युवाहरूलाई घात गर्दै हृदयाघात
विगतमा अधिक मृत्युको कारण रहेको क्यान्सरलाई मुटुरोगले जित्दै गएको छ र यो रोग लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ। मुटुरोग भएर अस्पताल आउने ४० प्रतिशत जतिलाई हृदयाघात हुने गरेको देखिन्छ।
गत ९ असारमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले फेसबूक स्टेटसमा लेखे, ‘केही दिनअघि २९ वर्षीय युवाको हृदयाघातको उपचार गरी घर पठाउन नपाई अर्का २२ वर्षीय युवा हृदयाघात भएर अस्पताल आए, जसले केही वर्षदेखि नियमित चुरोट पिउने गरेका थिए।’
त्यसको तीन दिनअघि नै डा. अधिकारीले लेखेका थिए, ‘आज हृदयाघात भएर अस्पताल आएका २९ वर्षीय युवा चुरोटका अम्मली थिए। कोरोना कहरका बीच प्राइमरी एनजियोप्लास्टी गरी बन्द भएको मुटुको धमनी खोलेर बिरामीलाई बचाइयो।’
२०७८ जेठमा डा. अधिकारीले सामाजिक सञ्जालमा हृदयाघातले घात गरेका युवाहरूका बारेमा लेखिरहँदा कोभिड-१९ महामारीको दोस्रो लहर उत्कर्षमा थियो। महामारीका कारण उनले औंल्याएको गम्भीर स्वास्थ्य समस्या ओझेलमा पर्यो । तर, मुटुरोगको यो संवेदनशील पाटोलाई बेवास्ता गर्न नहुने विज्ञहरू बताउँछन्।
"४५ वर्षभन्दा कम उमेरमा हृदयाघात हुनु सामान्य होइन, तर युवा अवस्थामा हृदयाघात भएका यी दुई युवा अपवाद होइनन्," अधिकारी भन्छन्, "पछिल्ला वर्ष युवाहरूमा हृदयाघात हुनेको सङ्ख्या डरलाग्दो गरी बढेको छ।" यसले विकराल जनस्वास्थ्य समस्या निम्त्याउने देखिएको उनको भनाइ छ।
डा. अधिकारीका अनुसार, गंगालाल हृदयरोग केन्द्रमा सातामा तीनदेखि चार जना ४५ वर्षभन्दा मुनिका युवा हृदयाघात भएर आउने गरेका छन्।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका मुटु शल्यचिकित्सक डा. सञ्जीत शाहले हृदयाघात भएर अस्पताल आउने युवाको सङ्ख्या बढ्दो रहेको बताए। "२० वर्ष हाराहारीका युवाहरूलाई हृदयाघात हुनु असामान्य हो, तर यस्ता केस बढ्दै छन्," डा. शाह भन्छन्।
विगतमा अधिक मृत्युको कारण रहेको क्यान्सरलाई मुटुरोगले जित्दै गएको र यो रोग लाग्ने युवाको सङ्ख्या बढ्दै गएको मुटु शल्यचिकित्सक डा. अनिल भट्टराई बताउँछन्। "मुटुरोग भएर अस्पताल आउने ४० प्रतिशत जतिलाई हृदयाघात हुने गरेको देखिन्छ," डा. भट्टराई भन्छन्, "यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हो।"
४५ वर्षभन्दा कम उमेरमा हुने हृदयाघातलाई युवा अवस्थामा हुने हृदयाघात भएको मानिन्छ। युवा उमेरमै हृदयाघात हुने क्रम विगत एक दशकमा बिस्तारै बढ्दै गएको देखिन्छ।
चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयाघात हुने सम्भावना ३ गुणाले बढी हुन्छ। ५० वर्षभन्दा कम उमेरमा चुरोट सेवन गर्ने मानिसलाई चुरोट सेवन नगर्ने मानिसको तुलनामा हृदयाघात हुने सम्भावना ८ गुणाले बढी हुन्छ।
सन् २०१२ मा डा. रिकेश ताम्राकार र डा. यादवदेव भट्ट लगायतको टोलीले गरेको अध्ययनमा उक्त वर्ष गंगालाल हृदयरोग केन्द्रमा हृदयाघात भएर आएका ४९५ जनामा ११५ जना ४५ वर्षमुनिका थिए।
त्यसको चार वर्षपछि सन् २०१६ मा डा.चन्द्रमणि अधिकारी र डा. सुधीर रेग्मी लगायत चिकित्सकको टोलीले गरेको अध्ययनमा एक वर्षमा हृदयाघात भएर गंगालाल पुग्ने १२ सय ११ जनामा १३२ जना ४५ वर्षमुनिका थिए। तीमध्ये पनि सबैभन्दा कम उमेरमा हृदयाघात हुने २४ वर्षका थिए।
