इजरायल जाने कामदार छनोटमा भएको अनियमितताबारे सर्वोच्चको कारण देखाऊ आदेश
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने कामदार छनोट प्रक्रियामा अनियमितता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने/नगर्ने बारेमा छलफल गर्न ५ पुसमा दुवै पक्षलाई बोलाएको छ।
वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १ हजार ४०० जनाको विज्ञापन गरेको थियो। पछि विना सूचना १ हजार ६०० जनाको नामावली प्रकाशन गरिएको थियो।
छनोट प्रक्रियाभन्दा बाहिरबाट नाम थपिएको भन्दै त्यस विरुद्ध जमुना पौडेल कार्की लगायत ९ जनाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई विपक्षी बनाई २२ मंसीरमा रिट दिर्ता गराएका थिए।
कामदार छनोट प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत श्रम मन्त्रालयका सचिवसँग लिखित जवाफ माग गरेर कारबाहीको प्रक्रियालाई अगाडि बढाएको छ।