राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाउन थालेसँगै कर्णालीबासीको सपना पूरा भएको बताएकी छन्।
आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइको शुभारम्भ गर्ने क्रममा उनले यहाँका विद्यार्थीले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्दै गरेको प्रयास सार्थक भएको बताएकी हुन्।
"प्रतिष्ठानले दुर्गम क्षेत्रमा पुर्याएको गुणस्तरिय स्वास्थ्य सेवाले यहाँका बिरामीहरूमा परिवर्तन समेत ल्याएको छ" राष्ट्रपति भण्डारीले भनिन्।
आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएस लगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ शुरू भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
प्रतिष्ठानमा अहिले १९ जना विद्यार्थी पुगिसकेको र एक जना आउने क्रममा रहेको उपकुलपति डा. रावलको भनाइ छ। उनले भने, "अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रम सञ्चान र पीएचडी तहका कार्यक्रम पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित भएको छ।"
उद्घाटन समारोहमा कर्णाली प्रदेश प्रमुख तिलक रावल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी, पूर्व पदाधिकारीका तर्फबाट श्याम लम्साल लगायतले नयाँ शैक्षिक कार्यक्रम शुरू गर्न सफल भएको भन्दै शुभकामना मन्तव्य दिए।
यसैबीच राष्ट्रपति भण्डारीले ७६ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेकाे चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेकी छन्।
२०६८ सालमा प्रतिष्ठान स्थापना भएपछि २३ कात्तिक २०६९ देखि एक जना विशेषज्ञ सहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो। स्थापनाको ठीक दश वर्षपछि प्रतिष्ठानले एमबीबीएस लगायतकाे पढाइ शुरू गरेको हो।