मित्रसेनको त्यो डायरी
मित्रसेनले स्वैच्छिक अवकाश नलिएको भए पल्टनमा प्रमोशन हुन्थे, छोरालाई पनि भर्ती गराएर यश आरामका साथ बस्न सक्थे, तर त्यसो नगरी समाजसेवामा समर्पित भए।
‘मित्रको डायरी’ मास्टर मित्रसेन थापा मगरले लेखेको निबन्ध हो। सन् १९४४ मा भाग्शु धर्मशालामा गोर्खा सत्संग प्रचारिणी सभा (गोसप्रस) स्थापना भयो। यो संस्था जन्मना साथ यसको सदस्यको रूपमा उनी सत्संग प्रचार-प्रसारको क्रममा गोरखपुर तथा नौतुना पुगेका थिए।
यो निबन्ध त्यसै भ्रमणमा केन्द्रित रहेर लेखिएको हो। यसमा १३ जुलाई १९४४ देखि ९ अप्रिल १९४६ (उनको जीवनको अन्तिम दिन) सम्म घटेका घटनालाई सजीव र सरल ढङ्गले वर्णन गरिएको छ।
निबन्धको पाण्डुलिपि भाग्शु धर्मशाला अवस्थित झुप्रो संग्राहलयमा सुरक्षित छ। यसलाई प्रथम पटक ‘मित्रसेनको डायरी र केही कविताहरू’ शीर्षकमा प्रकाशन गरिएको छ। त्यसपछि दोस्रो पटक ‘मित्रसेनको डायरी’ शीर्षकमा अर्को छुट्टै पुस्तक प्रकाशित भएको छ। ‘मित्रसेन र उनको देन’ पुस्तकमा यसको हस्तलिखित पाण्डुलिपि सहित सम्पादित रूपमा छापिएको छ। अनि ‘मास्टर मित्रसेन र उनका सिर्जना’ पुस्तकमा पनि यो निबन्ध छापिएको छ।
यस पुस्तकमा १३ जुलाई १९४४ देखि १ अक्टोबर १९४४ सम्म मास्टर मित्रसेनले ‘मित्रको डायरी’ लेखेको र त्यसपछि मृत्युको घडीसम्म छोरा दिग्विजय सेनले लेखिदिएको भनिएको छ। यो डायरी जुन भ्रमणमा आधारित छ उक्त भ्रमणमा दिग्विजय पनि साथमा थिए। अक्टोबर १९४४ देखि आफू बिरामी परेकाले बाँकी डायरी लेखनलाई छोराले निरन्तरता दिएको देखिन्छ। करीब पाँच हजार पाँच सय शब्दले भरिएको यस निबन्धमा मास्टर मित्रसेनका मार्मिक भावना, उद्गार, घटना तथा संस्मरण व्यक्त गरिएका छन्।
डायरीले मास्टर मित्रसेनको व्यक्तित्व कस्तो थियो भनी प्रष्ट पार्छ । यसले उनको स्वभाव, मनोभावना र आफ्नो जातिको सेवाप्रति निष्ठा, त्याग र निस्वार्थतालाई स्पष्ट गरेको छ । डायरीको एउटा पानामा उनले ‘जाति सेवाले तप र त्यागको माग गर्दछ तर यसभित्र एक अजीव किसिमको आनन्द पनि छ’ भनेर आफ्नो मनोभावना व्यक्त गरेका छन् ।
उनी सत्संग धर्म प्रचार-प्रसारका साथै साङ्गीतिक तथा नाट्य प्रदर्शनका लागि भारतको भाग्शु धर्मशालाबाट पठानकोट, गोरखपुर हुँदै नौतुना पुगेका थिए। नौतुनाबाट नेपालको बुटवल, तानसेन हुँदै तीर्थयात्रार्थ रिडी पुगेका थिए। रिडीबाट नौतुना फर्केपछि सत्संग प्राचारको सिलसिलामा पूर्वोत्तर भारतका गुवाहटी, तेजपुर, सिलोङ शहरको पनि भ्रमण गरे। यिनै यात्राका कुरा लेखिएकोा हुनाले यो निबन्धलाई यात्रा संस्मरणको रूपमा पनि लिन सकिन्छ।
निबन्धभित्र तत्कालीन नेपाली समाज, विशेष गरेर गोर्खाली लाहुरे समुदायको चित्रण गरिएको छ। यसमा उल्लेखित प्रायः पात्र गोर्खा लाहुरे थिए। यसभित्रका विषयवस्तु तत्कालीन बृटिश-इन्डिया गोर्खा सैनिक, पल्टन र गोरखाली समुदायमा केन्द्रित भएको हुनाले यस निबन्धलाई युद्ध साहित्य पनि भन्न सकिन्छ।
