पार्टी पत्रकारिता
बहुदलीय व्यवस्थाको पुनर्बहालीपछिका तीन दशकमा हाम्रो पत्रकारितामा राजनीति र अन्य स्वार्थ बाझिने गतिविधि बढ्दै गएका छन्।
दुई महीनायता पत्रकारहरू राजनीतिक दलका विभिन्न तहका चुनावमा उम्मेदवार भई भोट माग्दै गरेका पोस्टर–भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। तिनमा आफ्नो ‘रिपोर्टिङ’ मार्फत राष्ट्रिय पहिचान बनाइसकेका व्यक्ति पनि छन्।
हामीले पेशेवर पत्रकार भनेर चिनेकामध्ये कतिपय त राजनीतिक दलमा दशकौंदेखि सक्रिय वा सङ्गठित कार्यकर्ता रहेछन्। उनीहरू ‘पत्रकारिताका माध्यमबाट विगत यति वर्षदेखि फलानो पार्टीलाई सेवा गरेको, पार्टीको पक्षमा जनमत सिर्जना गरेको’ भन्दै आफ्नो प्रचार गरिरहेका थिए।
पत्रकार सक्रिय राजनीतिमा संलग्न हुन नपाउने कुरा पत्रकार आचारसंहिताका राष्ट्रिय वा अन्तर्राष्ट्रिय दस्तावेजहरूमा स्पष्ट लेखिएको छ। नेपाल पत्रकार महासङ्घको विधान २०६० (पाँचौं संशोधन, २०७६) मै उल्लेख छ- ‘आफ्ना पदाधिकारी एवं सदस्यहरूलाई कुनै पनि राजनीतिक सङ्गठनको कुनै पनि विभाग वा समितिमा रहेर काम गर्न निषेध गरिएको छ।’
तर, दलका उम्मेदवार बनेका पत्रकारले महासङ्घको विधान मानेको देखिएन। महासङ्घले आफ्ना सदस्यलाई अनुशासनमा राख्न र कारबाही गर्न नसकेको भनी विभिन्न मञ्चहरूमा टिप्पणी समेत भयो। यसैबीच महासङ्घले ५ मंसीरमा पत्रकारका पदाधिकारीहरू विभिन्न दलका उम्मेदवार भएकोमा ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्ने चेतावनी दियोे। तर, अझैसम्म कसैलाई कारबाही गरेको जानकारी आएको छैन। खासमा महासङ्घसँग त्यस्ता पत्रकारलाई कारबाही गर्न सक्ने ल्याकत नै छैन, किनकि महासङ्घ आफैं राजनीतिक भागबण्डा र समीकरणको लाचार प्रतिविम्ब हो।
गत १८ मंसीरमा अमेरिकी टेलिभिजन सीएनएनले एक प्रभावशाली पत्रकार क्रिस क्वमोलाई बर्खास्त गर्यो। कारण थियो- उनले आफ्ना राजनीतिज्ञ दाजु एवं न्यूयोर्क राज्यका पूर्व गभर्नर एन्ड्र्यू क्वमोलाई सीएनएनका समाचार वा कार्यक्रम मार्फत सघाउन गरेको प्रयास।
गत १८ मंसीरमा अमेरिकी टेलिभिजन सीएनएनले एक प्रभावशाली पत्रकार क्रिस क्वमोलाई बर्खास्त गर्यो। कारण थियो- उनले आफ्ना राजनीतिज्ञ दाजु एवं न्यूयोर्क राज्यका पूर्व गभर्नर एन्ड्र्यू क्वमोलाई सीएनएनका समाचार वा कार्यक्रम मार्फत सघाउन गरेको प्रयास। एन्ड्र्यूमाथि यौन-दुराचारका धेरै घटनामा संलग्न भएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ। पत्रकार क्रिसलाई बर्खास्त गरेको समाचार सबैभन्दा पहिले सीएनएनबाटै प्रसारण भयो। हामीकहाँ त आफैं राजनीतिकर्मी आफैं पत्रकार हुनेहरूको भीड छ।
स्वार्थको टकराव
