराउँथे। साधारण किसिमले बोल्ने चाम्लिङको कार्यकालमा मानिसहरू असाधारण मुस्कुराइरहेका भेटिए। गोर्खाल्यान्डको आन्दोलनले थलिएको दार्जीलिङ सिक्किमे सपना कल्पेर बसेको थियो।
चाम्लिङका स्वकीय सचिवलाई मैले फोन गर्दा मुख्यमन्त्रीको टोली गाउँमा डुल्दै रहेछ। “बस्दै गर्नुस् है, हामी आउँदै छौं,” निकै सरल मिजासमा भनें। यति सफल मुख्यमन्त्रीसँग कति सहज पहुँच। मानिसलाई विशिष्ट बनाउने उसको काम रहेछ, स्वाङ हैन।
अहिले हामी यस्तो समयमा छौं, पाँच वर्ष अघिको कुरा अहिले सान्दर्भिक लाग्दैन। पुरानो शैलीले स्वाद गुमाइसकेको, नयाँ तरिका खोज्दै गरेको अवस्थामा छौं। यस्तो वेला धूलो मात्र टकटकाएर पुराना विचार र शैली बोकिहिँड्नुको कुनै तुक छैन। रफ्तारमा बद्लिरहेको समय र समाज हाँक्न ठूलै एकाग्रता चाहिन्छ।
गत वर्ष जनकपुर साहित्य महोत्सवमा गगन थापाका युवा कार्यकर्ताको टोली भेटियो। “आक्रोशपूर्ण चर्का भाषण, मिडियालाई हेडलाइन दिने गरी लोकप्रिय लाइन, विपक्षीलाई सत्तोसराप जस्तो पुरानो शैली अब पुग्यो। साधारण भाषण र शक्तिशाली दृष्टिकोण चाहियो,” मैले फोकटको सल्लाह दिएँ। यो बहस निकैबेर चल्यो। भड्किलो भाषण नगरे हराउने डर हुन्छ भन्ने गगनको टोलीको तर्क थियो। सिक्किममा पवन चाम्लिङलाई मानिसहरूले गरेको माया देखेर लागेको थियो, मान्छेले माया कमाउन अरुलाई गाली गर्दै हिँड्नै पर्दैन। चर्को बोल्न पर्दैन। राम्रो काम गरे पुग्छ। जति हल्ला गर्नु छ, व्यक्तिको कामले नै गरिहाल्छ।
अहिले हामी यस्तो समयमा छौं, पाँच वर्ष अघिको कुरा अहिले सान्दर्भिक लाग्दैन। पुरानो शैलीले स्वाद गुमाइसकेको, नयाँ तरिका खोज्दै गरेको अवस्थामा छौं। यस्तो वेला धूलो मात्र टकटकाएर पुराना विचार र शैली बोकिहिँड्नुको कुनै तुक छैन। रफ्तारमा बद्लिरहेको समय र समाज हाँक्न ठूलै एकाग्रता चाहिन्छ। लोकतान्त्रिक आन्दोलनको समयमा बैठकमा भेट हुँदा गगन थापालाई विपश्यना ध्यानमा जान सुझाव दिएकी थिएँ। प्रतिउत्तरमा गगनले ‘दश दिन नबोली बस्ने त म कल्पना पनि गर्न सक्दिनँ’ भनेका थिए। म त उनलाई फेरि पनि यही भन्छु। फराकिलो धेरै हुनुभयो, अब गहिराइ नाप्नुस्। नबोली बस्ने वा शान्त भएर आफ्ना दृष्टिकोण पेश गरे पनि हुन्छ। गगनको नाममा गरिएको यो अपेक्षा नयाँ आएका सबै नेतृत्वको लागि हो।
अबको राजनीति सडकमा उफ्रिने, ढुंगा हान्ने शैलीको भएर पुग्दैन। व्यवस्था परिवर्तन गर्ने वेला जस्तो जंगी भाषणहरूको सहाराले पनि यसलाई थेग्ने छैन। अबको राजनीति त घरघरको भान्सामा पुग्नुपर्छ। बीउबिजनको अभावमा छट्पटिएका किसानको आँगन र खेतबारीमा पुग्नुपर्छ। बिरामीका औषधिका बिलहरूमा यसको उपस्थिति चाहिन्छ। विद्यालय जाँदै गरेका नानीहरू, राज्यबाट भरोसा खोजिरहेका ज्येष्ठ नागरिकहरूको अनुहारमा यो पुग्नुपर्छ।
यतिले मात्र पनि पुग्दैन। समाज र संसार मानिसको मात्र होइन। अबको राजनीति विकासका नाममा फैलिरहेको विनाशको कारण रोइरहेको प्रकृतिमा पुग्नुपर्छ। मानिसको दोहनकारी व्यवहारका कारण आँत सुकाएर बगर पल्टिएका नदीहरूको छेउमा, रासायनिक मलको आक्रमणले छट्पटिएको माटोका कणकणलाई पनि यसले सम्बोधन गर्नुपर्छ। शहरमा गुँड हराएर तड्पिएका पक्षीहरू, उपचार नपाएर लड्खडाउँदै हिँडेको घाइते कुकुरले पनि परिवर्तित व्यवस्था महसूस गर्नुपर्छ।