कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरू भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा खुला तर्फका केन्द्रीय सदस्यको मतगणना शुरूको भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्।
यसअघि विभिन्न क्लस्टरमा प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्यको मतगणना पनि सानेपामै गरिएको थियो। पिछडिएको क्षेत्रतर्फ बझाङका अर्जुनजंगबहादुर सिंह निर्वाचित भएका छन्।
उनले २५७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरे। पिछडिएको क्षेत्रतर्फ ४६७२ मत खसेको थियो भने ३९ मत बदर भएको थियो।
त्यस्तै, मधेशबाट महिलातर्फको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। कांग्रेस पदाधिकारीको शुक्रबार नै मतगणना सकिएको थियो।