देउवाको अग्रता कायमै, १ हजार मत गणना हुँदा ४७३ मत पाए
नेपालीको कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ६ बजेसम्म १ हजार मत गणना हुँदा देउवाले ४७३ मत पाएका छन्।
त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ३७६ पाएका छन्। यसै गरी प्रकाशमान सिंहले ९१, विमलेन्द्र निधिले ४९ र कल्याण गुरुङले ३ मत पाएका छन्।
आज बिहान ४ बजेदेखि मतगणना शुरू भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।
कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कुल ४ हजार ७४३ मतदाता रहेका थिए।
सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ। ५० प्रतिशत मत नआएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा मतदान हुन्छ।