कांग्रेस सभापति पदको पुनः मतदान सम्पन्न, ४५६४ ले गरे मतदान
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि आज भएको पुन: मतदान सम्पन्न भएको छ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि शुरू भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो। मतगणना केही बेरमा शुरू हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन्। सोमबारको तुलनामा आजको मतगणनामा कम समय लाग्ने बताइएको छ। मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना शुरू गरिने समितिले जनाएको छ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्याशी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधान अनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।
सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। रासस