सभापतिमा ५ र महामन्त्रीमा ६ नेताबीच चुनावी प्रतिस्पर्धा
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि ५ र महामन्त्री पदका लागि ६ जना नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार जारी गरेको उम्मेदावरको अन्तिम नामावलीमा कांग्रेस सभापतिका लागि पाँच जना उम्मेदवार रहेको उल्लेख छ। सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानले उम्मेदवारी फिर्ता लिएका हुन्।
अब कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य कल्याण गुरुङबीच चुनावी प्रतिस्पर्धा हुनेछ। सभापतिमा निर्वाचित हुनका लागि सोमबार हुने मतदानमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्नेछ।
यदि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ। सबैभन्दा बढी मत प्राप्त गरेका दुई उम्मेदवार दोस्रो चरणमा भिड्नेछन्।
कांग्रेस सभापति देउवा र डा. कोइरालाले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्ने दाबी गरेका छन्। अर्का उम्मेदवार निधिले भने पहिलो चरणमा कसैको मत नपुग्ने र दोस्रो चरणमा हुने प्रतिस्पर्धामा डा. कोइरालालाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका ६ जना नेताबीचै नै प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीका दुई पदमा विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, गगन थापा, प्रकाशशरण महत, प्रदीप पौडेल र राजाराम कार्की भिडेका छन्। देउवाको टिमबाट महत र पौडेल, डा. कोइरालाको टिमबाट रिजाल र थापा तथा सिंहको टिमबाट शर्मा र कार्की महामन्त्रीमा प्रतिस्पर्धामा छन्।
त्यस्तै, उपसभापतिको दुई पदमा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छादार र सुजाता कोइराला उम्मेदवार छन्।
कांग्रेसमा आठ वटा सहमहामन्त्रीका लागि चुनाव हुन लागेको छ। जसमा महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, आदिवासी जनजातीतर्फ विकास लामा र भीष्म आङ्देम्बे, खस आर्यतर्फ किशोर राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ परमुल्लाह मंसुर र शेख वकिल, थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पीछडिएको क्षेत्रतर्फ चेतराज बजाज, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार छन्।
कांग्रेसका उम्मेदवारको अन्तिम नामावली: