ख्वप अस्पतालमा शनिबार पनि बहिरंग सेवा
भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालले शनिबार पनि बहिरंग सेवा दिने भएको छ। यसको आजैबाट शुरुआत गरिएको छ।
ख्वप अस्पतालका संयोजक डा. रत्नसुन्दर लासिवांले शनिबारबाटै बिहान १० बजेदखि ५ बजेसम्म बहिरंग सेवा दिन थालिएको बताए। यो सेवा सधैं सञ्चालन हुने उनले बताए।
यो अस्पतालमा हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सेवा संचालन हुँदै आएको छ। विरामीको चापलाई मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको डा. लासिवाले बताए।
यसअघि शनिबार बहिरंग सेवा बन्द हुने भएकाले शुक्रबार र आइतबार बिरामीको चाप हुने गरेको थियो। अब शनिबार पनि सेवा सञ्चालन हुने भएपछि अन्य दिन पनि सहज हुने उनको भनाइ छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सामुदायिक अस्पतालमा यसअघि शनिबारबाहेक विदाका दिन पनि सेवा सञ्चालन हुँदै आएको थियो। “सार्वजनिक विदाका दिन तथा शनिबार पनि सेवा प्रदान गर्ने यो देशकै पहिलो सामुदायिक अस्पताल हो,” उनले भने।
यो अस्पताले २०६४ सालदेखि सार्वजनिक विदामा पनि सेवा दिँदै आएको थियो। आजबाट वर्षमा ३६५ दिन नै सेवा दिने उनले बताए। सरकारी तथा सामुदायिक अस्पतालमा शनिबार बहिरंग सेवा बन्द हुने गर्छ।
सहज सेवा उपलब्ध हुने भएकाले यो अस्पतालमा बिरामीको घुइचो लाग्ने गरेको छ। भक्तपुरसँगै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन्।