डा. कोइरालाले कांग्रेस प्रतिनिधिलाई भने- तपाईंको मतमा मुलुकको भविष्य जोडिएको छ
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेस प्रतिनिधिहरूलाई अन्तरात्माको आवाज सुनेर मतदान गर्न आग्रह गरेका छन्।
दोस्रो चरणको मतदान शुरू हुनुअघि कोइरालाले प्रत्येक मतदातालाई गुट, उपगुट, भागबण्डा बिर्सेर विवेकको मत प्रयोग आह्वान गरेका हुन्। डा. कोइरालाले भने, “तपाईंको एक मत मुलुकको भविष्यसँग जोडिएको छ।”
पहिलो चरणमा कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। ३७१ मत पाएका प्रकाशमान सिंह, २५० मत पाएका विमलेन्द्र निधि र २२ मत पाएका कल्याण गुरुङले देउवालाई समर्थन गरेको जनाएका छन्।
कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो। मतदानका लागि दिउँसो साढे ३ देखि साढे ७ बजेसम्मको समय निर्धारण गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
त्यसअघि काठमाडौंको नागपोखरीस्थित अरणय होटलमा मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले जस्तोसुकै परिणाम आए पनि चुनाव लड्ने बताए। उनले आफ्नो जित हुने विश्वास रहेको बताए।