यसबाट त्यतिवेलाको व्यावसायिक दरभाउ, भौगोलिक परिवेशका साथै उनको परिवार, समाजप्रतिको समर्पण, साहित्य र सङ्गीतप्रतिको योगदान बुझ्न सकिन्छ। यसरी उनका दर्जनौं पद्य तथा गद्य सिर्जनामध्ये नेपाली साहित्य जगतमा ‘मित्रको डायरी’को विशेष महत्त्व राख्छ।
मास्टर मित्रसेनको व्यक्तित्व
डायरीले मास्टर मित्रसेनको व्यक्तित्व कस्तो थियो भनी प्रष्ट पार्छ। यसले उनको स्वभाव, मनोभावना र सेवाप्रति निष्ठा, त्याग र निस्वार्थतालाई स्पष्ट गरेको छ। डायरीको एउटा पानामा उनले ‘जाति सेवाले तप र त्यागको माग गर्दछ तर यसभित्र एक अजीव किसिमको आनन्द पनि छ’ भनेर आफ्नो मनोभावना व्यक्त गरेका छन्।
यसबाट समाजसेवा एक ऐच्छिक परोपकारी कार्य हो भन्ने बुझिन्छ। यसबाट अर्थलाभ हुँदैन। त्याग तपस्याको जरुरत पर्छ। दिनरात, भोकतिर्खा सहेर, धुलोमैलो, हिलो नभनेर खटिनुपर्छ। सामाजिक सेवाले भरपुर आत्मसन्तुष्टि दिन्छ। आत्मसन्तुष्टि जस्तो परमसुख यो संसारमा अरू केही छैन भन्ने उनको विश्वास थियो।
उनी अति नै त्यागी थिए। सत्संग प्रचारको लागि नौतुना पुगेका थिए। आफू मात्र होइन सत्संगमा परिवारलाई पनि सरिक गराएका थिए। हिन्दी चलचित्र उद्योगमा काम गर्ने अवसर, बङ्गला, गाडी, तलब, भत्ता जस्ता सुबिधाले उनलाई तानेन। बरु; भजन-कीर्तन, गीता-महाभारत काव्यका कथाद्वारा आध्यात्मिक चेतना भित्र्याएर गोर्खाली समुदायमा सकारात्मक परिवर्तन ल्याउनतिर आफूलाई समर्पण गरे।
पल्टनमा उनीभन्दा कमजोर दौंतरी जम्दार, सुबेदार भइसकेका थिए। उनले डायरीमा यसो भनेका छन्, “मैले स्वअवकाश नलिएको भए मेरो पनि प्रमोशन हुन्थ्यो। त्यसको लोभ नगरेर जाति सेवाको लागि फौजी जीवन छोडेको हुँ।” यसबाट के बुझिन्छ भने उनलाई हरियो पर्खालभित्रको कैदी जस्तो जीवन मन परेको थिएन।
एक साधारण नागरिक भएर स्वतन्त्रतापूर्वक जिएर समाजसेवा गर्न रुचाए। चाहेको भए छोरा दिग्विजयलाई भर्ती गराउन सक्थे। छोराले कमाएको धनमा यश आराम गरेर बस्न सक्थे। तर त्यसो नगरी छोरालाई पनि आफू सरह समाजसेवामा सँगै हिंडाए।
सत्संग सुन्न आएका भक्तजनले दानापानी र भेटी चढाउँथे। यस्ता दान उनले खुला हृदयले लिन चाहदैंनथे। यसरी उठेको दान लिएर धनदौलत जोड्न नचाहेको, आफू र परिवारको ज्यान पाल्न यस्ता उदार मनले चढाएका दानहरू स्विकार्नु परेको बाध्यता डायरीमा उल्लेख गरिएको छ।
आत्मग्लानि महसूस गर्दागर्दै नौतुनाका जनताले अर्पण गरेको सिधा आफ्नो जीविकोपार्जनका लागि मात्रै स्विकारेको उल्लेख गरेका छन्। यसरी उनमा रत्तिभर पनि लोभ लालच नरहेको बुझिन्छ।
उनलाई धनदेखि घृणा थियो। यो कुरा नौतुनावासीले कसरी अनैतिक तरीकाले धनदौलत जोड्दै थिए भन्ने उनको भनाइबाट प्रष्ट हुन्छ। समाजमा रक्सी, चुरोट सेवन तथा बेचबिखनले उनको चित्तलाई निकै दुखाएको थियो।
