कुलबहादुर गुरुङले गरे मतदानको शुरूआत
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तीन घण्टा ढिलो गरी मतदान शुरू भएको छ।
कांग्रेस नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्दै शुरूआत गरेका छन्। ८६ वर्षीय गुरुङले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।
कांग्रेस नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको थियो। प्राविधिक कारणले ढिलो भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश २ तर्फका २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् भने केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।