शेखर कोइराला विरुद्ध सबै एकढिक्का, देउवालाई सहज
नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा डा.शेखर कोइराला विरुद्ध सबै एकढिक्का भएका छन्।
मंगलबार बिहान सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको चुनाव हुन लागेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले आजै अपराह्न साढे ३ बजेदेखि मतदान शुरू हुने जनाएको छ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा. कोइराला मात्रै उम्मेदवार छन्। कांग्रेस विधान अनुसार पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाबीच दोस्रो चरणमा मतदान हुन्छ।
पहिलो चरणमा चुनाव लडेका पाँच जनामध्ये चार जना डा.कोइराला विरुद्ध एकढिक्का भएका हुन्। पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा समर्थन जनाएका छन्। देउवाले गरेको छलफलपछि तीनै जनाले समर्थन गर्ने जनाएका हुन्।
पहिलो चरणमा देउवाले २२५८, डा. कोइरालाले १७२९, सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। त्यस्तै, ७६ मत बदर भयो।
मंगलबार बिहान भएको छलफलपछि नेता सिंहले देउवालाई समर्थन गर्ने बताए। त्यस्तै, देउवालाई मत दिन निधिले पनि आफू समर्थित प्रतिनिधिलाई आह्वान गरेका छन्। पहिलो चरणमा सभापतिका उम्मेदवार बनेका गुरुङले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै देउवालाई समर्थन गर्ने बताए।
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४६७९ जनाले मात्रै मतदान गरे।
अब दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले समर्थन जनाएपछि देउवालाई सहज हुने देखिएको छ। समर्थन जुटाउन देउवाले मंगलबार बिहानै तीनै जनासँग छलफल गरेका छन्।
विपक्षी सबै एकढिक्का भएपछि सभापतिका उम्मेदवार डा. कोइराला पनि छलफलमा जुटेका छन्। कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आफू निकटका नेताहरूलाई बोलाएका छन्।