गत ३ मंसीरमा ३१ वर्षका एक युवालाई हृदयाघात भएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्याइयो। समयमै अस्पताल पुर्याइएकाले उनको उपचार भयो। यसरी समयमै अस्पताल ल्याउन नसक्दा हृदयाघात भएका धेरै युवाले ज्यान गुमाउनु परेको अस्पताल निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन्।
"मंसीर पहिलो साता पनि २४ वर्षका एक युवालाई हृदयाघात भएर ल्याइएको थियो," श्रेष्ठले भने, "पछिल्लो वर्ष ४० वर्षभन्दा कम उमेरका झण्डै सयभन्दा बढी युवा हृदयाघातको शिकार भएर आएका छन्।"
डा. अधिकारी तथा डा. किरणप्रसाद आचार्य लगायतको टोलीले नेप्लिज हार्ट जर्नलमा सन् २०१८ मा प्रकाशन गरेको अध्ययन अनुसार उक्त वर्ष १४ सय ६० जना हृदयाघात भएर गंगालाल अस्पताल पुगेका थिए, जसमा ११. ८ प्रतिशत बिरामी ४५ वर्षमुनिका थिए।
सन् २०११ देखि २०१५ सम्ममा हृदयाघात भएर गंगालाल आउने बिरामीको सङ्ख्या ४० प्रतिशतले बढेको डा. अधिकारी बताउँछन्। “हृदयाघातको बिरामी बढेसँगै यिनमा युवाहरूको सङ्ख्या पनि बढ्दै गएको छ,” उनी भन्छन्।
मुटुको रोगबाट हुने मृत्युको प्रमुख कारण हो, हृदयाघात। पछिल्ला वर्ष नेपालमा मात्र नभई दक्षिणएशियाली मुलुकका युवामा पनि हृदयाघात बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन्।
भारत तमिलनाडुको ‘इन्टर हार्ट’ संस्थाले सन् २०१२ देखि २०१४ सम्म गरेको अध्ययनमा ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात हुने २४.४ प्रतिशत बिरामीमध्ये ९२.५ प्रतिशत पुरुष थिए । ५२ देशका मुटुरोगीहरूको तथ्याङ्कका आधारमा गरिएको उक्त अध्ययनमा युरोपेली मूलका मानिसको तुलनामा दक्षिणएशियाली मूलका मानिसहरूमा कम उमेरमै हृदयाघात हुने गरेको थियो।
अध्ययन अनुसार, दक्षिणएशियाली मूलका मानिसमा औसतमा ५२ वर्षमा र युरोपेली मूलका मानिसमा ६२ वर्षमा हृदयाघात भएको पाइएको थियो। अर्थात्, दक्षिणएशियालीलाई युरोपेलीलाई भन्दा १० वर्षअघि हृदयाघातको जोखिम देखियो। उक्त अध्ययनमा युरोपेली देशमा ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात हुनेको सङ्ख्या ४ देखि १० प्रतिशतको हाराहारीमा रहेको उल्लेख छ, तर दक्षिणएशियाली मुलुकमा ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात हुनेको सङ्ख्या १० देखि २५ प्रतिशत हाराहारीमा छ।
हृदयाघातको कारण सुर्ती र चुरोट सेवन
जात, लिङ्ग, वंशाणु र क्षेत्रीयता जस्ता हृदयाघात गराउने कारक मानवीय नियन्त्रणभन्दा बाहिरका विषय हुन्। यद्यपि, आहारविहार जस्ता हृदयाघातका अन्य कारकलाई भने नियन्त्रणमा राख्न सकिने विज्ञ बताउँछन्। "हाम्रो जीवनशैलीलाई अलिकति मात्र बदल्ने वा नियन्त्रणमा राख्ने हो भने धेरैलाई हृदयाघातबाट बचाउन सकिन्छ," डा. अधिकारी बताउँछन्।
‘इन्टर हार्ट’ कै अध्ययनमा ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात भएका पुरुषहरूमध्ये मधुमेह भएकाहरू १२.१, उच्च रक्तचाप भएकाहरू १३.१ र उच्च कोलस्टेरोल २.६ प्रतिशतमा रहेको देखाएको थियो। तर, कम उमेरमा हृदयाघात हुनेमध्ये चुरोट र खैनी खानेहरू ६१.४ प्रतिशत थिए।
