कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
उपसभापतिका पाँच जना उम्मेदवारलाई पराजित गर्दै खड्का र गुरुङ उपसभापति बनेका हुन्। कांग्रेसमा पहिलो पटक उपसभापति पनि निर्वाचित हुने व्यवस्था गरिएको हो।
बुधबार राति साढे १२ बजेसम्म मतगणनाको परिणाम अनुसार, विजयकुमार गच्छदारलाई २ मतले पछि पार्दै गुरुङ उपसभापतिमा निर्वाचित भएका हुन्। खड्का धेरै मतान्तरले अगाडि थिए भने गुरुङ र गच्छदारबीच तीव्र प्रतिस्पर्धा भएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेका छन्। गच्छदारले १९०६ मत प्राप्त गरेका छन्।
यस्तै, उपसभापतिमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।
खड्का सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा टीमका हुन् भने गुरुङ सभापतिमा पराजित डा. शेखर कोइराला टीमका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिमा ४६७९ जनाले मतदान गरेका थिए।
सभापतिमा बुधबार बिहान शेरबहादुर देउवा विजयी भइसकेका छन्। अब महामन्त्रीको बिहीबार बिहान मतगणना हुने निर्वाचन समितिले जनाएको छ।