विदेशबाट आउने यात्रुले होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटलको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरिएको छ।
अध्यागमन विभागले शनिबार बिहान सूचना प्रकाशित गरी सात दिन आफ्नै खर्चमा होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको जनाएको छ। विभागले अर्को सूचना प्रकाशित नभएसम्मका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू नहुने जनाएको छ।
यसअघि विभागले शुक्रबार सूचना प्रकाशित गरी ६७ देशबाट आउने यात्रुलाई एक साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको थियो। होटलमा क्वारिन्टनमा बस्दा सबै खर्च यात्रुले नै व्यहोर्नुपर्ने जनाइएको थियो।
ओमिक्रोन संक्रमण देखिएका देशका आएका यात्रुले होटलको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गर्ने व्यवस्था गरिएको थियो। कोरोना नेगेटिभ आएपछि पनि एक साता आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने विभागको निर्देशन थियो। होटलमा बस्दा पीसीआर पोजेटिभ देखिएका यात्रुलाई आइसोलेशन तथा अस्पताल भर्ना गरिने विभागले जनाएको थियो।
अब भने त्यो नियम कार्यान्वयन नहुने विभागले जनाएको छ। अर्को सूचना जारी नभएसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको विभागले जनाएको छ।