धूमपानले स्वास्थ्य खराब भएको र मध्यपानको क्षणिक रमझमले सारा परिवार तथा समाज बिग्रेको उनले प्रत्यक्ष देखेका थिए। आफू युरोप पुग्दा भट्टीमा रक्सी चुरोट बेचिएको र सैनिकहरू मातेर झै-झगडा गरेको देखेका थिए। गोरखपुर, नौतुना, बटौलीका मानिसमा पनि त्यही हालत देख्दा रक्सी चुरोट बेचेर धनी हुने व्यापारीलाई उनले घृणा गर्थे भन्ने बुझिन्छ।
उनी लाहुरे भए पनि शारीरिक रुपमा तन्दुरुस्त थिएनन्। सन् १९४० देखि थलिन थालेका थिए। उनमा प्रायः ज्वरो आउने, ज्यान दुख्ने रोग थियो। सन् १९४४ मा केही स्वास्थ्यलाभ भएपछि सत्संग प्रचार-प्रसार गर्न नौतुनातिर लागेका थिए। नौतुना आएर पनि बिसन्चो भइरहन्थे।
प्रथम विश्वयुद्धको प्रत्यक्ष भोगाइले उनको शरीर कमजोर भइसकेको थियो। गाउने बजाउने कार्यमा ऊर्जा नष्ट हुन्छ। धेरै धपडी भएर पनि होला उनी बिमार परिरहन्थे। तैपनि शरीरले साथ दिंदासम्म सामाजिक क्रियाकलापमा निरन्तर लागिरहन्थे। यस्तो कमजोर शारीरिक अवस्थामा पनि जातिसेवामा खटिएर लागेको देख्दा उनी कति त्यागी र मिहिनेती थिए भन्ने बुझ्न सकिन्छ।
तात्कालिक सामाजिक अवस्था
यो डायरी लेख्दासम्म बृटिश-इन्डियन फौजमा नेपाली युवा भर्ती हुने प्रथाले पुगनपुग १३० वर्ष पार गरिसकेको थियो। नेपाली समाजमा लाहुरे संस्कार स्थापना भइसकेको थियो। यसले एक निश्चित जातिमा जीविकोपार्जनको व्यवस्था त गरेको थियो नै; यसको बाबजुद, विभिन्न विकृति पनि समाजमा पैदा गरिदिएको थियो।
यस्ता खराब क्रियाकलाप प्रत्यक्ष रूपमा हुन्थे। परोक्ष रूपमा महिला हिंसा, बेचबिखन, बालविवाह पनि हुने गर्थे। समग्रमा नेपाली संस्कृति र पहिचानमा ह्रास आउँदै थियो। यस्ता विकृतिका मास्टर मित्रसेन भुक्तभोगी थिए। जसबाट आफ्नो समाजलाई उन्मुक्त पार्नुपर्छ भनेर सचेत थिए। सत्संगमार्फत यही सचेतना बाँड्न उनी गोरखपुर, नौतुनासम्म पुगेका थिए।
यो डायरीको लेखन कालमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो। एक लाखभन्दा बढी नेपाली भारतीय गोर्खा पल्टनमा लाहुरे थिए। ‘रोजै स्पेशल गाडीले पाँच-सात सय गोर्खाली जवान नौतुनाबाट गोरखपुर पुर्याउने’ भन्ने उनको भनाइले ठूलो संख्यामा नेपाली युवालाई भर्ती गरिंदैथियो भन्ने बुझिन्छ। विश्वयुद्ध चल्दै छ र सैनिक तालीम दिएजस्तो गरेर सिधै युद्धमा होमिन्छ भन्ने ज्ञान भर्ती हुने कति युवालाई नहुन पनि सक्थ्यो।
त्यतिखेर नौतुनामा सय घर जति नेपालीको बसोबास थियो। तिनीहरू कतिले होटेल व्यवसाय सञ्चालन गर्थे। तिनका ग्राहक भर्ती हुन आउने युवा र पेन्सन अनि छुट्टी जाने लाहुरे हुन्थे। छुट्टीमा घरतिर हिंडेका लाहुरे भट्टीमै रमाउँथे। अनि उनीहरू घरमा पर्खिबसेका वृद्ध आमाबुवा, जहान, बालबच्चालाई नभेटी त्यहींबाट पल्टन फर्कन्थे।
