यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची
राष्ट्रिपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद्को दशौं अर्थात हिउँदे अधिवेशन मंगलबार प्रारम्भ हुँदै छ।
सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले मंगलबार दिउसो २ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्। संसद् सचिवालयले प्रतिनिधि सभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नेछन्।
यससँगै सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले तीन वटा अध्यादेश पेश गर्ने जनाइएको छ। जसमा नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ अध्यादेश र सामाजिक सुरक्षा अध्यादेश रहेका छन्।
त्यस्तै, भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।
मगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।