पत्रकारिता पेशामा माथि दर्शाइए जस्तो अवस्था आइपर्नु तथा पत्रकारले व्यक्तिगत लाभ प्राप्त गर्ने उद्देश्यले व्यावसायिक आचरण र कर्तव्यमाथि सम्झौता गर्ने यस्तो अवस्था स्वार्थहरूको टकराव हो। यस्तै अवस्था आइनपरोस् भनेर विभिन्न सार्वजनिक पदमा नियुक्ति लिएकाहरूलाई ‘शपथ’ गराउने चलन छ, ताकि पेशागत निष्ठा र मूल्य-मान्यतालाई आत्मसात् गर्न उनीहरू प्रतिबद्ध होऊन्। पत्रकार पनि सामाजिक सरोकारका विषयमा चासो राख्ने, राज्यका निकायमा निगरानी राख्दै गुण-दोषका आधारमा खबरदारी गर्ने अनि व्यक्तिगत स्वार्थलाई परै राखेर सर्वसाधारणको हितमा काम गर्नुपर्ने पेशाकर्मी हो।
एउटा नागरिकका नाताले खास राजनीतिक दर्शन, नेता वा व्यक्तिको कार्यशैलीप्रति झुकाव हुनु अस्वाभाविक नहोला, तर पेशागत मापदण्ड नै मिचिने गरी कार्यकर्ता भएर राजनीतिक दलमा सामेल हुनु पेशेवर पत्रकारलाई सुहाउने कुरा होइन। जो पत्रकारितालाई भर्याङ बनाएर राजनीतिक उचाइ हासिल गर्न उद्यत हुन्छन्, तिनले पत्रकारिताको दुरुपयोग गरेकै हुन्छन्। समाचारका लागि लिइएका सूचना अमुक राजनीतिक दल वा नेताको फाइदाका लागि दुरुपयोग भइरहेको हुन्छ। जसबाट राजनीतिक दलकै वस्तुपरक समालोचना हुन सक्दैन भने उसबाट समग्र पत्रकारिताको गुणस्तरको अपेक्षा गर्न सकिन्न।
रिपोर्टिङमा गएको पत्रकार विज्ञापन समेत लिएर आउँछ र त्यस बापत कमिशन पाउँछ भने उसले आलोचनात्मक समाचारलाई प्रशंसा र स्तुतिमा रूपान्तरण गर्ने सम्भावना हुन्छ।
राजनीति बाहेक पनि पत्रकारिता पेशामा स्वार्थको टकराव हुने विभिन्न विषय छन्। मानौं, रिपोर्टिङमा गएको पत्रकार विज्ञापन समेत लिएर आउँछ र त्यस बापत कमिशन पाउँछ भने उसले आलोचनात्मक समाचारलाई प्रशंसा र स्तुतिमा रूपान्तरण गर्ने सम्भावना हुन्छ। जस्तो- कोकाकोलाले ३५ अर्ब रुपैयाँ राजस्व छलेको विषय नेपालका धेरैजसो मिडियाले उठाउन सकेनन्, किनभने उनीहरू कोकाकोलाको विज्ञापन र प्रायोजनको पैसाले थिचिएका थिए।
पुरस्कार, सम्मान र खादाले पुरिएका पत्रकारले पनि सम्बद्ध संस्थाको आलोचनात्मक समाचार लेख्न सक्दैनन्। जुन संस्था गैरकानूनी गतिविधिमा संलग्न छन्, ती आफूलाई समाजसेवी देखाउन सञ्चार माध्यमलाई प्रयोग गरिरहेका हुन्छन्। सकारात्मक ‘कभरेज’ गरिदिएको भन्दै त्यस्ता संस्थाले पत्रकारलाई प्रशंसापत्र, फेलोसिप, नगद वा जिन्सी उपहार समेत दिन्छन्।
नकारात्मक समाचार लेख्ने धम्की दिएर विज्ञापन, पैसा वा अन्य लाभ लिने अनि समाचार तुहाउने प्रवृत्ति पत्रकारितामा देखिएको अर्को स्वार्थको टकराव हो। पत्रकारको पत्रकारिता इतर संस्थामा हुने संलग्नताले समेत स्वार्थहरूको टकराव सिर्जना गर्छ। पत्रकार कुनै व्यक्ति वा संस्थाको प्रेस सल्लाहकार छ भने उसले त्यस संस्थाका गलत क्रियाकलाप लेख्न सक्दैन। बरु, त्यो संस्थाको कमजोरी लुकाउन र सार्वजनिक छवि राम्रो देखाउन सञ्चार ‘प्रोपगन्डा’ गर्छ।
