मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित
नेपाली कांग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री बनेका हुन्। उनले २०२६ मत प्राप्त गरेका छन्।
त्यस्तै, अर्का उम्मेदवार रामकृष्णले १८२० मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महेन्द्रलाई समर्थन जनाएका रञ्जित कर्णले ४७२ मत प्राप्त गरेका छन्।
सहमहामन्त्रीमा निर्वाचित महेन्द्र सभापति शेरबहादुर देउवा पक्षका हुन् भने रामकृष्ण डा. शेखर कोइराला पक्षका हुन्।
कांग्रेसमा क्लस्टर अनुसार आठ वटा सहमहामन्त्री रहने व्यवस्था छ। तीन वटा सहमहामन्त्रीको बिहीबार नै नतीजा आएको थियो।
आज मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खस आर्यतर्फ किशोरसिंह राठौर र थारूतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनमा पदाधिकारीको मतगणना भइसकेको छ। अब केन्द्रीय सदस्यको मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेसमा पदाधिकारी सहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।