गुट फेरेर महामन्त्रीको उम्मेदवार बने युवा नेता
नेपाली कांग्रेसको महामन्त्रीमा ६ जना युवा नेताले उम्मेदवारी दिएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, गगनकुमार थापा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका हुन्। शर्मा र कार्कीले प्रकाशमान सिंहको टिमबाट, रिजाल र थापाले शेखर कोइरालाको टिमबाट तथा महत र पौडेलले शेरबहादुर देउवाको टिमबाट उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई जना महामन्त्री रहने व्यवस्था छ। दुई पदका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका हुन्।
यसअघि एउटा समूहमा रहेका युवा नेताहरू उम्मेदवारी दिँदा भने फरक समूहमा पुगेका छन्। देउवा समूहमा रहेका कांग्रेस प्रवक्ता शर्मा महामन्त्रीको सूचीमा नपरेपछि सिंहको समूहमा पुगेका हुन्।
त्यस्तै, अघिल्लो अधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापा यस पटक डा.कोइरालाको समूहमा पुगेका छन्।
सिटौलाको समूहमा रहेका युवा नेता पौडेल यसपटक देउवा समूहबाट उम्मेदवारी दिन पुगेका छन्। सिटौलाले पनि देउवालाई नै समर्थन गरेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म उम्मेदवारी फिर्ता लिने समय दिइको छ। त्यसपछि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ।