कांग्रेस केन्द्रीय सदस्यमा आधा दर्जन व्यवसायी प्रतिस्पर्धामा
व्यापारबाट मनग्य धन कमाएका व्यवसायीहरू राजनीतिक महत्वाकांक्षा पालेर नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न आरक्षणको टेको समाइरहेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ पदाधिकारी चयनका लागि सोमबार (२७ मंसीर) मा निर्वाचन हुँदैछ।
सभापति सहित १३४ पदका लागि हुन लागेको निर्वाचनमा व्यावसायिक पृष्ठभूमिका एक दर्जन जति उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसमध्ये सबैभन्दा चर्चामा अर्बपति व्यवसायी विनोद चौधरी छन्। केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका धनकुवेर चौधरीले आफ्नो राजनीतिक महत्वकांक्षाको उडानका लागि आरक्षणको टेको समात्न खोजेका छन्, जसले उनलाई विवादित बनाएको छ।
चौधरीले सीमान्तकृत मधेशीका लागि छुट्याइएको आरक्षित कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद बन्दा पनि मधेशी कोटामा पद सुरक्षित गरेका थिए।
चौधरीको मधेशी साइनो विवादित छ। करीब डेढ सय वर्षअघि भारतको राजस्थानबाट व्यापारका लागि नेपाल आएका भूरामल चौधरीका तेस्रो पुस्ता हुन्, विनोद चौधरी।
काँधमा कपडा बोकेर व्यापार थालेका भूरामल चौधरीको व्यापारलाई उनका छोरा लुनकरणदास चौधरीले कपडा पसलका रुपमा विस्तार गरे। लुनकरण दासका छोरा विनोद र उनका भाइहरू वसन्त र अरुणले त्यसलाई अनेकौं क्षेत्रमा विस्तार गरेका छन्।
विनोदले त आफ्नो व्यवसायको साम्राज्यलाई एशिया, अमेरिका र युरोपसम्म पुर्याए। फोर्ब्सको अर्बपतिको सूचीमा सामेल एक मात्र नेपाली व्यवसायी हुन् उनी।
व्यवसायमा ठूलो सफलता हात पारेका विनोद चौधरीको राजनीतिक महत्वकांक्षाले पछिल्ला वर्षहरूमा उडान भरिरहेको छ। उनी २०६४ सालमा नेकपा (एमाले)को तर्फबाट संविधान सभा सदस्य बनेका थिए।
चौधरीले सीमान्तकृत मधेशीका लागि छुट्याइएको आरक्षित कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद बन्दा पनि मधेशी कोटामा पद सुरक्षित गरेका थिए।
एमाले नेता भरतमोहन अधिकारीसँगको सामिप्यताको टेको समातेर वामपन्थी दलमार्फत अघि बढाउन खोजेको राजनीतिक यात्रा सहज नहुने देखेपछि अर्बपति व्यवसायी चौधरीले २०७४ सालसम्म आइपुग्दा आफ्नो राजनीतिक धार परिवर्तन गरी कांग्रेस रोजे। तर, असन, इन्द्रचोकको चौघेरोमा व्यवसाय गर्ने परिवारमा जन्मिएका प्रभावशाली विनोदले सीमान्तकृत मधेशीका लागि छुट्याइएको कोटामा भाग खोजेका छन्।
कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अर्का व्यवसायी हुन्, उमेश श्रेष्ठ। अर्बपति श्रेष्ठले जनजातीतर्फको आरक्षित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्।
त्यसैगरी, निर्माण व्यवसायको पृष्ठभूमि भएका जिपछिरिङ लामा पनि कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन्। लामाले खुला केन्द्रीय सदस्यतर्फ प्रतिस्पर्धा गर्न लागेका हुन्।
व्यावसायिक पृष्ठभूमिका राजेन्द्र बजगाई पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका छन्। उनको पर्यटन क्षेत्रमा लगानी छ।
रसुवाका निर्माण व्यवसायी मोहन आचार्य पनि कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने प्रयत्नमा छन्। उनी सक्रिय राजनीतिमा आएको लामो समय भएको छैन। २०७४ सालको आम निर्वाचनमा नयाँ शक्ति पार्टीसँग तालमेल गरेको नेपाली कांग्रेसले रसुवामा नयाँ शक्ति पार्टीका उम्मेदवारलाई सघाउने तय गरेको थियो। तर, नयाँ शक्तिका तर्फबाट टिकट पाएका प्रेम तामाङलाई मनाएर, कांग्रेस सभापति शेरबहादुर देउवालाई खुशी बनाएपछि नाटकीय रुपमा उक्त टिकट आचार्यले हत्याएका थिए। धनकुवेर आचार्यले निर्वाचन पनि जिते। उनको राजनीतिक महत्वकांक्षा बढेर केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन्। त्यसैगरी, नुवाकोटका निर्माण व्यवसायी बहादुरसिंह लामा पनि जनजाती समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार छन् । उनी 'क' वर्गका निर्माण व्यवसायी हुन् ।
कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरिरहेका अर्का विवादास्पद व्यवसायी हुन्, वीरेन्द्रकुमार कनौडिया। महालक्ष्मी सुगर मिलका लागि किसानबाट उखु लिएर लामो समय रकम भुक्तानी नगरेको आरोप उनलाई लाग्दै आएको छ। उनीविरुद्ध गत वर्ष पुसमा पनि किसानले आन्दोलन नै गरेका थिए। व्यवसायी अम्बिका शर्मा लामिछाने पनि महिला खुला तर्फबाट कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा छिन्।