यी हुन् देउवा टिमका १२ उम्मेदवार
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिम सहित उम्मेदवारी दिएका छन्।
शुक्रबार साँझ देउवाले फेरि सभापति पदका लागि उम्मेदवारी दिएका हुन्। उनले उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्कालाई चुनेका छन्। यसअघि पनि गच्छादार कांग्रेस उपसभापति थिए भने खड्का महामन्त्री थिए। उनलाई देउवाले भने महामन्त्रीमा मनोनयन गरेका थिए। कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ।
त्यस्तै, देउवा टिमबाट प्रकाशशरण महत र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। यसअघि महत सहमहामन्त्री थिए। पौडेल भने केन्द्रीय सदस्यबाट महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट देउवाको टिममा परेका हुन्।
१३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका सिटौलाले यस पटक देउवालाई समर्थन गरेका छन्। यसअघि एक जना निर्वाचित र एक जना सभापतिले मनोनयन गर्ने व्यवस्था भए पनि यस पटक भने दुवै महामन्त्री निर्वाचित हुनेछन्।
त्यस्तै, देउवा टिमबाट सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातीतर्फ भीष्मराज आङ्दाम्बे (पाँचथर), दलितर्फ मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फ महेन्द्र यादव (धनुषा), खस आर्यतर्फ किशोरसिंह राठोर (बर्दिया), थारुतर्फ उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फ फ
र्मुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) उम्मेदवार बनेका छन्। कांग्रेसमा आठ वटा सहमहामन्त्री रहने व्यवस्था छ।
त्यस्तै, डा. शेखर कोइरालाले पनि टिम बनाएर सभापतिमा उम्मेदवारी दिएका छन्। त्यस्तै, सभापतिमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्।
सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन्। देउवाको टिममा नअटाएपछि शर्माले सिंहको टिमबाट उम्मेदवारी दिएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सभापतिमा प्रतिस्पर्धा नगर्ने निधो गरे। उनले शुक्रबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी प्रतिस्पर्धाबाट पछाडि हटेको बताए।
निर्वाचन समितिका अनुसार एक सभापतिमा ६ जना, दुई उपसभापतिमा ६ जना र दुई महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, आठ सहमहामन्त्रीका लागि २० जना उम्मेदवार बनेका छन्।
यसैगरी, १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ। सबै गरेर सभापतिसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ५४८ जनाको उम्मेदवारी परेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २६ मंसीरसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि २७ मंसीर बिहान ८ बजेदेखि मतदान हुनेछ।