यात्रा गर्दा, होटेलमा बस्दा सर्वसाधारणले तिर्ने दर एउटा हुन्थ्यो। लाहुरेलाई भने त्यसको दुई-तीन गुणा बढी तिराइन्थ्यो। यो समस्यालाई सम्बोधन गर्न उनी नौतुना पुगेको डायरीले बताउँछ।
तात्कालिक समाजमा महिलाको अवस्था
मास्टर मित्रसेन सन् १९२८ देखि १९३१ सम्म पञ्जाब आर्यधर्म प्रतिनिधि सभामा बसेर काम गरेका थिए। त्यस अवधिभर धर्म प्रचारको सिलसिलामा पञ्जाब क्षेत्र भ्रमण गरे। त्यतिवेला उनले नेपाली जातिका महिला धनीमानीको घरमा बेचिएको अवस्थामा देखे। त्योभन्दा पनि अझ निम्न अवस्थामा नौतुनाका नेपाली महिलालाई देख्दा उनको मन कुँडिएर आयो।
अहिले पनि नेपाली चेलिबेटी बेचबिखन विकराल अवस्थामा छ। आजभन्दा आठ-दशकअघि पनि नेपाली महिलाको अवस्था त्यस्तै थियो भन्ने कुरा मित्रको डायरीबाट बुझिन्छ। लुम्बिनी र गण्डकी भेग बाह्र तथा अठाह्र मगरात क्षेत्रमा पर्दछन्। त्यहाँका युवा पाल्पा, बटौली हुँदै नौतुना, गोरखपुर पुगेर भर्ती लागेर मुगलान भासिन्थे। सोही भेलमा महिला पनि समाहित भएर परदेश हराएको कारुणिक कथा यस निबन्धले बोलेको छ।
नौतुनामा सत्संग प्रचारको सिलसिलामा यिनै घटनाको उनी प्रत्यक्षदर्शी बने। यस्तो प्रचलन नौतुना क्षेत्रमा मात्रै सीमित नरहेर पूर्वको रक्सौल-वीरगंज नाकामा पनि व्याप्त रहेको डायरीमा लेखिएको पाइन्छ। ‘नेपाल सरकारले विनाजाँचबुझ युवतीलाई मधेशतिर जान नदिनु र सबै अड्डा चौकीमा रोकथाम छ’ भन्ने डायरीभित्रको वाक्यांशले के दर्शाउँछ भने तत्कालीन सरकार यस समस्यादेखि सचेत थियो र रोकथामका कार्यक्रमलाई कार्यान्वयन गर्दैथियो। कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा यस्ता अमानवीय कार्य चलिरहेका थिए।
अहिलेको आधुनिक युगसम्म आइपुग्दा पनि महिला हिंसा र बेचबिखन रोकिएको छैन। यो विकृति संस्कारकै रूपमा विकास भएको हो कि भन्ने लाग्दछ। यी सबै पाप कर्म हुन्। यसले सिङ्गो समुदायलाई बद्नाम गर्छ। यस्ता कार्य नैतिकताविहीन मानवद्वारा गरिन्छ भन्ने ठानेर तिनलाई नैतिक शिक्षा प्रदान गर्न मास्टर मित्रसेन लागिपरेका थिए।
‘मित्रको डायरी’ र भौगोलिक परिवेश
नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रका युवा भर्ती हुन जाने ठाउँ नौतुना गोरखपुर थियो। त्यतिवेला नौतुना ‘रेकरुटिङ’ गर्ने स्थान (भर्तीकेन्द्र) र गोरखपुर तालीम केन्द्र थियो। नौतुनाको भौगोलिक परिचय दिने क्रममा डायरीमा लेखिएको छ, ‘नौतुना गोरखाली लाहुरे र पेन्सनेहरू पहाडघर आउने र भारत जाने एउटा गौंडा हो। यो अङ्ग्रेज राज्यभित्रको एउटा शहर हो। करीब नौ कोस उत्तरमा तिन्हुँ (आजकल तिनाउँ भनिन्छ) खोलाको छेउमा बटौली नगर बसेको र त्यहाँबाट बल्ल अङ्ग्रेज राज्य सकिएर नेपाल राज्य शुरू भएको छ।’
