धनराज गुरुङ २ मत बढी ल्याएर बने कांग्रेस उपसभापति
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन्। गुरुङ निकटतम प्रतिद्वन्द्वी विजयकुमार गच्छदारभन्दा २ मत बढी ल्याएर उपसभापति बनेका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खड्का २१२१ मत प्राप्त गर्दै पहिलो उपसभापति बनेका छन्। कांग्रेस विधानले दुई उपसभापति रहने व्यवस्था गरेको छ।
दोस्रो उपसभापतिका लागि भने गुरुङ र गच्छदारबीच कडा प्रतिस्पर्धा भएको छ। गुरुङले १९०८ र गच्छदारले १९०६ मत प्राप्त गरेका छन्।
उपसभापतिमा निर्वाचित खड्का यसअघि महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए। गुरुङ १३औं महाधिवेशनमा पनि लोकप्रिय मत लिएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
खड्का कांग्रेस सभापति शेरबहादुर देउवा र गुरुङ डा. शेखर कोइराला टीमका हुन्।
यस्तै, उपसभापतिमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।
कांग्रेसमा पहिलो पटक उपसभापति निर्वाचित भएका हुन्। यसअघि उपसभापति मनोनीत गर्ने व्यवस्था थियो।
उपसभापतिका लागि पनि सोमबार मतदान भएको थियो। तर, सभापतिमा दोस्रो चरणको मतदान भएपछि उपसभापतिको मतगणना भएको थिएन। सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भएको थियो। साँझ ५ बजेदेखि शुरू भएको मतगणना राति २ बजे सकिएको थियो।
उपसभापतिका लागि ४६८९ जनाले मतदान गरेका थिए। महाधिवेशनमा ४७४३ मतदाता थिए।
आज महामन्त्रीको मतगणना हुने भएको छ। त्यसपछि सहमहामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जनाएको छ।