माथि उल्लेख गरिए झैं नेपाली पत्रकारितामा स्वार्थ टकराउने अनेक विषय छन्। तर, पत्रकारको राजनीतिक संलग्नतालाई बेवास्ता गरी अरू विषय मात्र नियन्त्रण गर्न कठिन छ। किनभने, पत्रकारितालाई हतियार बनाई राजनीतिक अभीष्ट सिद्धि गर्ने चलन नेपालमा नयाँ होइन। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई २०१२ सालमा तत्कालीन नेपाल पत्रकार सङ्घका अध्यक्ष थिए।
त्यस वेला उनी नेपाल पुकारका सम्पादक थिए, साथै नेपाली कांग्रेसको संस्थापक नेता पनि। पञ्चायतकालमा पत्रकारहरू दुई खेमामा विभाजित थिए- पञ्चायती व्यवस्था समर्थक र बहुदलीय व्यवस्था पक्षधर। बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी)का शुभेच्छुक पत्रकार सङ्गठनका रूपमा नेपाल प्रेस युनियन (१३ जेठ २०४८), प्रेस चौतारी नेपाल (२२ माघ २०५६) र क्रान्तिकारी पत्रकार सङ्घ (२१ माघ २०६१) खुले। समयक्रममा ती सबै राजनीतिक दलका भ्रातृ सङ्गठनका रूपमा क्रियाशील भए।
पत्रकार राजनीतिमा लाग्न चाहन्छ भने उसलाई पनि त्यो स्वतन्त्रता छ। तर, पत्रकारितामै रहेर अरू कतिपय पेशा अपनाउँदा व्यक्तिगत र संस्थागत स्वार्थहरू बाझिन्छन्।
२०६२-६३ को जनआन्दोलनपछि त राजनीति र पत्रकारिताको सीमारेखा यसरी गिजोलियो कि अहिले को राजनीतिक कार्यकर्ता र को पत्रकार, छुट्याउनै मुश्किल छ। पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घमा राजनीतिक दलकै निगाहमा उम्मेदवारले टिकट पाउँछन्। प्रायः सरकारकै जस्तो समीकरण बनाएर चुनाव जित्छन्। त्यहाँ स्वतन्त्र पत्रकार होइन, पार्टीका घोषित/अघोषित प्रतिनिधि पुग्छन्। तसर्थ, उनीहरूले पत्रकारको आचरणमा प्रश्न उठाउने वा पेशागत मर्यादा उल्लङ्घन गर्नेलाई कारबाही गर्ने ल्याकत राख्दैनन्।
सुधारका उपाय
संविधानले हरेक नागरिकलाई जुनसुकै पेशा-व्यवसाय रोज्न पाउने अधिकार सुनिश्चित गरेको छ। पत्रकार राजनीतिमा लाग्न चाहन्छ भने उसलाई पनि त्यो स्वतन्त्रता छ। तर, पत्रकारितामै रहेर अरू कतिपय पेशा अपनाउँदा व्यक्तिगत र संस्थागत स्वार्थहरू बाझिन्छन्। पत्रकारिता पेशामा हुने स्वार्थका टकराव नियन्त्रण गर्ने सन्दर्भमा यहाँ तीन मुख्य सुझाव प्रस्तुत गरिएका छन्ः
पहिलो: हरेक पत्रकारले पत्रकारिताको व्यावहारिक र सैद्धान्तिक अध्ययन बढाउने। जागीर खोज्ने सिलसिलामा ख्यालख्यालमै पत्रकार भएकाहरूलाई पत्रकार हुनुको अर्थ र भाव बुझाउन जरुरी छ। कलेज वा विश्वविद्यालयमा भर्ना भएर खास कोर्स पढ्नैपर्छ भन्ने छैन, तर पत्रकारिता पेशाको पृष्ठभूमि, व्यावसायिक मापदण्ड, पेशागत मर्यादा र आचरण, चौथो अङ्ग भनिनुको कारण र समाजमा पत्रकारले पार्न सक्ने प्रभावबारे अझै राम्ररी बुझ्न आवश्यक छ।
