सभापतिमा शेखर कोइरालालाई शशांकको समर्थन!
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन जनाएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री डा. शशांकले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। उनी पनि सभापतिको उम्मेदवारका आकांक्षी थिए। संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गर्न उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका थिए।
तर, साझा उम्मेदवार चयन हुन नसकेपछि वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गरेका थिए। त्यसपछि संस्थापन इतर समूहबाट डा.शेखर र प्रकशमान सिंहले उम्मेदवार बनेका छन्।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि डा. शशांकले सभापतिमा डा.शेखरलाई समर्थन जनाएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीले हिमालखबरसँग भने, “डा. शशांक कोइरालाले सभापतिमा डा. शेखर कोइरालालाई समर्थन जनाउनु भएको छ।”
यसबारे जानकारी दिन दुवै जनाले पत्रकार सम्मेलन गर्न लागेका छन्। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केहीबेरमा पत्रकार सम्मेलन गर्न लागेको सभापतिका उम्मेदवार डा. शेखरका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।