नगरकोट सडक निर्माणको माग राख्दै चाँंगुनारायण नगरपालिका आन्दोलनमा
नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै चाँंगुनारायण नगरपालिकाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ७ देखि १५ पुससम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
७ पुसमा निर्माणकार्य अलपत्र पर्नुका कारणका विषयमा सरोकारवालासँंगको अन्तर्क्रिया, ११ पुसमा जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ र १५ पुसमा सडक सुधार तथा विकास आयोजना कार्यालय, काठमाडौं घेराउको कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका मेयर सोम मिश्रले ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतीघर मण्डलमा धर्ना र अरनिको राजमार्ग चक्काजाम गर्ने कार्यक्रम पनि तय भएको जानकारी गराए। मिश्रले माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
मेयर मिश्रले ठेक्का तोडेर नगरपालिकालाई हस्तान्तरण गरे समयमै सम्पन्न गर्ने दाबी पनि गरे। नगरकोट सडकखण्ड ३५ करोडको लागतमा विस्तार र स्तरोन्नति भइरहेको छ।
भक्तपुरको कमलविनायक भत्केपाटीदेखि नगरकोटसम्म पुग्ने सडक ३ असार २०७३ भित्र सम्पन्न गर्ने गरी ठेक्का भएको थियो। तर, सम्झौताको आठ वर्ष बित्दा पनि निर्माण अलपत्र छ।
निर्धारित मितिमा काम नसकिएपछि सरकारले सात पटक म्याद थप गरिसकेको छ। पछिल्लो पटक आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको छ। तर, यो समयमा पनि काम सम्पन्न नहुने भन्दै नगरपालिका आन्दोलनमा उत्रिएको हो।