कास्की जिल्ला प्रशासनमा तरकारीको हरियाली
जयनारायण आचार्य जागीरका क्रममा जुन जिल्ला पुग्छन्। कार्यालय आसपास तरकारी लगायत अन्य बिरुवा राेपेर हरियाली बनाउँछन्।
जयनारायण आचार्यको दुई महीनाअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा भयो। प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएर कास्की गएपछि जिल्ला प्रशासन कार्यालयको भवनअघि फूल ओइलिएका र सुकेका झार देखे। त्यसपछि उनलाई बाँझो जमीन उपयोग गर्नुपर्छ भन्ने सोच आयो।
“फूल ओइलाएका थिए, केही बाँझो जमीन पनि थियो, त्यो देखेपछि जमीनको उपयोग गर्नुपर्छ भन्ने लाग्यो,” आचार्य सुनाउँछन्, “अनि विभिन्न थरी तरकारी लगाउने योजना बनाएँ।”
अहिले जिल्ला प्रशासन कार्यालय भवन अगाडि काउली, केराउ लगायत विभिन्न जातका तरकारीको हरियाली देख्न सकिन्छ।
केही जमीन खनेर काउली रोप्न ठिक्क पारिएको छ। फूल बाह्रमास नहुने भएकाले हरियाली बनाउन तरकारी लगाउन सकिने उनको भनाइ छ। “तरकारी लगाउँदा हरियाली हुन्छ, अर्ग्यानिक तरकारी स्वास्थ्यका लागि पनि फाइदाजनक,” आचार्य भन्छन्, “ताजा खान पाउनुका साथै पैसाको बचत पनि त भयो।”
जिल्ला प्रशासन कार्यालय परिसरको तरकारी आफ्नो भान्सामा मात्र नभएर कार्यालयको क्यान्टिनमा समेत प्रयोग हुने प्रजिअ आचार्यको भनाइ छ।
सन २०१४–२०१६ सम्म अध्ययनका क्रममा कोरियामा रहँदा खाली जमीन र सरकारी कार्यालयको बगैंचा तथा कौसीमा तरकारी लगाएको आचार्यले देखेका थिए। अध्ययन सकेर नेपाल फर्किएपछि आचार्यले पनि त्यसलाई लागू गरे।
उनी जागीरका क्रममा जुन जिल्ला पुग्छन्, कार्यालय आसपास तरकारी लगायत अन्य बिरुवा लगाइहाल्छन्। यसअघि दाङ र सप्तरीमा प्रजिअका रूपमा कार्यरत रहँदा पनि खाली र बाँझो जमीनमा तरकारी लगाएर उपयोगमा ल्याएको उनको भनाइ छ।