नयाँ कोरोना सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमै
आज देशभर २६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। जसमध्ये आधाभन्दा बढी काठमाडौंमै पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, १३ हजार ७०९ जनाको स्वाब परीक्षण गर्दा २६४ जनामा कोरोना देखिएको हो। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १४७ जना छन्।
त्यस्तै, काठमाडौंमा १०९, ललितपुरमा ३० र भक्तपुरमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशका अन्य जिल्लामा भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या न्यून छ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ।
कोरोनाबाट ३६२ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार देशभर दुई लाख ३६ हजार ४२२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या एक करोड १६ लाख २९ हजार ६२१ पुगेको छ। अहिलेसम्म ९३ लाख ६६ हजार ९१६ जनाले पूर्ण खोप लगाएका छन्।