सभापतिका तीन उम्मेदवारले गरे मतदान
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका तीन जना उम्मेदवारले मतदान गरेका छन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन्। तीनै जनाले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा मत दिएका छन्।।
सभापतिका प्रत्यासी विमलेन्द्र निधि र कल्याण गुरुङले मतदान गर्न बाँकी छ। उनीहरू मतदानस्थलमै मतदातासँग मत मागिररहेका छन्।
त्यस्तै, उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरू रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले पनि मतदान गरेका छन्। कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेसँगै मतदान प्रारम्भ भएको थियो।
भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहमा एउटा मतदान केन्द्र राखिएको छ। भृकुटीमण्डपका दुई स्थानमा ३ हजार ४ सय र राष्ट्रिय सभागृहमा १ हजार ३ सय मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लाग्ने गरेको छ।
बिहान ११ बजेदेखि मतदात शुरू भएको हो। कांग्रेसको केन्द्रीय कार्यसमितिका १३२ पदमा ४८७ उम्मेदवार रहेका छन्। महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन्।