राष्ट्रिय अभिलेखालयका यी कार्यालय सहयोगी, जो स्वयंमा एक ‘अभिलेख’ बनेका छन्!
३० वर्षदेखि राष्ट्रिय अभिलेखालयमा कार्यालय सहयोगी रहेका कमलप्रसाद न्यौपानेले अभिलेखालय शाखाको जिम्मेवारीसँगै पुराना अक्षर पढ्ने र कार्यालय प्रमुखलाई समेत बुझाउने गरेका छन्।
हरेक दिन राष्ट्रिय अभिलेखालयमा कम्तिमा १० देखि १२ जना आगन्तुक ऐतिहासिक दस्तावेजको खोजी र अध्ययन गर्न आउँछन्। तीमध्ये कोही अभिलेखायलयमै बसेर कागजात अध्ययन गर्छन् भने कतिले डिजिटल प्रति लिएर जाने गरेका छन्।
केही दिनअघि गोरखापत्रको पुरानो अंक खोजी गर्दै एकजना अध्येता राष्ट्रिय अभिलेखालय आइपुगे। आफूलाई चाहिएको गोरखापत्रको पुरानो अंक लिएर उनी अभिलेखालयको अध्ययन कक्षमा बसेर पत्रिका पल्टाउन थाले। उनले लापरवाहीपूर्वक पत्रिकाका पाना पल्टाएको देखेर अभिलेखालय शाखाका कमलप्रसाद न्यौपानेलाई सही नसक्नु भयो।
न्यौपाने ती व्यक्तिको नजिक पुगेर पुराना कागजपत्र संवेदनशील हुने भएकाले होशियारीपूर्वक पल्टाउन आग्रह गरे। "च्यातौंलाझैं गरेर पत्रिका पल्टाएको देखर मन थाम्न सकिनँ र सम्झाएँ," उनले भने। ऐतिहासिक कागजपत्रमा जो कोहीले गर्ने लापरवाही उनी सहन सक्दैनन्। तर सबैले उनको कुरालाई सकारात्मक रूपमा लिँदैनन्।
न्यौपानेले केही महीना अघिको घटना सुनाए। “एक जनालाई कागज च्यातिन सक्छ, बिस्तारै हेर्नुस् भनेको थिएँ तर उल्टै मलाई पो हकारे,” उनले भने, “किन मेरो पछि लाग्नुहुन्छ, आफ्नो काम गर्नुस् पो भन्छन्।”
अभिलेखालय शाखामा ३२ वर्षको कार्यानुभवमा भएका न्याैपानेलाई कुनै कुराले चित्त दुख्छ भने त्यो हो– आगन्तुकको लापरवाही। कागजातप्रतिको लापरवाहीको पीडा उनलाई कतिसम्म गडेको रहेछ भने केही अघि सपनामा पनि आगन्तुकलाई सम्झाउँदै बर्बराए।
“त्यसरी ग्रन्थ च्यातिने गरी नपल्टाउनुस् न। च्यातिन्छ। मासिन्छ। जतन गर्नुपर्छ भन्दै सपनामा पनि बर्बराएछु,” उनले सुनाए। उनको बुझाइमा अभिलेख इतिहास हो। आज यसको संरक्षण नगरे भोलि नष्ट हुन्छ।
‘बाटोका कागज पनि हेर्न मन लाग्छ’
२०४६ सालदेखि काम थालेका उनले कार्यालयमा आउने कागजपत्रलाई घाममा सुकाएर आफ्नै हातले अभिलेखालय शाखामा सुरक्षितसँग राख्ने काम गर्दै आएका छन्। कार्यालय सहयोगीका रूपमा कार्यरत न्यौपानेको जिम्मेवारी अभिलेख र कुमारीचोक शाखाका कागजात मिलाउने र आगन्तुकलाई आवश्यक कागजात उपलब्ध गराउने हो।
