पार्कियाबाट आम्दानी
पार्किया रुखोपाखो बारीमा लगाउँदा माटो समेत मलिलो हुने गर्छ। यसको पातले जमीनको उर्वराशक्ति बढाउन भूमिका खेल्छ।
नेपालमा 'पार्किया' र 'योङचाक' शब्द सुनिन थालेको धेरै भएको छैन। भारतका मणिपुर, आसाम लगायत स्थानमा भने यो कहलिएको वनस्पति हो। वैज्ञानिक नाम पार्किया स्पेसियोसा हो। फेबिसि परिवारमा पर्छ।
नेपालमा पनि चितवनतिर केही व्यक्तिले यसलाई व्यावसायिक रूपमा रोप्न थालेका छन्। माटोविज्ञ दुर्गा दवाडीका अनुसार, तीन वर्षयता प्रचारमा ल्याउन खोजिए पनि नेपालमा यसको महत्त्व बुझाउन सकिएको छैन।
पार्कियाको उत्पति र नाम
यसको उत्पत्ति इन्डोनेशिया, ब्रुनाई, फिलिपिन्स, मलेशिया, थाइल्यान्ड लगायत मुलुकबाट भएको पाइन्छ। बिस्तारै पार्किया एशियाका विभिन्न मुलुकमा फैलिएको छ भने पछिल्लो समय यसको अध्ययन, अनुसन्धानको कारणले संसारभर फैलिने क्रम जारी छ।
यसलाई अङ्ग्रेजीमा पेटाई बिन, डचहरूले स्टिकबोन, भारत मणिपुरमा योङचाक, जापानमा निजिरे फुसा, इन्डोनेशियामा पेटाई पापन, थाइल्यान्डमा कातो र फिलिपिन्समा उपाङ पालावन भनिन्छ।
पार्कियाको महत्त्व
अफ्रिकामा पार्कियाका ४ र एशियामा १० प्रकार पाइन्छन्। यसका प्रायः भाग उपयोगी छन्। शिरीष जस्तै छिटो हुर्किने पार्कियाका फल, कोसा, दाना, मुन्टा, पात, बोक्रा, हाँगा, जरा सबै प्रयोगमा आउँछन्। यसको काठ पनि निकै राम्रो मानिन्छ।
भारतीयहरू पार्कियाका कोसा र गेडाको तरकारी बनाउँछन् भने सुकेको गेडालाई दालका रूपमा पनि प्रयोग गर्छन्। यो वनस्पति २० देखि २५ मिटर अग्लो हुन्छ र १५ देखि २५ मिटरसम्म फैलिन्छ। यसको पात अन्य रूखबिरुवाका लागि मलिलो मानिन्छ।
मलेरिया, मधुमेह, पखाला, रुघाखोकी, कुष्ठरोग, छाती दुख्ने तथा नशाजन्य रोगको उपचारमा यसको प्रयोग हुँदै आएको छ। भारतको वातावरण तथा वन मन्त्रालयले यसलाई निकै चासोका साथ प्रवर्द्धन गरिरहेको छ। मणिपुर राज्य सरकारले पनि प्राथमिकता दिएको छ। मणिपुर राज्य सरकारले यसलाई माथिका रोगहरूमा प्रमाणित गरिसकेको र अन्य रोगका लागि समेत अध्ययन गर्ने अनुमति प्रदान गरेको छ।
यो वनस्पतिलाई आयुर्वेदले पनि औषधिका रूपमा उल्लेख गरेको छ। जालुकबारी गुहाटी आसाम आयुर्वेद कलेजका लौक्रकपाम भिक्टोरिया देवी र खगेन बासुमातारीले संयुक्त रूपमा गरेको 'Study on medicinal value of herbs and vegetables commonly used in Manipuri cuisine through Ayurvedic perpective' ले यसलाई सौग्री नाम दिएको छ।
पछिल्लो समय मोटोपन घटाउन समेत यसको सेवन बढेको छ। मुख्यतः यसमा मानव शरीरलाई आवश्यक क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फस्फोरस र आइरन जस्ता तत्त्व पाइने मलेशियाको केवाङ्गसान विश्वविद्यालयका युसफ कमिसाहले गरेको अध्ययनले देखाएकाे छ। जुन लेख १७ जुलाई २०१३ मा इन्टरनेसनल जर्नल अन इमर्जिङ टेक्नोलोजीज् जर्नलमा प्रकाशित भएको थियो।
आर्थिक पक्ष
