देउवालाई प्रकाशमानको समर्थन
नेपाली कांग्रेसको सभापतिका प्रत्याशी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
मंगलबार बिहान देउवासँगको भेटपछि सिंहले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापतिमा देउवालाई समर्थन गर्ने बताए। “अब मैले देउवाजीलाई समर्थन गर्छु,” सिंहले भने।
आज बिहान सभापतिको मतगणना सकिए लगत्तै प्रधानमन्त्री देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। दोस्रो चरणमा आफूलाई सहयोग गर्न देउवाले सिंहलाई आग्रह गरेका थिए। दुवै जनाबीच भएको छलफलपछि सिंहले देउवालाई समर्थन गर्ने बताएका हुन्।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा आजै मतदान हुने भएको छ। दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।
पहिलो चरणमा देउवाले २२५८, डा. कोइरालाले १७२९, सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। त्यस्तै, ७७ मत बदर भयो।
देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत प्राप्त गरे।
कांग्रेस विधान अनुसार, कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुन्छ। सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाले मात्रै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँछन्।