यसबाट के बुझिन्छ भने सन् १८१५ मा सुगौली सन्धि भए तापनि सन् १९४४ सम्म बटौली वरपरका इलाकामा अङ्ग्रेजको प्रभाव थियो। सन् १८१४ मा अङ्ग्रेज फौज बटौली आएर लडेका थिए। जीतगढीमा किल्ला जमाएर बसेका कर्नेल उजिरसिंह थापा मगर र उनका नेपाली सेनाले अङ्ग्रेजलाई हराएर पठाइदिएको इतिहास छ।
विशाल पहाडको काखमा अवस्थित बटौलीलाई अहिले बुटवल भनेर चिनिन्छ। बलियो पर्खाल जस्तै बनेर पहाडी शृङ्खला आफ्नो सामुन्ने उभिइदिंदा ‘बट-वाल’ भन्दै अङ्ग्रेज फौज त्यहाँबाट उत्तर जान सकेनछन्। यसै ‘बट-वाल’ शब्द अप्रभ्रंश हुँदै ‘बुटवल’ हुन गएको भन्ने किंवदन्ती छ।
सत्संग सुन्न आएका भक्तजनले दानापानी र भेटी चढाउँथे । यस्ता दान मित्रसेन खुला हृदयले लिन चाहदैंनथे । यसरी उठेको दान लिएर धनदौलत जोड्न नचाहेको, आफू र परिवारको ज्यान पाल्न यस्ता उदार मनले चढाएका दानहरू स्विकार्नु परेको बाध्यता डायरीमा उल्लेख गरिएको छ ।
ऐतिहासिक हिसाबले भाग्शु धर्मशाला, सिमला, देहरादुनलाई भारतका गोर्खा लाहुरे समुदायको उद्गम स्थल मानिन्छ। अङ्ग्रेजलाई शिख अनि मुसलमान राजा रजौटाबाट खतरा थियो। साथै अफगानिस्तान, मेसोपोटामिया, टर्की, रसिया, जर्मन जस्ता पश्चिमेली शक्तिको पनि डर थियो। तिनै सम्भावित खतराको सामना गर्न सहज होला भनेर गोर्खाली पल्टनलाई त्यतातिर बढी केन्द्रित गरिएको थियो। त्यो वेला ‘रेकरुटिङ’को मूल स्रोत भने नेपालको मध्य-पश्चिमाञ्चल क्षेत्र थियो।
यी सामरिक महत्त्वका दुई स्थानलाई यातायातका मार्गले जोड्न सके अङ्ग्रेजको भारत विस्तारमा मद्दत पुग्ने देखिन्थ्यो। त्यसैले नेपालको सीमारेखा नजिकै नौतुनासम्म रेल विस्तार गरिएको हुनुपर्छ। १ अगष्ट १९४४ मा पठानकोटबाट रेलगाडी चढेका मास्टर मित्रसेन ३ अगष्टमा गोरखपुर उत्रिएका र त्यहाँबाट रेलमै नौतुना पुगेको निबन्धमा उल्लेख गरिएको छ।
अङ्ग्रेजलाई दोस्रो विश्वयुद्धमा पूर्वबाट जापानले पनि चुनौती दिंदै थियो। त्यो शक्तिसँग प्रतिवाद गर्न गोर्खा पल्टनहरू आसाम, सिलोङतिर पनि विस्तार गरिसकिएको थियो। मास्टर मित्रसेन १९ अगष्ट १९४५ मा गोरखपुरबाट रेलगाडी चढेर २२ तारिखमा गुवाहटी पुगेका थिए। त्यो वेला नदीनाला, खोंच, उपत्यका र पहाड छिचोल्दै कयाैं माइलको यात्रा तीन-चार दिनमै गरेको देखिन्छ। यसबाट रणनीतिक हिसाबले महत्त्वपूर्ण भिन्नभिन्न भूभागलाई यातायात सेवाले जोड्ने कुरामा अङ्ग्रेज सरकारले प्राथमिकता दिएको प्रष्ट हुन्छ।
सामान्य आर्थिक गतिविधि
अहिले नेपालले बेलायतद्वारा बर्सेनि करोडौं रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्दछ। प्रथम विश्वयुद्धमा प्रधानमन्त्री चन्द्रशम्शेर जबराले भाइसरोय लर्ड हार्डिङलाई मेशिनगन किन्न तीन लाख रुपैयाँ दिएका थिए। अहिलेको अवस्थामा त्यसको मूल्य करोडौं रुपैयाँको हुन्छ। यसले तत्कालीन नेपाल एक समृद्ध राष्ट्र थियो भन्ने बोध गराउँछ।
मास्टर मित्रसेनको आफ्नै किराना पसल थियो। सरकारले निर्धारण गरेको मूल्य अनुसार मालसामान बेचबिखन गरिन्थ्यो। बजार व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिएको थियो। जसले गर्दा ‘बढी नाफा गरेर बेच्न नपाइने’ भनेर डायरीमा उल्लेख गरिएको छ। अङ्ग्रेजको यो एक सक्षम व्यापार प्रणालीको नमूना हो।
तत्कालीन अवस्थामा विद्यमान बजार भाउ, तलब भत्ताबारे केही विवरण मित्रको डायरीबाट उद्धृत गरेर यहाँ सूचीकृत गरिएको छ–
- मास्टर मित्रसेनले घर र दोकान मासिक रु. २२ मा भाडामा दिएर नौतुना प्रस्थान गरेका थिए। बाटोखर्चका लागि रु. १५० पेश्की लिएका थिए। बाटोखर्च नपुग्ला भनेर कप्तान बरालसँग रु. १०० सहायता मागेका थिए।
- पठानकोटदेखि गोरखपुरसम्म चार जनालाई ‘इन्टरक्लास’को रेल भाडा ८३ रुपैयाँ १२ आना। आफूले चाहेको डिब्बाको टिकट समयमै नपाउँदा टिकट बाबूलाई ५ रुपैयाँ घुस दिनुपरेको।
- भाग्शु धर्मशालादेखि नौतुनासम्मको जम्मा बाटो खर्च रु. १३८।
- गोरखपुर, कुनाघाटका गोरखाली जनताले सत्संग प्रचारिणि सभालाई ५० रुपैयाँ दान गरेका।
- नौतुनाका व्यापारीले सोझासिधा लाहुरेसँग एक रुपैयाँको माललाई छ-सात रुपैयाँसम्म असुल्थे।
- एउटा लाहुरे छुट्टी जाँदा हजार-बाह्र सय रुपैयाँसम्म बोकेको हुन्थ्यो।
- नौतुनाको एक सत्संग कार्यक्रम सकिएपछि भक्तजनले चढाएका सिधा- तीस-पैंतीस सेर चामल, दुई छटाक मसला, बेसार, नुन, एक छटाक घिउ र रु. ३५० प्राप्त भएको थियो।
- नौतुनामा रहँदा चार जनाको परिवारको मासिक खर्च रु. ५० हुन्थ्यो।
- राधा फिल्म कम्पनीले मासिक रु. १५० तलब र बस्ने घर दिन्छौं भन्दै उनीहरूसित काम गर्न अनुरोध गरेको थियो।
- कप्तान बरालले नौतुनामा उनलाई खर्च स्वरूप रु. २० दिएका थिए।
- नौतुना कप्तान टोलमा गरिएको सत्संगबाट ३२ रुपैयाँ ८ आना दान प्राप्त भएको थियो।
- नौतुनाबाट रिडीतर्फ तीर्थयात्रामा निस्कँदा साथमा रु. २५ थियो। जसबाट मोटर भाडा रु. ५ तिरेका, रु. १० को मोहोर साटेका थिए भने फर्कंदाको लागि खर्च रु. १० बाँकी थियो।
- बटौलीबाट माथि लाग्दा भट्टीमा बास बसेमा लाहुरेसँग रु. १५ देखि २० लिन्थे भने उनी जस्ता सर्वसाधारणबाट एक सुका मात्रै पाउँथे। त्यसो हुनाले भट्टीवाल्नीहरू सर्वसाधारणलाई भन्दा लाहुरेलाई बास दिन मन पराउँथे।
डायरीको भाषा शैली
मास्टर मित्रसेनले हिन्दी र उर्दू माध्यममा ८ कक्षा मात्र अध्ययन गरेका थिए। उनी भारतमै जन्मेर उतै हुर्के/बढेका हुन्। उनको नेपाली भाषा घरमा आमाबुवा, भाग्शु धर्मशालामा गोरखाली समुदाय र पल्टन घरमा छँदा जे-जति सिक्न सके त्यसैमा सीमित थियो। नेपाली भाषामा औपचारिक शिक्षा नलिए पनि धर्मग्रन्थहरू अध्ययन गरेर उनले नेपाली भाषाको ज्ञान लिएको हुनुपर्छ। उनका काव्य, नाटक र भजनमा महाभारत तथा गीताका बिम्बहरू पाइने गर्छन्।