हृदयाघात भएर अस्पताल आएका अधिकांश व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको वा कुनै न कुनै वेला त्यसको लतमा फसेको मुटु शल्यचिकित्सक डा. भट्टराई बताउँछन्। "सुर्तीजन्य पदार्थ सेवन गर्ने र जङ्कफुड धेरै खानेहरूमा हृदयाघात बढी देखिएको छ," डा. भट्टराई बताउँछन्, "हाम्रो जीवनशैली र खानपानको संस्कृति बदलिएसँगै धेरै युवामा हृदयाघातका घटना बढेका छन्। उपचारका साथै अब मानिसमा सचेतना जगाउनुपर्ने देखिन्छ।"
विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार, नेपालमा १० जनामध्ये ७ जनाको मृत्यु नसर्ने रोगको कारणले हुने गरेको छ। नसर्ने रोग गराउने मुख्य कारण सुर्तीजन्य पदार्थ सेवन भएको उक्त अनुसन्धानमा उल्लेख छ।
नेपाल मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एक लेख अनुसार, गंगालाल हृदयरोग केन्द्रमा सन् २०१५ मा गरिएको अध्ययनले हृदयाघात हुनेमध्ये उच्च रक्तचाप भएकाहरू ३६.६, मधुमेह रोगी २५.३ र चुरोट-खैनी खानेहरू ५६.४ प्रतिशत रहेको देखाएको थियो।
उक्त अध्ययन अनुसार, चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयाघात हुने सम्भावना तीन गुणाले बढी हुन्छ। ५० वर्षभन्दा कम उमेरमा चुरोट सेवन गर्ने मानिसलाई चुरोट सेवन नगर्नेको तुलनामा हृदयाघात हुने सम्भावना आठ गुणाले बढी हुन्छ। त्यस्तै, १८ वर्षदेखि ४९ वर्षका महिलाले चुरोट खैनी सेवन गर्छन् भने हृदयाघात हुने सम्भावना खैनी, चुरोट सेवन नगर्नेको तुलनामा १३ गुणाले बढी हुन्छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेल सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी, उच्च रक्तचाप, मधुमेह जस्ता हृदयाघात गराउने मुख्य कारक बदल्न सके धेरै युवालाई हृदयाघातबाट बचाउन सकिने बताउँछन्।
"शहरीकरण बढेसँगै खानपान संस्कृति र शारीरिक सक्रियतामा व्यापक परिवर्तन आएकाले कम उमेरमै हृदयाघात हुन थालेको छ," डा. गजुरेल बताउँछन्, "शहरी क्षेत्रका मानिसहरूले स्वस्थकर ताजा खानाभन्दा जङ्कफुड धेरै खान थालेका छन्। अब त गाउँघरमा पनि मकै–भटमास हराएर मःमः–चाउमिन खाने चलन चलिसक्यो।"
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. श्रेष्ठ पनि हृदयाघात भएर अस्पताल पुगेका युवाहरूमा अन्य जोखिम नभए पनि सुर्तीजन्य पदार्थ सेवनको अम्मल देखिन्छ। "४० वर्षभन्दा कम उमेरका जति पनि युवा हृदयाघात भएर अस्पताल आएका छन्, सबैमा चुरोट सेवन गर्ने बानी पाइएको छ," उनी भन्छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार, नेपालमा १० जनामध्ये सात जनाको मृत्यु नसर्ने रोगको कारण हुने गरेको छ। नसर्ने रोग गराउने मुख्य कारण सुर्तीजन्य पदार्थ सेवन भएको उक्त अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार, यहाँका दुई पुरुषमध्ये एक जनाले सुर्तीजन्य पदार्थ सेवन गर्छन्। प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगबाट नेपालमा कुल मृत्युको १४.९ प्रतिशत अर्थात् झण्डै २७ हजार १३७ जनाको मृत्यु हुन्छ। जसमध्ये २८.१ प्रतिशत त असमयमै हुने मृत्यु छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सन् २०२० को शुरूआतमा गरेको ‘नेपालमा सुर्तीजन्य पदार्थ उपभोगको सामाजिक–आर्थिक र नीतिगत पक्षको राष्ट्रिय सर्वेक्षण’ ले १८ वर्षभन्दा माथिका व्यक्तिमा सुर्तीजन्य पदार्थको प्रयोग दर औसतमा ३१.७ प्रतिशत रहेको देखाएको छ। त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग सम्बन्धी सन् २०१९ मा गरेको एक अनुसन्धान अनुसार, १५ देखि ५९ वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनको दर २८.९५ प्रतिशत छ।