अभिलेखालयको लामो अनुभवले उनको बानी कस्तोसम्म भइसक्यो भने– बाटोमा मिल्काएको कागज पनि यसो पल्टाएर हेर्ने गर्छन्। उनी दैनिक ५ देखि ६ घण्टा अभिलेख र कुमारीचोक शाखामा रहेका दस्तावेज पल्टाउने, झिक्ने र यथास्थानमा राख्ने काममा व्यस्त हुन्छन्। उनलाई कस्तो सामग्री, कुन शाखा र कुन पोकामा छ भन्ने कण्ठै छ। जीवनको आधाउधी उमेर अभिलेखालय शाखामा बिताएका उनलाई ऐतिहासिक कागजातसँग नजिक छु जस्तो लाग्छ।
अभिलेखालयले उनलाई कार्यालय सहयोगीको जिम्मेवारी दिए पनि उनको काम कुनै विज्ञकोभन्दा कम छैन। अनुभवले निखारिएका न्याैपानेलाई जति पुरावस्तु भेट्न अरुलाई सहज नहोला। उनको त दिमागमै अभिलेखका सूची छन्।
अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानाङ्ग पुस्तक वा ग्रन्थ तुरुन्तै चाहिँदा न्यौपानेको खाँचो पर्ने बताउँछिन्। “उहाँको वर्षौंको अनुभवले यत्रो चाङमा पनि कहाँ के छ ठ्याक्कै भन्न सक्नुहुन्छ,” उनी भन्छिन्।
“उहाँजस्तो अनुभवी मान्छे बनाउन वर्षौंको मिहिनेत चाहिन्छ त्यही भएर अघिल्लो पटक हामीले रोकेका थियौं,” निर्देशक प्रधानाङ्ग भन्छिन्, “अब उहाँको अवकाश हुने भएपछि नयाँ मान्छेलाई सिकाउनु पर्ने हुन्छ।”
तर यस्ता अनुभवी कर्मचारीलाई राष्ट्रिय अभिलेखालयले अबको सात महीनामा बिदा गर्नुपर्ने हुन्छ। किनभने उनले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।
२ वर्षअघि पनि सामान्य प्रशासन मन्त्रालयले उनलाई सूर्यविनायक नगरपालिकामा सरुवा गरेको थियो। तर, उनको आवश्यकता भएको जनाउँदै अभिलेखालयले मन्त्रालयसँग छलफल गरेर सरुवा रोकेको थियो।
“उहाँजस्तो अनुभवी मान्छे बनाउन वर्षौंको मिहिनेत चाहिन्छ त्यही भएर अघिल्लो पटक हामीले रोकेका थियौं,” निर्देशक प्रधानाङ्ग भन्छिन्, “अब उहाँको अवकाश हुने भएपछि नयाँ मान्छेलाई सिकाउनु पर्ने हुन्छ।”
प्रधानाङ्गका अनुसार, न्यौपानेले जसरी अभिलेखालय शाखा सम्हाल्न नयाँ व्यक्तिलाई समय लाग्छ। उनी भन्छिन्, “हामीलाई त उहाँले नै पुराना अक्षर पढिदिने र बुझाइदिने समेत गर्नुहुन्छ।”
“बाँकी रहेको अवधिमा कोही नयाँ मान्छे आए आफूले जानेको अभिलेखालयको काम सिकाउन हुन्थ्यो,” न्यौपाने भन्छन्। उनलाई के आत्मविश्वास छ भने, “कोही नयाँ मान्छे आए तिनलाई अभिलेखालयको जागीरभन्दा राष्ट्र र सार्वजनिक सम्पत्तिको जर्गेनाको काम गरेको छु भन्ने महसूस गराउन सक्छु।”
निजामति ऐन अनुसार, यदि कुनै विज्ञ कर्मचारीले अवकाश पाए कार्यालयको आवश्यकताले उनलाई करारमा राख्न सकिने व्यवस्था छ। “उहाँको अनुभव र कार्यक्षमताले गर्दा आवश्यक परेको बेला विज्ञको रूपमा उहाँलाई झिकाउने छौं,” निर्देशक प्रधानाङ्ग भन्छिन्। त्यसो हुन सक्यो भने उनको विज्ञताले अनुसन्धानदाता र शोध गर्नेलाई सहयोग पुग्नेछ।