यो वनस्पति रुखोपाखो बारीमा लगाउँदा माटो समेत मलिलो हुने गर्छ। यसको पातले जमीनको उर्वराशक्ति बढाउन भूमिका खेल्छ। यसको वयस्क बोटले ३०० देखि ४०० किलोसम्म फल दिने गर्छ। प्रति किलो रू. ५० कै दरले हिसाब गर्दा पनि एउटै बोटबाट १५ देखि २० हजारसम्म आम्दानी सहजै हुन्छ।
प्रति रोपनी दुई वा तीन बोट मात्रै रोप्न सकिने यो वनस्पति १० फिटको भएपछि टुप्पा काट्नु पर्छ। जडीबुटी प्रशोधन उद्योगमा यसको पात, जरा तथा मुन्टा बिक्री गरेर थप आम्दानी गर्न सकिन्छ। त्यस्तै, यसको काठ पनि प्रयोगमा आउने हुनाले त्यसबाट हुने कमाइ त छँदै छ।
कफी खेतीमा पार्कियाको छहारी
पछिल्लो समय नेपालमा कफी खेतीको लहर बढ्दै छ। धनकुटाको पाख्रीबास नगरपालिकाले २०७६ देखि पकेटक्षेत्र बनाई कफी रोपाइँ तथा कफी पर्यटनलाई अभियानकै रूपमा अघि बढाएपछि प्रदेश–१ मा यसको प्रभाव निकै विस्तार भएको छ।
कफी खेती सपार्न छहारी अनिवार्य चाहिन्छ। छहारी व्यवस्थापनले कफीमा रोग, कीरा नलाग्ने मात्र होइन, गुणस्तर कायम गर्न र उत्पादन वृद्धिमा समेत सघाउँछ। हाल कफीमा एभोकाडो, रुद्राक्ष, बकाइनो, केरा, उत्तिस आदिको छहारी दिने गरिएको छ।
समुद्री सतहदेखि ८०० देखि १ हजार ३०० मिटर उचाइसम्म रोपिएको कफीमा पार्कियाको छहारी एकदमै राम्रो हुन्छ। १०० रोपनीमा २०० जति पार्कियाको बिरुवा लगाउन सकिन्छ। तर, यसको पात मसिनो भएकाले जति बाक्लो लगाए पनि कफीमा आवश्यक मात्रामा सूर्यको प्रकाश आइपुग्छ।
पार्कियाको पात झर्दा कफीलाई मल समेत पुग्छ। पाख्रीबास नगरपालिकाले ६० रोपनी क्षेत्रफलमा नमूनाकै रूपमा लगाएको कफी खेतीमा पार्किया रोपिएको छ। यसलाई कफीको नर्सरीमा समेत रोप्न सकिन्छ।
कफी र पार्कियाको सम्बन्ध
कफी बलियो नगदे बालीका रूपमा परिभाषित हुँदै आएको छ। यसलाई अझ प्रचारप्रसार गर्न आवश्यक देखिन्छ। हाम्रो मुलुकमा कफी लगाएपछि बजार अभाव देखेर हुर्किसकेका बोट फालिएका उदाहरण पनि धेरै छन्।
कफी लगाएर मात्र हुँदैन, उचित मात्रामा प्रशोधन तथा बजारीकरण पनि आवश्यक पर्छ। थोरै मात्रामा उत्पादन भए बजार लैजान असजिलो हुन्छ। त्यसैले धेरै मात्रामा कफी उत्पादन गर्न धेरै जमीन चाहिन्छ। धेरै जमीनमा कफी खेती गर्न दक्ष जनशक्ति तथा त्यतिकै मात्रामा आर्थिक लगानी जोहो गर्नुपर्छ।
कफीले ४ देखि ५ वर्षपछि मात्रै व्यावसायिक रूपमा उत्पादन दिने हुनाले धैर्य गर्न सक्नुपर्छ। किसानले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण पक्ष के भने यो विविध तरीकाले आम्दानी दिने बाली हो।
कफीमा नेपाल सरकारले तोकेको मूल्य ग्रीनबिनको प्रति किलो ८५ रुपैयाँ हो। यो मूल्य अनुसार, कृषकले कफीबाट प्रति रोपनी २४ हजार ९०० सम्म आम्दानी गर्न सक्छन्। यसै गरी कफीलाई छहारीका रूपमा लगाउन सकिने पार्किया बेचेर आउने मूल्य पनि जोड्दा प्रति रोपनी कम्तीमा ५० देखि ६० हजारसम्म कमाउन सकिन्छ।
कफीको बोटसँगै लगाउन सकिने, घामै नचाहिने खालका जडीबुटी खेतीको सम्भावना पनि उत्तिकै रहेकाले पार्कियालाई विविध तरीकाले आम्दानी लिन सकिने जडीबुटीका रूपमा परिभाषित गरिएको हो। त्यसैले भन्नैपर्छ– कफी खेती गरौं, कफीमा पार्कियाको छहारी लगाऔं र विविध ढङ्गले आम्दानी हुने खेतीमा सहभागी बनौं।