किन समेट्ने वैकल्पिक सिकाइलाई मूलधारमा?
किताब मार्फत पढाइ हुने भए पनि अभ्यास चाहिं दैनिक व्यवहारमा आधारित भएर गरिने हो भने पढिएको कुरा बुझ्न सजिलो हुन्छ र बालबालिका रचनात्मक पनि हुन्छन्।
कोरोना महामारीका कारण भएको बन्दाबन्दीले जब विश्व नै ठप्प भएको भान भयो। बन्दाबन्दीको शुरूआतमा माहोल बिदामय बन्यो। सधैं व्यस्त भएका मान्छेले फुर्सद पाउँदा ‘घरै बस’ भन्ने सरकारी आदेश तलब सहितको बिदा जस्तो भयो। तर, तलब सुरक्षा नहुने दैनिक ज्यालादारीमा निर्वाह गरेकाहरूलाई आफूले काम गर्ने शहर नै बिरानो प्रतीत भयो।
शहर छाडेर गाउँ फर्कनेहरूको लर्को समाचारका विषय बने। संक्रमणको बिगबिगी बढेर टोलछिमेक आक्रान्त भएपछि भने स्थिति अस्तव्यस्त भयो। यो वैश्विक समस्याले अन्य समुदायको अलावा बालबालिकालाई ठूलो प्रभाव पार्यो।
बिदाका शुरूआती दिनमा रमाइलो माने पनि बालबालिकाले स्कूल जान नपाउँदा साथीभाइसँगको हेलमेल छुट्यो। बाबुआमा र नानीबाबुलाई स्थिति झर्कोलाग्दो हुँदै गएको भान भयो। यी सबैबीच शिक्षण विधिबारे विषय छलफलको केन्द्रमा रह्यो। विद्यालय बन्द हुँदा पठनपाठन बन्द भयो। यद्यपि शिक्षा वा सिकाइको क्रम त रोकिनुपर्ने थिएन।
कारणवश औपचारिक शिक्षाको प्रक्रिया रोकिंदा पढेलेखेकै घर परिवारमा त ठूलो समस्या आउनुपर्ने त थिएन, तर यो पनि एउटा समस्या नै भयो। शिक्षण संस्थाको महत्त्व आफ्नो ठाउँमा छ, तर कोभिड-१९ को कारणले हाम्रो सिकाइको पद्धति चाहिं कमजोर र सान्दर्भिक हुन नसकेको देखियो।
घरपरिवार बालबालिकाको पहिलो विद्यालय हाे भने बाबुआमा प्रथम शिक्षक हुन्। घरपछि सिक्ने सिकाउने भार विद्यालयमा सर्छ।
घरपरिवार बालबालिकाको पहिलो विद्यालय हाे भने बाबुआमा प्रथम शिक्षक हुन्। घरपछि सिक्ने सिकाउने भार विद्यालयमा सर्छ। यद्यपि, बालबालिकाले बढी समय बिताउने त घर परिवारमै हो। तसर्थ, हाम्रो शिक्षा पद्धतिले घरभित्रै र वरिपरिको वातावरणमा शिक्षाको खाका बनाउन चाहिने जति जमर्को नगरेको हो कि भन्ने देखियो।
नत्र कोभिड-१९ को कारणले विद्यालय बन्द भए पनि सिकाइको क्रम त नरोकिनुपर्ने। हुन त यसका अरू पाटा पनि छन्। भोगिएको विशेष स्थितिका आधारमा शैक्षिक गतिविध र सिकाइ पद्धति घरभित्र वा बाहिरका वातावरण र व्यवहारलाई अब कसरी अघि बढाउने भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु।
बन्दाबन्दीमा पनि मेरो प्राध्यापन कर्म निरन्तर रह्यो। तर, कार्यालय गएर गरिने काम घरैमा बसेर गरिएको हुँदा घर वरपरको वातावरण नियाल्ने अवसर मिल्यो। प्रविधिको उच्चतम प्रयोग गरियो।
विगतमा बालबालिकालाई मोबाइल फोन धेरै चलाए भनेर गाली गर्नुपर्ने अवस्था मोबाइल प्रयोग गरेर गर्न सकिने क्रियाकलापमा परिवर्तित भएको थियो। विज्ञानको किताब मार्फत पढाइ हुने भए पनि अभ्यास चाहिं दैनिक व्यवहारमा आधारित भएर गरिने हो भने पढिएको कुरा बुझ्न सजिलो हुन्छ र बालबालिका रचनात्मक पनि हुन्छन्।
गणितको सिकाइ किताबी समस्यामा आधारित हुनुभन्दा दैनिक घरेलु प्रयोजनसँग जोडेर पारिवारिक हिसाबकिताबमा आधारित गरिने हो भने सिकाइसँगै बालबालिका आफ्नै ढङ्गले व्यस्त हुने सम्भावना भयो भने पारस्परिक सम्बन्ध सौहार्द बनाउन मद्दत गर्छ।