दोस्रो: नियमित रूपमा आवधिक अभिमुखीकरण सञ्चालन गर्ने। नेपालमा कतिपय वरिष्ठ भनिएका पत्रकार समेत राजनीति वा स्वार्थको टकराव हुने विभिन्न गतिविधिमा संलग्न भइदिंदा नयाँ पुस्ताका पत्रकारलाई सही पत्रकारिता के हो भन्नेमै द्विविधा परिरहेको छ। अर्काको पैसामा देशदेशावर घुम्ने, उनीहरूका पक्षमा सकारात्मक प्रचारबाजी गर्ने, पत्रकारिता र अन्य पेशाका बाझिने स्वार्थहरूलाई मिसाउने, ठूला उपहारका लागि सेवाग्राहीलाई दबाब दिने, समाचारका लागि लिइएका तथ्यलाई अन्य निजी कामका लागि दुरुपयोग गर्ने, आफ्नो स्वार्थसिद्धि हुने भए समाचारै गायब पार्ने आदि अव्यावसायिक गतिविधि निर्बाध चलिरहेका छन्। तसर्थ, पत्रकारिताका पेशागत मर्यादा, आचरण र व्यावसायिक मापदण्डका बारेमा नयाँ-पुराना पुस्ताका पत्रकारलाई समय-समयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहनुपर्छ।
पत्रकारलाई आफूले जे गरिरहेको छु, त्यही नै पत्रकारिता हो भन्ने लागेको हुन सक्छ, किनभने वरिपरिका धेरैले त्यसै गरिरहेका छन्।
तेस्रो: पत्रकारिताबाट अन्य पेशामा जाँदा वा अन्य पेशाबाट पत्रकारितामा आउँदा सार्वजनिक घोषणा गर्ने। कुनै पत्रकार राजनीतिमा जाँदा ‘मैले आजदेखि पत्रकारितालाई विश्राम दिएँ’ भन्न सक्नुपर्छ। फेरि पत्रकारितामा आउने हो भने पनि ‘मैले आजदेखि राजनीति छाडें’ भनी घोषणा गर्न सक्नुपर्छ।
बीबीसी नेपाली सेवाका तत्कालीन प्रमुख रवीन्द्र मिश्रले १७ फागुन २०७३ मा औपचारिक रूपमा पत्रकारिता छाडेर राजनीतिमा होमिएको घोषणा गरेका थिए। तर, यस्ता पत्रकार नगण्य छन्। यसपालि पनि राजनीतिक दलको आन्तरिक चुनावमा उम्मेदवार बनेका धेरैजसोले पत्रकारिता छाडेर राजनीतिमा होमिएको घोषणा गरेनन्। बरु, ‘चुनाव जिते नेता, हारे पत्रकार’ को च्याँखेदाउ थापे।
बहुदलीय व्यवस्थाको पुनर्बहालीपछिका तीन दशकमा हाम्रो पत्रकारितामा राजनीति र अन्य स्वार्थ बाझिने गतिविधि बढ्दै गएका छन्। त्यस्ता पत्रकारलाई आफूले जे गरिरहेको छु, त्यही नै पत्रकारिता हो भन्ने लागेको हुन सक्छ, किनभने वरिपरिका धेरैले त्यसै गरिरहेका छन्। उनीहरूलाई पत्रकारिताका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्ड, अभ्यास र त्यसले पार्ने प्रभावबारे बुझाएर छिटोभन्दा छिटो पत्रकारिताको व्यावसायिक ‘लिक’ मा ल्याउनुपर्छ। अन्यथा, जुन पेशामा जान चाहेको हो त्यतै पठाउनुपर्छ।
(आचार्य युनिभर्सिटी अफ अटवा र सेन्ट पउल युनिभर्सिटी क्यानडामा अनुसन्धान र प्राध्यापनमा संलग्न छन्। हिमालको २०७८ पुस अंकबाट।)