मुस्ताङमा पर्वतीय वकालत सम्मेलन हुने
पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मुस्ताङमा ‘माउन्टेन एड्भोकेशी समिट’ (पर्वतीय वकालत सम्मेलन) आयोजना हुने भएको छ।
द माउन्टेन फाउन्डेसन नेपाल, खाद्य सुरक्षा तथा जलवायु न्यायको लागि अन्तर्राष्ट्रिय मञ्च, नेपाली सिभिल सोसाइटी माउन्टेन इनिसियटिभ र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले सम्मेलन आयोजना गर्न लागेका हुन्।
आगामी २९ र ३० फागुनमा आयोजना हुने सम्मेलनमा जलवायु परिवर्ततका कारण बढ्दै गएको तापक्रम र यसले पर्वतीय क्षेत्रमा परेको प्रत्यक्ष असर र प्रभाव तथा तटीय क्षेत्रबीचको सम्बन्धबारे छलफल हुने किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्दबहादुर शाहीले बताए। उनका अनुसार सम्मेलनमा जलवायु, जैविक विविधताका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अभियान्ता, सरकारी निकायका पदाधिकारी लगायतको सहभागिता रहनेछ।
किर्डाक नेपालले सन २००३ देखि पर्वतीय क्षेत्रको समस्यालाई लिएर सम्मेलनको आयोजना गर्दै आएको छ। यसअघि जुम्ला र रारामा यस्तै सम्मेलनको आयोजना गरिएको थियो।
विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालको हिमाली क्षेत्र बढी प्रभावित भएको छ। हिमालय क्षेत्रमा अस्वभाविक वर्षा, हिमपहिरोका घटना वृद्धि भएका छन्। जसका कारण पर्वतीय क्षेत्रका बासिन्दाको जीविकोपार्जन, जैविक विविधता लगायतका क्षेत्रमा असर परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको हिमाली क्षेत्रमा प्रतिवर्ष ०.०८ डिग्रि सेल्सियसले तापक्रम वृद्धि भइरहेको छ। जसका कारण हिमतालको क्षेत्र विस्तार तथा विस्फोटको खतरा समेत बढ्दै गएको छ।
जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्र प्रभावित भए पनि यो मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउन सकेको छैन। नेपालले हिमाली क्षेत्रको मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा उठाइने बताउँदै आए पनि अहिलेसम्म यो मुद्दा ओझेलमा परेको छ।
पछिल्ला वर्षमा उच्च हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पामा बाढी र पहिरोका घटना बढेका छन्। यसै वर्ष मनाङ, मुस्ताङ तथा सिन्धुपाल्चोकमा भएका बाढी, पहिरो तथा हिमपहिरोका घटना त्यसका उदाहरण हुन्।