पद एउटा ठाउँमा छ, लगन र जिम्मेवारी अर्को ठाउँमा। उनले आफ्नो रुचि र चासोलाई प्राथमिकता दिए। पुराना अक्षर चिन्ने हुटहुटीले गर्दा उनले फुर्सदका कयौं घण्टा कुमारीचोकका ऐतिहासिक दस्तावेज पल्टाएर बसे।
“फुर्सदका बेला कुन पोकामा के रहेछ भन्दै सूचीहरू हेर्दै जाँदा नयाँ कुरा पाउँथे,” उनी भन्छन्, “अनि झन् नयाँ कुरा थाहा पाउन उत्साह जाग्ने। यसरी गर्दागर्दै धेरै कुरा सिकेको हुँ।”
यसै पनि ऐतिहासिक कुरा सबैलाई चासो लाग्ने विषय हो। अनि उनले वर्षौं यसरी गरेको मिहिनेतको फलले पुराना लिखत उतार्न सक्ने भए। उनलाई यस कुराले आत्मसन्तोष दिएको छ।
“लामो समयदेखि पढ्दै गएपछि सबै जानिँदो रहेछ,” उनी भन्छन, “आफूले जानेको सीपले अध्ययन अनुसन्धानमा लागेकाहरूलाई पनि सघाउन पाएँ। त्यसैमा खुशी लाग्छ।”
अभिलेखप्रतिको बद्लिंदो बुझाइ
२०५० सालतिर तत्कालीन अभिलेखालय प्रमुख सरला मानन्धरले अभिलेख अधिकृत विष्णुकान्त शर्माको सरुवा भएपछि न्यौपानेलाई शाखाको जिम्मेवारी सुम्पेकी थिइन्। त्यसयता उनले ऐतिहासिक सामग्री पढ्न आउने हरेकलाई कुमारीचोक र अभिलेख शाखाको सामग्री पढ्ने काममा सहजीकरण गर्दै आएका छन्।
तीन दशकको अनुभवमा उनलाई पछिल्लो १५ वर्ष अभिलेख संरक्षण र खोजीप्रति आम मानिसमा बद्लाव आएको अनुभव भएको छ। न्यौपाने भन्छन्, “विगतमा धर्मग्रन्थ, संस्कृति, तन्त्र, कर्मकाण्ड, ज्योतिष र आयुर्वेदका अभिलेख खोज्न आउँथे भने अहिले जग्गा सम्बन्धी ऐतिहासिक लालपुर्जा, नक्सा लगायतका कागजात हेर्न आउनेहरूको संख्या बढेको छ।”
आउनेको उमेर समूह पनि परिवर्तन हुन थालेको छ। विगतमा विषयविज्ञ, कर्मचारी, शिक्षकको आगमन बढी हुन्थ्यो। अहिले विद्यार्थी पनि ऐतिहासिक सामग्रीको खोजको लागि आउने गरेका छन्।
खासगरी सिरहा, सप्तरीबाट अधिकांश मानिस जग्गाको कागजातको प्रतिलिपि लिन अभिलेखालय आउने गरेका छन्। त्यसरी कागजात खोज्न आउनेले खोजेको कागज भेट्न अक्षर छुट्याउन सक्दैनन्। त्यो वेला न्यौपाने नै उनीहरूको सहयोगी हुन पुग्छन्।
कतिले त पुर्खाको जग्गाको प्रतिलिपि भेटियो अब आफ्नो जग्गा फर्किन्छ भन्ने खुशीले उनलाई गर्लम्म अँगालो हाल्छन्। उनले भने, “त्यस्तै क्षणले खुशी बनाउँछ। उनीहरूले आफ्ना कागज भेट्दा मलाई आफैंले भेटेजस्तो लाग्छ।”
न्यौपानेको अनुभवमा पछिल्लो समय अभिलेखालयमा आयुर्वेद विज्ञानका ग्रन्थ नेपालीले भन्दा विदेशीले बढी खोज्ने गरेका छन्। “विशेषगरी भारतबाट आयुर्वेदिक औषधि बनाउने सूत्र भएका ऐतिहासिक पुस्तक पढ्न आउँछन् भने कतिले नियमानुसार प्रतिलिपि पनि लिएर गएका छन्,” उनले भने, ‘कोही कोही त दोहोर्याएर पनि आउने गरेका छन्।”