गणितको सिकाइ किताबी समस्यामा आधारित हुनुभन्दा दैनिक घरेलु प्रयोजनसँग जोडेर पारिवारिक हिसाबकिताबमा आधारित गरिने हो भने सिकाइसँगै बालबालिका आफ्नै ढङ्गले व्यस्त हुने सम्भावना भयो भने पारस्परिक सम्बन्ध सौहार्द बनाउन मद्दत गर्छ।
घरछेउमा करेसाबारी छ भने त झनै बढी अनुसन्धान र प्रयोग गर्न पाइयो। किसान परिवारका सन्तानलाई त झनै बढी सिकाइका अवसर हुने भए। सधैं गहिरो कुरा मात्र चाहिन्छ भन्ने छैन। बालसुलभ खेलकूदका क्रियाकलापमा पनि सिक्ने अवसर प्रशस्तै हुन्छन्। अभिभावकले अलिकति समय दिएर उनीहरूसँग खेल्ने वा उनीहरूले खेलेका कुरामा आधारित भएर विभिन्न कुरा सिक्ने सिकाउने प्रयास गर्ने हो भने सिकाइका उत्तम अवसर र अनुभव हासिल हुन्छन्।
सबै अभिभावकले बृहत् रूपमा सोच्न र समय दिन नभ्याउलान्, तर यदि विद्यालयले सिकाइलाई त्यसै अनुसार व्यवस्थित गर्ने हो भने किताबी गृहकार्यभन्दा व्यावहारिक गृहकार्य प्रभावकारी हुन्छ र अनावश्यक ट्युसनको आवश्यकता पनि पर्दैैन। सम्भव भए पाठ्यक्रम निर्माताले शिक्षाको औपचारिक खाकाका साथसाथै अनौपचारिक खेल तथा घरेलु सिकाइका अतिरिक्त क्रियाकलापमा जोड दिनु प्रभावकारी हुनेछ।
घरमा बिहानदेखि राति नसुतेसम्म प्रयोग हुने, हिसाबकिताब, सामाजिक व्यवहार अनि समस्या समाधानका काम भइरहेका हुन्छन्। तिनलाई हेर्ने र बुझ्ने तिर्सना हाम्रा विद्यार्थीमा जगाउन सकिए शिक्षा दिगो र अर्थपूर्ण हुन सहयोग पुग्छ।
बन्दाबन्दीमा हासिल अनुभवका आधारमा मलाई के लाग्छ भने सिकाइका केही वैकल्पिक विधिलाई विद्यालयले अभिभावक मार्फत गराउने हो भने राम्रै परिणाम निस्कन्छ।
मानौं, एउटा बालकले सहज वातावरणमा खेल्दै, रमाउँदै र सिक्दै हुर्कन पाउने हो भने उसलाई तँछाडमछाड गर्दै विद्यालय जानुपर्ने आवश्यकता परेन। अनि, विद्यालय नगए पनि शिक्षाको आवश्यकता पूरा हुने स्थिति आयो भने के त्यस्ता अनौपचारिक शिक्षा हासिल गरेका विद्यार्थीलाई उनीहरूको क्षमता अनुसार भर्ना लिन सक्छन् त? कि औपचारिक शिक्षाको प्रमाणपत्र नै चाहिन्छ?
पेशागत अनुभवको आधारमा मलाई के लाग्छ भने प्रमाणपत्र मात्र मूल्याङ्कनको आधार हुनु हुँदैन किनभने राम्रो प्रमाणपत्रधारी पनि कतिपय व्यावहारिक पक्षमा अनभिज्ञ हुन्छन्।
पेशागत अनुभवको आधारमा मलाई के लाग्छ भने प्रमाणपत्र मात्र मूल्याङ्कनको आधार हुनु हुँदैन किनभने राम्रो प्रमाणपत्रधारी पनि कतिपय व्यावहारिक पक्षमा अनभिज्ञ हुन्छन्। तसर्थ, मेरो विचारमा जबसम्म यो पाटोलाई राम्रोसम्म सोचिन्न, मेरो अघिल्लो तर्क आधारहीन बन्न पुग्छ। त्यसो हो भने भोलिका दिनमा घरै बस्नुपर्ने स्थिति आयो भने हाम्रा बालबालिका बेराेजगार नै हुने भए। यसतर्फ हामीले समीक्षा गर्नुपर्छ।
त्यस्तै, उच्च शिक्षाबारे पनि चर्चा गरौं। करीब एक वर्ष शिक्षण संस्था बन्द हुँदा विद्यार्थीले आफ्ना सामाजिक र वातावरणीय पक्षमा अध्ययन अनुसन्धान गर्नुपर्ने धेरै प्रश्न उठे पनि एकाध बाहेक धेरैले यो समयलाई रचनात्मक बनाउन सकेनन्। उदाहरणका लागि, बन्दाबन्दीका कारण जीवविज्ञानका विद्यार्थीलाई प्रयोगशालामा पहुँच नहुँदा आफ्नो विधाको आधारभूत ज्ञान जनसाधारणले बुझ्ने भाषामा लेख्ने अवसर हुन सक्थ्यो र कतिपय गलत सूचनालाई पनि निराकरण गर्ने मौका हुन्थ्यो। तर, त्यस्तो हुन सकेन।