बृटिश गोर्खा पल्टनका सैनिक भएकााले अङ्ग्रेजी भाषा नजान्ने त कुरै रहेन। यसर्थ यस निबन्धमा भाषागत हिसाबले नेपाली, हिन्दी, उर्दू, अङ्ग्रेजी र संस्कृत शब्दको बाक्लो मिश्रण पाइन्छ। जसरी अहिले पनि एक भारतीय गोर्खा सैनिकको बोली र लेखाइको लबज भिन्न हुन्छ। लेख्य कलाको दृष्टिकोणबाट यसमा त्यति लालित्यता नपाइए पनि शब्द विविधताका दृष्टिकोणबाट यो निबन्ध अति नै धनी देखिन्छ।
नेपाली गीत रचना र गायनमा उनको पृथक शैली छ। जसलाई झ्याउरे गीत भनिन्छ र उनलाई ‘किङ अफ झ्याउरे’ उपनामले पनि चिनिन्छ। ‘झ्याउरे’ लोकशब्द अर्थात् गाउँघरमा बोलिने झर्रो बोलीसँग सम्बन्धित छ। त्यसैगरी यस निबन्धमा पनि झ्याउरे लेखनशैली विद्यमान छ। रेल स्टेशनमा डिब्बाभित्र चढ्ने वेला ‘भीडभाड र धकेलाधकेल भयो’ भन्ने जनाउन ‘धक्कापेल भयो’ भनेर लेखिएको छ।
आफूसँग गएकी ८५ वर्षीया वृद्ध आमालाई ‘रेलमा बुढी माऊलाई जोगाउन कठिन पर्यो’ भन्ने वाक्य प्रयोग गरेका छन्। फल्स्याङ फुल्सुङ, ताना बाना, गल्याङ गुलुङ कुरा गर्दै, गोर्खाली आइमाई पन्जाबिनी भएर, लाटा-लुरेलाँगरे, मुख सामनेको गोरखा-पहाड, सुस्तोबिस्तो इत्यादि निबन्धमा प्रयोग गरिएका केही झर्रो शब्दका उदाहरण हुन्।
नेपाली भाषा मानक र व्याकरणको पक्षबाट हेर्दा यो निबन्ध फितलो लाग्नसक्छ। मित्रसेनको समयका साहित्यकार सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, बालकृष्ण सम, लेखनाथ पौड्यालका सिर्जनामा पाइने जस्ता कला, भाव, बिम्ब, लालित्यता, शब्द संयोजन ‘मित्रको डायरी’मा पाइन्न।
उनले आफ्नै जीवनकालमा प्रकाशन गर्न सकेका भए अवश्य भाषा सम्पादन गरेर मात्रै प्रकाशन गर्थे होला तर अहिले हामीले जुन रूपमा ‘मित्रको डायरी’ पढ्दैछौं उनको हस्तलिखित पाण्डुलिपिकै प्रतिलिपि हो। यो पाण्डुलिपिमा त्यति धेरै काँटछाँट नगरेर जस्ताको तस्तै प्रकाशन गरिएको हो। यसर्थ भाषाशैलीको दृष्टिकोणबाट भन्दा पनि यसले प्रदान गर्ने ऐतिहासिक ज्ञानको दृष्टिकोणबाट हेर्दा यस निबन्धको स्थान निकै उच्च छ।
डायरीमा युद्ध साहित्य
मित्रको डायरीलाई साहित्यको एउटा पाटो- युद्ध साहित्यको पक्षबाट विमर्श गर्न सकिन्छ। किनभने यसभित्रका मुख्य विषयवस्तु सैनिक गतिविधिमा केन्द्रित छन्।
युद्ध साहित्यलाई परिभाषित गर्दा नेपालको एकीकरण र अङ्ग्रेज उपनिवेशीकरणको अवधिमा भएका लडाइँ, पहिलो र दोस्रो विश्वयुद्ध, त्यसपछिका अन्य युद्धमा गोर्खाली सैनिकको सहभागिता इत्यादि विषयवस्तु उपर कोरिएका साहित्यलाई युद्ध साहित्य मान्न सकिन्छ। युद्धका तीन चरणहरू हुन्छन्- युद्धपूर्व, युद्धकाल र युद्ध पश्चात्। यिनै चरणमा घट्ने घटनालाई सिर्जनाको आधार बनाएर लेखिएका कृतिहरू युद्ध साहित्यका कृति मानिन्छन्।