डब्लूएचओको सन् २०१५ को सर्वेक्षणमा २१.६ प्रतिशत नेपालीले धूमपान गर्ने अनुमानित आँकडा छ। सङ्गठनका अनुसार, सन् २०१२ सालमा नेपालमा धूमपानका कारण लाग्ने रोगका कारण कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत अर्थात् २५८ मिलियन अमेरिकी डलर (करीब रु.३१ अर्ब २२ कराेड) बराबरको आर्थिक क्षति भएको थियो। सन् २०२० मा उक्त नोक्सानी बढेर ३३४ मिलियन अमेरिकी डलर (करीब रु.४० अर्ब ४२ करोड ) बराबर हुने उल्लेख गरेको छ।
डब्लूएचओको नेपालस्थित कार्यालयमा नसर्ने रोग विभागमा कार्यरत डा. लोनिम दीक्षित यस्तो रोगको उपचारमा एक औसत परिवारले आफ्नो खर्चको ५६ प्रतिशत खर्च गर्ने बताउँछिन्। "नसर्ने रोग गरीबी बढाउने एउटा प्रमुख कारण बनिरहेको छ," उनी भन्छिन्।
‘उपचारसँगै सचेतना बढाउनुपर्छ’
मुटुरोगीको सङ्ख्या बढेसँगै उपचार केन्द्रको सङ्ख्या पनि बढाउनुपर्ने चिकित्सक बताउँछन्। "हरेक प्रदेशमा गंगालाल अस्पताल जस्तै मुटुरोग केन्द्र बनाउन सकिए धेरै बिरामी बचाउन सकिने देखिन्छ," मुटु शल्यचिकित्सक डा. भट्टराई बताउँछन्।
काठमाडौं जस्तो शहरमा ट्राफिक जामले गर्दा पनि अस्पताल पुर्याउन नपाउँदै धेरै बिरामीको बीच बाटोमै मृत्यु हुने गरेको उनको भनाइ छ। हृदयाघातको लक्षण शुरू भएको १२ घण्टाभित्र अस्पताल पुगेको खण्डमा हृदयाघात हुँदा बन्द भएको नसालाई औषधि या प्राइमरी एन्जियोप्लास्टीको मद्दतले खोल्ने गरिन्छ।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगबाट कुल मृत्युको १४.९ प्रतिशत अर्थात् झण्डै २७ हजार १ सय ३७ मानिसको मृत्यु हुन्छ। जसमध्ये २८.१ प्रतिशत मृत्यु त असमयमै हुने मृत्यु छ।
प्राइमरी एन्जियोप्लास्टी र औषधि उपचार पाएका बिरामीहरूको मृत्युदर यस्तो उपचार नपाएको तुलनामा कम हुन्छ। त्यसमा पनि प्राइमरी एन्जियोप्लास्टी गरेका बिरामीको मृत्युदर कम हुने गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. अधिकारी बताउँछन्। तर, सन् २०१८ मा गंगालाल हृदयरोग केन्द्रमा गरिएको अध्ययनले हृदयाघात भएर आएका ४० प्रतिशत बिरामी मात्र १२ घण्टाभित्र अस्पताल पुगेका छन्। जसमध्ये ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात भएर गंगालाल अस्पताल पुग्नेको मृत्युदर तीन प्रतिशत थियो।
हृदयाघातको मुख्य लक्षण छाती दुख्नु हो। छाती दुखेपछि हृदयाघात भएको हुन सक्छ भनी सकेसम्म चाँडै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने जानकारी नै मानिसहरूलाई हुन नसकेको अध्ययनले देखाउने डा. अधिकारी बताउँछन्। "हृदयाघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्," उनी भन्छन्।
युवाहरूमा बढिरहेको हृदयाघातबाट जोगाउन उनीहरूलाई सुर्ती र चुरोटको कुलतबाट बचाउनुपर्ने डा. अधिकारी बताउँछन्। "युवा उमेरमा हुने हृदयाघात घटाउन कुनै पहल गरिएन भने अबको केही वर्ष यसले विकराल रूप लिनेछ र हजारौं युवा यसबाट पीडित हुनेछन्," उनी भन्छन्।