युवा नेतृत्वका अवरोध
राजनीतिबाट सामान्य जीवन चलाउने अपेक्षा मात्र गर्ने हो। सम्भ्रान्त शैलीको जीवन चाहनेले राजनीति गर्ने होइन, व्यवसाय गर्ने हो।
नेपाली राजनीतिमा युवा सहभागिता न्यून छ। दलका भ्रातृ संगठनमा युवा बाहुल्य भए पनि केन्द्रीय कमिटी र नेतृत्वमा उनीहरूको उपस्थिति खासै छैन। हामी विकसित देशको उदाहरण दिंदै विकास र समृद्धिका लागि युवा नेतृत्व आउनुपर्ने नारा त लगाउँछौं, तर त्यस अनुरूप वातावरण बनाउँदैनौं।
भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो पुस्ताको नेतृत्व पाएको छ। तर, त्यहाँ पनि युवा खासै छैनन्। केही दिनअघिको एमाले महाधिवेशनले पनि युवा सहभागिता बढाएन। कांग्रेसमा चाहिं स्थानीय र प्रदेश कमिटीमा युवाको सङ्ख्या बढे जस्तो लाग्छ। तर, महत्त्वपूर्ण पक्ष, तीमध्ये कति जना माथिल्लो कमिटीमा आए भन्ने हो।
समाजले स्विकार्न सक्ने ‘आइडियल’ युवा हामीले देख्न पाएका छैनौं। युवाले मुलुकको नीति निर्माणमा सशक्त भूमिका खेलेको, राज्य सञ्चालन गरेको नदेखेकै कारण समाजले उनीहरूलाई पत्याउँदैन।
युवालाई नेतृत्व तहसम्म पुग्न दुई कुराले अवरोध गरेको छ। पहिलो, इतिहासदेखि नै हाम्रो समाज र राजनीतिले नेतृत्वमा युवाको कल्पनै गरेको छैन। समाजले स्विकार्न सक्ने ‘आइडियल’ युवा हामीले देख्न पाएका छैनौं। युवाले मुलुकको नीति निर्माणमा सशक्त भूमिका खेलेको, राज्य सञ्चालन गरेको नदेखेकै कारण समाजले उनीहरूलाई पत्याउँदैन।
अर्को कारण, युवा उमेरमै हामीले निर्वाह गर्नुपर्ने थुप्रै भूमिका हुन्छन्। पढाइ, व्यक्तित्व विकास, आर्थिक जोहो, पारिवारिक तथा सामाजिक जिम्मेवारीसम्मको भार हुन्छ। ऊर्जाशील उमेर भएकैले हरेक आन्दोलन र परिवर्तनका अजेन्डामा युवा अगाडि देखिन्छन्।
तर, राजनीतिमा पूर्ण रूपमा समर्पित हुँदा माथि उल्लिखित जिम्मेवारी पूरा गर्न नसकिने भएकाले निरन्तरता टुट्न पुग्छ। राजनीतिमै लागिरहँदा व्यक्तिगत र पारिवारिक जीवनको आर्थिक व्यवस्थापन सम्भव हँदैन। विद्यार्थी संगठनमा रहेकाहरूले केही समयमै राजनीति छाड्नुको कारण पनि यही हो।
देशको नेतृत्व गर्ने दायित्वबाट युवा उम्कन मिल्दैन। उनीहरूले परम्परागत राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेर राजनीतिको परिभाषा बदल्न सक्नुपर्छ। यसका लागि सबै दलका युवा नेताले साझ धारणा बनाउनुपर्छ।
हाम्रा नेताहरू नयाँ पुस्तालाई सजिलै नेतृत्व दिनै चाहँदैनन्। तर, नेतृत्व परिवर्तनका लागि युवाले निरन्तर प्रयास गरिरहनुपर्छ।
समाजले पनि नेताबाट गर्ने अपेक्षा परिवर्तन हुनुपर्छ। २४ घण्टा पार्टीको झेला बोक्नेलाई मात्रै नेता मान्ने चलन हट्नुपर्छ। युवालाई पूर्णकालीन राजनीतिमा तान्नका लागि दलले नै उनीहरूलाई पारिश्रमिक दिनुपर्ने कुरा पनि उठ्न सक्छ। तर, पार्टीसँग युवालाई दिने पैसा चाहिं कहाँबाट आउँछ त ? प्रकारान्तरले त्यस्तो अभ्यासले पनि भ्रष्टाचार नै जन्माउँछ।
यो स्थिति अन्त्य गर्न पनि राजनीतिमा नयाँ सोच आवश्यक छ। त्यो भनेको युवाको उपस्थिति नै हो। राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिका बढाउन ‘पार्ट टाइम पोलिटिक्स’ को अवधारणा उचित हुन सक्छ। यसबारे सबै राजनीतिक दल र समाज जागरुक हुन जरुरी छ। यसो हुँदा युवाले पढ्न, काम गर्न र आर्थिक रूपमा सक्षम भई सँगसँगै राजनीतिलाई अगाडि बढाउन पाउँछन्।
युवा आउनुपर्छ भन्दाभन्दै पनि पुरानो पुस्ताले राजनीतिमा बलियो जरा गाडेर बसेको छ। हाम्रा नेताहरू नयाँ पुस्तालाई सजिलै नेतृत्व दिनै चाहँदैनन्। तर, नेतृत्व परिवर्तनका लागि युवाले निरन्तर प्रयास गरिरहनुपर्छ।
पुराना पुस्ताका नेताले समाजका लागि होइन, आफू र आफ्नो परिवारको स्वार्थका लागि मात्र काम गरेका छन्। मुख्य कुरा त भ्रष्टाचारी प्रवृत्ति हट्नुपर्छ। सरकारले ६० हजार दिने जनप्रतिनिधिको दैनिक खर्च ६ लाख हाराहारी हुन भएन। यसमा हाम्रो हस्तक्षेप र प्रश्न जरुरी छ। राजनीतिबाट सामान्य जीवन चलाउने अपेक्षा मात्र गर्ने हो। सम्भ्रान्त शैलीको जीवन चाहनेले राजनीति गर्ने होइन, व्यवसाय गर्ने हो।
(दर्शना विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। हिमालको २०७८ पुस अंकबाट।)