न्यौपानेलाई लाग्छ– विदेशीले फाइदा लिइरहेको आयुर्वेद विज्ञानमा हामीले किन केही गर्न नसकेको होला ! उनी आफू भने अवकाशपछि राणाकालीन जग्गाका लिखत हेर्ने योजनामा छन्। उनले सुनेका छन्, राणाकालीन जग्गाको धेरै कीर्ते कागजात बनेका छन्।
यस्तै घटनाबीच अभिलेखालयमा उनका धेरै अविस्मरणीय क्षण बितेका छन्। उनी आफैंले लगाएको सिँढीबाट कागजका पोका झिक्ने क्रममा लडेका पनि थिए। हाँस्दै भन्छन्, “म त त्यसरी लडे पनि पुस्तकमाथि नै पर्थें। अब लडेँ भने त बुढो हड्डी जोड्न गाह्रो हुन्छ। होस् गर्छु।”
त्यस्तै, विगतमा अभिलेखालयमा आएकालाई सामग्रीको डिजिटल प्रति उतार्ने, माइक्रोफिल्ममा उतार्ने र रसायनयुक्त कोठाको व्यवस्थापनमा नै चुनौती थियो। अब भने त्यो समस्या छैन। अभिलेखालयको ‘स्ट्याक हल’ (भण्डार कोठा) मा तापक्रम र आद्रता कायम गर्नुपर्छ, त्यसको व्यवस्था पनि भएको छ।
मदन पुरस्कार विजेतासँगको क्षण
यतिका वर्षमा उनको सबैभन्दा सम्झनलायक क्षण भगिराज इङनामसँग बितेको छ। इङनामले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह १७१९–२०२०’ पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार पाए। इङनामले लिम्बुवानसँग सम्बन्धित दस्तावेज हेर्न अभिलेखालयमा ६ महीना बिताए।
न्यौपानेबाटै इङनामले परराष्ट्र शाखा, अभिलेख र कुमारीचोक शाखाका ऐतिहासिक कागजपत्र हेर्न सहजता पाए। न्यौपाने सम्झन्छन्, “कति पुराना नेपाली लिखत हामी दुवै बसेर खुट्याउँथ्यौ।”
अभिलेखालय शाखाबाट शुरू भएको न्यौपाने र इङ्नामको सहकार्य कार्यालयमा मात्र सीमित भएन। पुराना लिखत पढ्न सक्ने न्यौपानेलाई लिएर इङनाम पुराना दस्तावेजको खोजीमा धरान, धनकुटा समेत पुगे।
मदन पुरस्कार जितेको चौथो दिन इङनाम मिठाइ बोकेर अभिलेखालय पुगे। उनले न्यौपानेलाई मिठाइ दिँदै भने, “यो सफलताको भागिदार तपाईं पनि हो। तपाईं भएकाले नै यसरी ऐतिहासिक दस्तावेज संकलन गर्न सकियो।”
इङनामले त्यसो भन्दा न्यौपानेलाई आफूले गरेको कामप्रति गर्व लाग्यो।
*यसअघिको शीर्षक परिवर्तन गरिएको छ।
मौखिक अभिलेखालय हुन् कमल: भगिराज इङनाम
जब मैले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ पुस्तकका लागि मदन पुरस्कार जितेँ तब मलाई लाग्यो यो पुरस्कारको भागिदार म मात्र होइन। यसमा ती व्यक्तिको महत्वपूर्ण हात छ, जसका कारण मैले खोजेका दस्तावेज एउटा गम्भीर पुस्तक बन्न सक्यो। त्यस्ता व्यक्तिको सूचीमा कमलप्रसाद न्यौपानेको नाम पहिलो पंक्तिमा आउँछ।
