म भावविभोर भएको छु : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा प्रतिनिधिबाट पाएको मतले भावविभोर भएको बताएका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आफ्नो काँधमा थप जिम्मेवारी आएको जनाएका छन्। “मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ,” डा. कोइरालाले भनेका छन्, “मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु। प्रतिनिधि साथीहरूले मप्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु।”
उनले अब महाधिवेशनको हारजितलाई बिर्सेर एकढिक्का हुनुपर्ने बताएका छन्। “पार्टीको १४औं महाधिवेशनको मत परिणामपछिका दिनमा राष्ट्रिय निर्वाचनको चहलपहल शुरू हुनेछ। कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सक्छौं,” डा. कोइरालाले भनेका छन्, “कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी फेरि हिमाल, पहाड र तराई-मधेश आउने नै छौं, तपाईंहरूको घरदैलोमा।”
डा. कोइरालाले आफूलाई सहयोग गर्ने तथा सद्भाव देखाउने सबैलाई धन्यवाद दिएका छन्। कोइरालाले भनेका छन्, “हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु।”
डा. शेखर कोइरालाको विज्ञप्ति:
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रक्रिया पूरा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ। म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु। साथै, उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुन:स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु।
पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना अगाडि बढ्दै छ। मतगणना सकिएर विजयी हुनुभएका साथीहरूलाई हार्दिक बधाई। आशा छ, कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौं। पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिंदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौं।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु। केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरू र लोकतन्त्रवादीहरूको “मन” जित्न सफल भएका छौं। पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरूबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं, भरोसा र विश्वासको वृद्धि गराएका छौं।
मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ। मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु। प्रतिनिधि साथीहरूले मप्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु।
मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरू, शुभेच्छुक मित्रहरू र आम नेपाली जनताबीच मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने मत प्राप्त भएको छ। म लगायत मेरो टीम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिका रूपमा सञ्चालन गर्न जागृत रहनेछौं ।
पार्टीभित्र रूपान्तरण र परिवर्तनको यो लडाइँ हामीलाई सहज थिएन। वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं। पार्टीभित्र हुर्केको र झाङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौं। हामी लडिरहेका थियौं, पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णय विरुद्ध।
पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो। हामीसँग ऊर्जावान युवाहरूको समूह थियो। पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं।
पार्टीको १४औं महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच थियो। हामी परिवर्तनकारी शक्ति थियौं। हामीसँग निष्ठावान् कार्यकर्ताहरूको भरोसा र विश्वास थियो। हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरू बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि लगायत कैयन् ज्ञात–अज्ञात शहीदहरूको प्रेरणा थियो। जसलाई हामीले छातीमा राखेर कांग्रेसमा परिवर्तनका लागि नेपालका गाउँ-शहर, हिमाल-पहाड र तराई-मधेश गयौं।
हामी कांग्रेस कार्यकर्ता साथीहरूको घरदैलोमा पुग्यौं। हामी काठमाडौंको आरामदायी जीवन छोडेर जब गाउँघर पुग्यौं कांग्रेस हुनुको गौरव र भावना बुझ्यौं। कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्त्व आफ्नो ठाउँमा छ, तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घरदैलोमा पुर्याएका छौं।
म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरूप्रति जसले अनेकन् प्रतिकूलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो। म आभार प्रकट गर्छु, ती तमाम सञ्चारकर्मीहरूप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रक्रियामा सक्रिय भई सहयोग र समर्थन प्रदान गर्नुभयो। सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो अजेन्डा सीमित स्रोत र साधनका कारण आम कांग्रेसजन र प्रबुद्ध नागरिकसँग जोडिन सम्भव थिएन।
म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनुभएन, दबाa पनि दिनुभयो। निर्वाचन समितिले अनेक प्रतिकूल परिस्थितिको सामना गर्दै लामो प्रक्रियामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु।
अन्त्य,
पार्टीको १४औं महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहलपहल शुरू हुनेछ। कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सक्छौं। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी फेरि हिमाल, पहाड र तराई-मधेश आउने नै छौं, तपाईंहरूको घरदैलोमा।
हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु। धन्यवाद।