गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
बिहीबार सम्पन्न मतगणनामा चार जना प्रतिस्पर्धीलाई उछिन्दै थापा र शर्मा महामन्त्री बनेका हुन्। कांग्रेसमा यही महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको हो।
सभापति शेरबहादुर देउवाका दुवै उम्मेदवारलाई पछि पर्दै डा. शेखर कोइराला समूहका थापा र प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्। देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका थिए।
थापा कांग्रेस केन्द्रीय सदस्य थिए। उनी १३औं महाधिवेशनमा डा. शशांक कोइरालासँग महामन्त्रीमा पराजित भएका थिए। त्यति वेला एउटा मात्रै महामन्त्री निर्वाचित हुने व्यवस्था थियो।
त्यस्तै, शर्मा यसअघि कांग्रेस प्रवक्ता थिए। उनी देउवा समूहबाट उम्मेदवार बन्न नपाएपछि सिंह समूहमा गएर महामन्त्रीको उम्मेदवार बनेका थिए।
महामन्त्रीमा थापा र शर्मासँगै महत, पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार बनेका थिए। रिजाल डा.कोइराला समूहबाट र कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका हुन्।
उपसभापतिमा भने देउवा समूहबाट पूर्णबहादुर खड्का र डा. कोइराला समूहबाट धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा ४६८२ मत खसेको थियो। जसमा गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन्।
महामन्त्रीको चुनावमा ४३ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिए।