एकाएक बढ्यो विद्युतको माग, गत वर्षभन्दा ३ सय मेगावाट वृद्धि
जाडो बढेसँगै विद्युतको आन्तरिक माग एकाएक बढेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार, गतवर्षको तुलनामा यस वर्ष विद्युत्को उच्च माग (पिक डिमान्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो।
आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत उपलब्ध गराउन सरकारले नीतिगत पहलकदमी अघि सारेको छ।
विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएकाले पनि माग बढेको हो।
विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ। उदाहरणका २७ मंसीरमा प्रणालीमा विद्युतको उच्च माग १५३९ मेगावाट थियो। गत वर्षको सोही दिन १२१७ मेगावाट थियो। यस आधारमा विद्युतको पिक डिमान्ड गतवर्षको सोही दिनको तुलनामा ३२२ मेगावाट अर्थात २६.५ प्रतिशत वृद्धि भएको छ।
२७ मंसीरको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो। सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि एकाएक बढेको छ। काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ। गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ।
ऊर्जाका मागका आधारमा २७ मंसीरमा विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो। गत वर्षको सोही दिन २ करोड ११ लाख युनिट थियो। गत वर्षको तुलनामा यो वर्ष ६१ लाख युनिट अर्थात २८.६५ प्रतिशत बढी हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताए। उनले भने, “विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत् माग २ हजार मेगावाटको हाराहारीमा पुग्न सक्छ।”
उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको उनले बताए। कार्यकारी निर्देशक घिसिङले पछिल्ला महीनामा औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरूलाई चाहिएजति विद्युत दिने बताउँदै आएका छन्।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ। दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण शुरू गर्ने प्राधिकरणले जनाएको छ।