मैले पुस्तक लेखनको लागि अनुसन्धान र खोजी गर्ने क्रममा कमल जति सरल, सहज र सहयोगी कोही पनि पाइनँ। पुस्तक लेखनको क्रममा म तयारीका लागि धेरै सरकारी अड्डा धाएँ। धेरै सरकारी कर्मचारीसँग ठोक्किएँ। कति कार्यालयमा ‘आज फुर्सद छैन’ भन्ने तीतो जवाफ पाएँ। कतिले भएको कागजात देखाउन पनि अल्छी गरे।
तर, कमलजी त फोनमा पनि कार्यालयमा भएजस्तै गरेर जानेको कुरा सहयोग गर्ने मान्छे हुनुहुन्छ। अभिलेखालयमा यस्ता कागजपत्र चाहिने भनेपछि उहाँले थपक्क झिकेर ल्याइदिनुहन्थ्यो। फेरि उहाँले मैले खुट्याउन नसकेका पुराना अक्षर खरर्र पढिदिनुहुन्थ्यो। उहाँले परराष्ट्रका कागजपत्र, कौशी तोसाखाना, लालमोहर, कुमारीचोकका कागजात झिक्न खुब सघाउनु भएको छ।
त्यति मात्र होइन हामी अभिलेख खोजीकै क्रममा धनकुटा र धरान पनि गयौं। त्यहाँ पनि उहाँको सहयोग रह्यो। जसले गर्दा मैले धेरै लिखत पत्ता लगाउन सकेँ। झण्डै छ महीना अभिलेखालय धाउँदा मैले उहाँबाट कहिलेकाहीँ त दिनैभरी नै कागजपत्र झिकाएको छु। तर उहाँले कहिल्यै झर्कफर्को गर्नुभएन, जुन प्रायः सरकारी कार्यालयका कर्मचारीले गर्छन्।
अबोध बालकले आमाको धोतीको फेरो समाएर पछिपछि हिँडेजस्तै म उहाँको पछि लागेर अभिलेखालयमा महीनाैं सम्म हिँडे। मैले उहाँलाई धेरै दुःख दिएँ। दिनरात नभनेर कयौं पटक फोन गरेँ। कुनै दिन चियानास्ता खाऊँभन्दा पनि उहाँले मान्नुभएन। उहाँ त्यस्तो इमान्दार र सदाचारी मान्छे हुनुहुन्छ। काम गर्दा थाकेका वेला कहिलेकाहीँ अभिलेखालय प्राङ्गणमा घाम ताप्दै गफियौं तर मेरो पैसाले उहाँले एक कप चिया पनि खानुभएन।
एकपटक उहाँको सरुवाको कुरा सुनेँ अनि मैले उहाँलाई अभिलेखालय नछाड्न अनुरोध गरेँ। उहाँविना त हामीजस्तो अक्षर खुट्याउन नजान्नेलाई शोधखोजमा गाह्रो पर्छ। कुन कागज कहाँ छ भन्ने पनि उहाँलाई कण्ठै छ। अभिलेखालयभित्र र्याकमा लिखित अभिलेख छन् भने कमलजी मौखिक अभिलेख हाे। धेरै नबोल्ने, इमान्दार स्वभाव अनि दिमाग भरी इतिहासको सूची राख्न सक्ने उहाँ अभिलेखालयको आड
जस्तो लाग्छ।
अभिलेखालयका पुराना कर्मचारी भएकाले पनि उहाँलाई आफ्नो काम सहज छ। हुन त अरु कार्यालयमा पनि पुराना कर्मचारी हुन्छन्। तर उनीहरु कमलजस्तो कोमल छैनन्। उहाँजस्तो व्यक्ति सरकारी कार्यालयमा हुँदा सर्वसाधारणलाई धेरै सहज हुन्छ। त्यसमाथि उहाँजस्तो पुरानो अक्षर चिन्ने, हजारौं अभिलेखको थुप्रोबाट पनि भनेका कागजात उपलब्ध गराइदिने र मनैदेखि इमान्दार भएर काम गर्ने व्यक्ति कार्यालयको साख हो। उहाँले त अभिलेखालयमा आउने धेरै सेवाग्राहीको समस्यालाई हलुङगो बनाइदिनुभएको छ।
चियाखाजा खान जाऊँभन्दा उहाँ मान्नुहुन्न भन्ने मलाई थाहा थियो। त्यसैले मदन पुरस्कार जितेपछि अभिलेखालय गएर उहाँलाई लड्डु खुवाएँ।