युद्धपूर्वको चरणमा युद्धका लागि गरिने तयारी जस्तै; सैनिक छनोट अर्थात् भर्ती, ब्यारेक र जङ्गलमा गरिने तालीम तथा अभ्यास, सैनिक र तिनका परिवारका लागि गरिने प्रशासनिक र कल्याणकारी क्रियाकलाप पर्छन्। यस निबन्धका अनुसार नौतुना र गोरखपुर गोर्खा पल्टनका सैनिक जाने-आउने मुख्य नाका थियो। नौतुना भर्तीकेन्द्रबाट गोरखपुर तालीम केन्द्रतिर प्रत्येक दिन पाँचरछ सयको हाराहारीमा नेपाली युवा जान्थे। ती सबै गतिविधि युद्धपूर्वका चरण अन्तर्गत पर्दछन्।
बृटिश गोर्खा पल्टनका सैनिक मित्रसेनले अङ्ग्रेजी भाषा नजान्ने त कुरै रहेन । यसर्थ निबन्धमा भाषागत हिसाबले नेपाली, हिन्दी, उर्दू, अङ्ग्रेजी र संस्कृत शब्दको बाक्लो मिश्रण पाइन्छ । लेख्य कलाको दृष्टिकोणबाट यसमा त्यति लालित्यता नपाइए पनि शब्द विविधताका दृष्टिकोणबाट यो निबन्ध अति नै धनी देखिन्छ ।
युद्धकालको चरण भन्नाले युद्धभूमिमा गएर बन्दूक, गोला बारुदसँग खेल्दै शत्रुलाई आक्रमण; आफ्नो ज्यान, सहयोद्धा र भूमिको रक्षा गर्दै विजयतिर उन्मुख हुनेलाई बुझिन्छ। निबन्धमा लडाइँको मैदानबाट युद्धरत अवस्थाको उल्लेख नगरिए तापनि एउटा पृष्ठमा ‘आजभोलि यस महायुद्धमा खेर गएका लाटा-लुरेलाँगरे पनि जम्दार सुबेदार भएका छन्’ भन्ने वाक्यले दोस्रो विश्वयुद्ध चलिरहेको अवस्थालाई इङ्गित गर्दछ।
युद्धपश्चात्को चरण भन्नाले युद्धको मैदानबाट फिर्ता, सन्धि, युद्धमा मानसिक, शारीरिक, भौतिक रूपमा क्षतविक्षत भएका मनमस्तिष्क र संरचनाका समीक्षा, पुनर्निर्माण, सम्मान इत्यादिलाई बुझ्नुपर्छ। निबन्धमा छुट्टी मान्न र पेन्सन पकाएर नौतुना हुँदै गाँउँघर फर्कंदै गरेका सैनिकको चित्रण गरिएको छ। ती छुट्टी जानेहरू शायद आफ्नो लडाइँको अवधि सिध्याएर घर फर्कंदै थिए। कति युद्ध मैदानबाटै पेन्सन पकाएर घर फर्कंदै थिए होलान्।
त्यस्ता गोर्खाली दाजुभाइ ‘गोर्खा ह्याट’ ढल्काउँदै खुकुरी कम्मरमा भिरेर भट्टीभित्र पसी मदहोश भएका दृश्यलाई निबन्धकारले संवेदनात्मक भावमा अभिव्यक्त गरेका छन्। कतिलाई घायल र अपाङ्ग अवस्थामा पनि फर्काइएको थियो होला! यद्यपि यस्तो दृश्यको निबन्धमा वर्णन गरिएको त छैन तर महायुद्धको उत्तरार्द्धबाट गुज्रिरहेको अवस्थामा त्यस्तो घटनाको सहजै कल्पना गर्न सकिन्छ।
यसर्थ; यो निबन्ध एक लाहुरे स्रष्टाद्वारा लाहुरे र लाहुरे समुदायबारे लेखिएको तथा यसका वास्तविक पात्र प्रायः लाहुरे नै भएकाले यसलाई युद्ध साहित्य मान्न सकिन्छ। यो ‘डायरी निबन्ध’ किङ अफ झ्याउरे, नेपाली सङ्गीतका भानुभक्त, मास्टर जस्ता उपाधिले परिचित मित्रसेन थापा मगरको जीवनीमा आधारित छ।
भाषागत संरचना र शब्द संयोजनका हिसाबले नेपाली मूलधारको साहित्यभन्दा यो निबन्ध पृथक छ। झ्याउरे भावमा लेखिएको निबन्धमा शाब्दिक विविधता निकै पाइन्छ। यति मात्रै नभई सम्भवत: युद्ध साहित्यलाई प्रतिनिधित्व गर्ने यो पहिलो निबन्ध हुनसक्छ।