पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले २६ मंसीरमा दुल्लू नगरपालिका-६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका-६ का मुक्ति भनिने बमबहादुर खड्कालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले पत्रकार थापाको हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए। प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २० पुस, २०६९ मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तीमध्ये अरुण भनिने बमबहादुर खड्का, केशव खड्का, मुक्ति भनिने बमबहादुर खड्का र भक्तिराम लामिछाने फरार रहेका थिए।
कैलाली प्रहरीले दुई वर्षअघि अरुणलाई पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएपछि आठ वर्षदेखि मुल्तबीमा रहेको यो मुद्दा किनारा लागेको हो। कसुरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेल तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए।
तत्कालीन माओवादी कार्यकर्ताले रेडियो नेपालका स्थानीय संवाददाता थापालाई २७ साउन, २०६१ मा दैलेखको उत्तर पूर्वी क्षेत्र नौमूलेको द्वारीमा कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि शव लुकाइएको थियो।
शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासंघ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा थापाको कङ्काल उत्खनन गरी डीएनए परीक्षण गरिएको थियो। त्यसपछि डेकेन्द्रकी श्रीमती लक्ष्मी थापाले ६ भदौ, २०६५ मा जिल्ला प्रहरी कार्याल दैलेखमा किटानी जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो। जिल्ला अदालतले २१ मंसीर, २०७१ मा हत्यामा संलग्न नौमध्ये निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्ष्मीराम घर्तीमगर र वीरबहादुर केसीलाई कैद सजाय सुनाइएको थियो। फरार रहेका चार जनाको हकमा यो मुद्दा मुल्तबी राखिएको थियो। (रासस)