सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ।
क्यानको आज बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो। क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ।
क्यानको अनुशासन उल्लङ्घन सम्बन्धी गठन भएको छानबिन समितिले सिफारिश गरे बमोजिम खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरूआती ६ महीना सहभागी नगराउने निर्णय समेत लिएको छ। ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए।
सन्दीपले नेपाली यू १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर किंग्सको कप्तानी गरिसकेका छन्। त्यस्तै, उनले इन्डियन प्रिमियर लिग (आइपीएल) देखि बिग बास लिगसम्म खेलिसकेका छन्।
खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्ल सहित चार खेलाडीले गुनासो रहेका थिए। सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरण समेत सोधेको थियो। खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो।
त्यसै गरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी ६ पुसबाट पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ।