महाधिवेशनस्थलमा महेश आचार्यको चिठ्ठी- प्रिय साथी, विचार रोज्ने कि गुट रोज्ने?
नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा महेश आचार्यको हस्तलिखित चिठ्ठीले चर्चा पाएको छ।
नेता आचार्यले कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन्। कुनै समूहमा नलागेर एक्लै उम्मेदवारी दिएका आचार्यले महाधिवेशन प्रतिनिधिलाई हस्तलिखित चिठ्ठी पठाएका छन्।
कांग्रेसका ५४८ उम्मेदवारका थरीथरी प्रचारबीच आचार्यको एउटै हस्तालिखित चिठ्ठी भने चर्चित बनेको छ। आचार्यको ‘प्रिय साथी, महाधिवेशनको हार्दिक शुभकामना’ भनेर शुरू गरिएको सानो चिठ्ठीमा प्रश्न गरिएको छ, “मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने? तपाईको विवेकले उचित निर्णय गर्नेछ!”
उनले कांग्रेसभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन दिन उपसभापतिमा उम्मेदवारी दिएको जनाएका छन्। “गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लाग हो। निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो,” आचार्यले भनेका छन्।
उनले कांग्रेस र देशलाई संकटबाट जोगाउनका लागि उम्मेदवारी दिएको बताएका छन्। “देश यति वेला गम्भीर संटकमा छ,” आचार्यले भनेका छन्, “मेरो उम्मेदवारी यो संकटबाट पार्टी र देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रित छ।”