सुदूरका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न साइकल यात्रा
सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८’ शुरू भएको छ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेस्टर्न राइडरको सहकार्यमा साइकल यात्रा शुरू गरिएको हो। साइकल यात्रा तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ।
धनगढीदेखि गोदावरी, खानीडाँडा हुँदै डोटीको बुडरसम्म साइकल यात्रा हुने फारवेस्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए। साइकल यात्रामा भारतबाट पनि राइडर सहभागी छन्।
भारतको गाजियावाद, नैनिताल, बरेली र बिहारका आठ जना राइडर साइकल यात्रामा सहभागी रहेको उनले बताए। त्यस्तै, काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागी छन्।
यात्राको अन्तिम बुडरमा साइकल दौड प्रतियोगिता गरिने उनले बताए। डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्म ५ किलोमिटर प्रतियोगिता आयोजना गरिनेछ।