नगरकोट सडकका ठेकेदारविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक
निर्धारित मितिमा काम नसकेपछि सरकारले पटक–पटक गरी सात पटक म्याद थप गरिसकेको छ।
भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म पुग्ने सडकको निर्माणमा ढिलाई भएको भन्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ७ देखि १५ पुससम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
७ पुसमा सडक निर्माण कार्य अलपत्र पर्नुका कारणबारे सरोकारवालाहरूसँंगको अन्तरक्रिया, ११ पुसमा जिल्ला प्रशासन कार्यालय, भक्तपुर घेराउ र १५ पुसमा सडक सुधार तथा विकास आयोजना कार्यालय, काठमाडौं घेराउ लगायतको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो।
नगरपालिकाका प्रमुख सोम मिश्रले यसका साथसाथै ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतीघर मण्डलामा धर्ना कार्यक्रम र अरनिको राजमार्ग बन्द जस्ता थप कार्यक्रम पनि तय गरिएको जानकारी गराउँदै माग पूरा नभए थप आन्दोलन गरिने पनि बताए।
यो ठेकेदारबाट काम हुने विश्वास नरहेकोले ठेक्का तोडेर नगरपालिकालाई जिम्मेवारी दिएमा आफूहरूले पूरा गर्ने पनि अन्तरक्रियाका क्रममा प्रमुख मिश्रले बताए। झण्डै ३५ करोडको लागतमा सडक बन्ने काम भइरहेको छ।
यो सडक ३ असार २०७३ भित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि अहिलेसम्म अलपत्र नै छ।
निर्धारित मितिमा काम नसकेपछि सरकारले पटक–पटक गरी सात पटक म्याद थप गरिसकेको छ। नगरकोट सडक भक्तपुर चाँंगुनारायण नगरपालिका क्षेत्रमा पर्दछ।