त्यस्तै, गणित र तथ्याङ्कका विद्यार्थीलाई त सङ्क्रमण दरको हिसाबकिताब आफैंमा एउटा रोचक विषय हुन्थ्यो भने अर्थशास्त्रका विद्यार्थीलाई कोभिड-१९ को प्रभाव राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहमा तथा आफ्नै गाउँठाउँमा कसरी परेको छ सो बुझ्ने अवसर हुन्थ्यो। हाम्रो ग्रामीण अर्थतन्त्रमा कोभिड-१९ लक्षित राहत कार्यक्रम नआएमा समुदाय स्तरमा रहेको आर्थिक संरचनाले कस्तो योगदान दिन सक्छ भन्ने खोजबिन गर्न सकिन्थ्यो।
साथै, यातायात र पारवहन ठप्प भएका वेला स्थानीय अर्थतन्त्र बुझ्ने अवसर हुन सक्थ्यो भने समाजशास्त्रका अध्येताहरूले त झन् हाम्रा समाजका धेरै पाटा कोभिड-१९ ले उजागर गरिदिंदा आफ्नै समाजको थिति वा बेथिति केलाउने मौका हुन सक्थ्यो।
तत्कालीन विषम परिस्थितिमा मागलाई पूर्ति गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रविधिको प्रयोग गरेर स्थानीय आवश्यकता त पूरा गरेकै हो। यस काममा सम्बन्धित विधाका विद्यार्थीले गरेको हातेमालो सराहनीय छ। यदि हाम्रो प्राविधिक शिक्षा पद्धति वैकल्पिक र प्रयोगात्मक धारमा अघि बढेको थियो भने विषम परिस्थितिमा आविष्कार केन्द्रको योगदान अझ धरै ठूलो हुने थियो।
नेपालमा विद्यमान शिक्षा पद्धतिमा प्रारम्भिकदेखि उच्च शिक्षासम्म नै हाम्रो परिवेश र आवश्यकता हेर्दै विश्वका अरू कुनामा पनि प्रयोग हुन सक्ने शिक्षाका सामग्री र पद्धति विकास गर्नुपर्ने देखिन्छ।
हुन त म नेपाल बाहिर प्राध्यापन कर्ममा आबद्ध छु। त्यो परिवेशमा नेपालमै बसे पनि मैले मेरा विद्यार्थीसँग गर्नुपर्ने छलफल तथा विचार आदानप्रदान भने गरिरहें। उनीहरूले घर वरिपरिकै परिवेशमा विषयको अध्ययन जारी राखे।
नेपालमा विद्यमान शिक्षा पद्धतिमा प्रारम्भिकदेखि उच्च शिक्षासम्म नै हाम्रो परिवेश र आवश्यकता हेर्दै विश्वका अरू कुनामा पनि प्रयोग हुन सक्ने शिक्षाका सामग्री र पद्धति विकास गर्नुपर्ने देखिन्छ।
तर, विश्वस्तरमा प्रतिस्पर्धी बनाउँदै गर्दा स्थानीय परिवेशलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। त्यसको लागि पनि शिक्षा पद्धति परिमार्जन हुनैपर्छ। हाल शिक्षा क्षेत्रमा भइरहेका बहस, नवीनतम प्रयोगका झिल्का र पछिल्लो शिक्षा नीतिको प्रसङ्गमा आगामी दिन सकारात्मक होलान् भनेर आशा गर्ने ठाउँ भने छ।
अबको समयमा हाम्रा विश्वविद्यालयमा पढ्ने विद्यार्थी विधागत ज्ञानमा मात्रै सीमित रहनु हुँदैन, सामाजिक, राजनीतिक, दर्शनशास्त्र, अर्थशास्त्र, प्रविधि, विकास, साझेदारी, सञ्चार, ऐतिहासिक र सांस्कृतिक परिवेश सबै क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गरून्। यसका लागि जग चाहिं घरपरिवार र प्रारम्भिक शिक्षामै बसाल्नुपर्ने हुन्छ।
अवलोकन गर्ने, प्रश्न गर्ने, ज्ञानलाई आफ्नो सन्दर्भमा जोड्ने, प्रयोग गर्ने, परीक्षण र परिमार्जन गर्ने सिकाइ संस्कार शुरूआती चरणदेखि नै थाल्न जरुरी छ। यसो हुँदा महामारी लगायत कठिन समयमा पनि सिक्ने सिकाउने क्रम रोकिंदैन।
(चापागाईं भारतको अहमदावाद विश्वविद्यालयमा प्राध्यापनरत छन्।)