खस आर्यतर्फ सहमहामन्त्रीमा राठौर निर्वाचित
नेपाली कांग्रेसको खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी देवराज चालिसेलाई ५१७ मतले पराजित गर्दै राठौर सहमहामन्त्री बनेका हुन्। उनले २५७६ मत प्राप्त गरेका छन्।
त्यस्तै, अर्का उम्मेदवार चालिसेले २०५९ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। राठौर सभापति शेरबहादुर देउवा पक्षका हुन् भने चालिसे डा. शेखर कोइराला पक्षका हुन्।
यसअघि सम्पन्न मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा पक्षकै फरमुल्लाह मन्सुर निर्वाचित भएका छन्। कांग्रेसका आठ वटा सहमहामन्त्रीमध्ये तीन वटा क्लस्टरको बिहीबार नै मतगणना गरिएको थियो।
अब थारू, मधेशी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ।