भोट हालेपछि निधिले भने- पहिलो चरणमै सभापति निर्वाचित हुने सम्भावना कम छ
नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पहिलो चरणमै सभापति निर्वाचित हुने सम्भावना कम रहेको बताएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा भोट हालेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निधिले सभापतिको प्रतिस्पर्धा दोस्रो चरणमा पुग्नसक्ने बताए। “पहिलो चरणमै सभापति निर्वाचित हुने सम्भावना कम देख्छु,” निधिले भने।
कांग्रेस विधानअनुसार, सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्छ। कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ।
नेता निधिले आफू सभापतिमा निर्वाचित हुनेमा विश्वस्त रहेको बताए। “म सभापतिमा निर्वाचित हुन्छु,” निधिले भने, “पहिलो चरणको नतिजा आएपछि दोस्रो चरणको रणनीति बनाउँछु।”
कांग्रेस सभापतिका लागि निधिसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रत्यासी रहेका छन्।
कांग्रेसको १३४ सस्यीय केन्द्रीय समितिमध्ये १३२ पदका लागि निर्वाचन भइरहेको छ। यसमा ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्।