कांग्रेस महाधिवेशनः ‘भेडा’ कसलाई भनेको?
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी प्रतिनिधिको विवेकमाथि प्रश्न उठाउँदै गरिएका कतिपय टिप्पणी सुपाच्य र सौम्य छैनन्।
१४औं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरे। देउवाको पक्षमा मतदान गरेका प्रतिनिधि र सिंहलाई कतिपय आलोचकले ‘भेडा’ को संज्ञा दिएर खिसीटिउरी गरे।
कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि देउवाको पुनः पदारोहण पक्कै प्रिय विषय होइन। देउवा बाहेक डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि वा कल्याण गुरुङ जो निर्वाचित भएको भए पनि कांग्रेसले नयाँ सभापति पाउने थियो। वा, दोस्रो चरणमा पुगेका दुई उम्मेदवारमध्ये कोइराला निर्वाचित भएको भए निःसन्देह कांग्रेसमा नयाँ आशा सञ्चार हुने थियो। मेडिकल शिक्षाबाट राजनीतिमा प्रवेश गरेका ‘अनटेस्टेड’ भएकाले पनि कोइरालाप्रति धेरैको आशा र भरोसा देखिन्छ।
दोस्रो चरणमा समर्थन गर्नुअघि देउवासँग सिंहले के के हिसाबकिताब मिलाए? त्यो बाहिर आउनुपर्छ। लोकतान्त्रिक मुलुकमा नेताहरूलाई अपारदर्शी सहमति–सम्झौता गर्ने अधिकार छैन। त्यो कुरा कांग्रेसीजन मात्रै होइन, आम जनताले पनि थाहा पाउनुपर्छ। तर, देउवाको समर्थन गर्नु भेडा बन्नु हो त?
कुनै वेला देउवाको दाहिने हात मानिने सिंह स्वयंले पनि केही वर्षयता मूल नेतृत्वको विकल्प खोज्नुपर्ने बताउँदै आएका थिए। देउवाको विस्थापनलाई उनले सभापति पदमा आफूले उम्मेदवारी दिनुको एउटा प्रमुख कारण बताउँदै आएका थिए। तर, त्यसमा सिंह इमानदार देखिएनन्। सभापति चयन दोस्रो चरणको मतदानमा पुग्दा उनी मूल नेतृत्वलाई धक्का दिन बल थप्नुको साटो देउवाकै समर्थनमा उभिए।
दोस्रो चरणमा समर्थन गर्नुअघि देउवासँग सिंहले के के हिसाबकिताब मिलाए? त्यो बाहिर आउनुपर्छ। लोकतान्त्रिक मुलुकमा नेताहरूलाई अपारदर्शी सहमति–सम्झौता गर्ने अधिकार छैन। त्यो कुरा कांग्रेसीजन मात्रै होइन, आम जनताले पनि थाहा पाउनुपर्छ। तर, देउवाको समर्थन गर्नु भेडा बन्नु हो त?
चारखुट्टे स्तनधारी घरपालुवा जनावर भेडालाई जुन विम्बका लागि प्रयोग गरिन्छ, त्यो भेडामाथिको अपमान हो। त्यसको केही छिटा यस पटक कांग्रेस महाधिवेशन प्रतिनिधिहरूमाथि पनि परेको देखियो।
भेडा मानिसका लागि बहुपयोगी जनावर हो। यसको रौंबाट राडी, स्विटर, कम्मल जस्ता कपडा बनाउन सकिन्छ। मांसाहारीहरू भेडाको मासु खान्छन्। कतिपय ठाउँमा भेडालाई भारी बोकाउन पनि प्रयोग गरिन्छ। भेडाको त्यो भन्दा पनि महत्त्वपूर्ण विशेषता के हो भने यो बथानमा बस्ने गर्छ र सामूहिकतामा रमाउँछ।
कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले सामूहिकता रोजेका हुन् भने त्यो आलोचनाको विषय कसरी भयो?
विवेकी महाधिवेशन प्रतिनिधि
देशभरबाट काठमाडौंमा भेला भएका ४ हजार ७४३ प्रतिनिधिलाई नेताले जहाँ भन्यो त्यही मतदान गरेको भनेर आलोचना भएको देखिन्छ। तर, यसमा पूर्ण सत्यता छैन भन्ने कुरा महाधिवेशनकै गणितले देखाउँछ।
सभापतिका लागि भएको पहिलो चरणको मतदानमा २ हजार २५८ जनाले देउवालाई भोट दिए। यसको अर्थ, कोइराला सहितका चार प्रत्याशीले पाएको २ हजार ४८५ मत मार्फत बहुमत महाधिवेशन प्रतिनिधिहरू सभापतिमा देउवालाई दोहोर्याउन नहुने पक्षमा थिए। दोस्रो चरणको मतदानमा देउवाको पक्षमा सिंह, निधि र गुरुङको समर्थनका बावजूद डा. कोइरालाले मत बढाए। पहिलो चरणमा १७०२ मत पाएका उनले दोस्रो चरणमा १८५५ भोट पाए। सिंह, निधि र गुरुङले ‘पेटी ठेकेदार’ बनेर देउवासँग सम्झौता गर्न गए पनि मतदाताले विवेक प्रयोग गरे।
सभापतिका उम्मेदवारहरू देउवा, कोइराला र सिंह तीनै जनाले चुनावी प्यानल बनाएका थिए। निधि र गुरुङले भने प्यानल राख्ने उम्मेदवार भेट्न सकेनन्।
सभापति, उपसभापति र महामन्त्रीको निर्वाचन परिणाम हेर्दा भन्न सकिन्छ, नेताहरूले बनाएको प्यानललाई ब्यालेट मार्फत महाधिवेशन प्रतिनिधिहरूले चुनौती दिए। उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरुङ निर्वाचित भए। मतदाताले नेताको निर्देशन शिरोधार्य गरेको भए सभापतिमा २ हजार ७३३ भोट पाएका देउवा प्यानलका विजय गच्छदार निर्वाचित हुने थिए।
त्यस्तै, महामन्त्री कोइराला प्यानलबाट उठेका गगन थापा ३ हजार २३ र सिंह प्यानलका विश्वप्रकाश शर्मा १ हजार ९८४ भोट ल्याएर निर्वाचित भए। जबकि, उनीहरू दुवैको प्यानलका सभापतिहरू पराजित भएका थिए। सभापतिमा देउवा अत्यधिक मत ल्याएर निर्वाचित हुँदा उनकै प्यानलका प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा फराकिलो अन्तरले हारे।
यो नतीजाले देखाउँछ, महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गरे। मनले खाएका नेतालाई मत दिएर जिताए। यस्तोमा बाहिरी पर्यवेक्षकले गरेको टिप्पणी खेल हारेपछि ‘रेफ्री’ ले झेली गरेको आरोप लगाए जस्तो भएन र?