यस्तो छ कांग्रेस महाधिवेशनस्थलको दृश्य
नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा उम्मेदवारी दर्तासँगै मतदानका लागि तयारी पनि जोडतोडले चलिरहेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। अहिलेसम्म सभापतिमा कल्याण गुरुङ, उपसभापतिमा मानबहादुर विश्वकर्मा, महेश आचार्य लगायतले उम्मेदवारी दिइसकेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने घोषणा गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, सभापतिका उम्मेदवारमा दाबी गरिरहेका प्रकाशमान सिंह, डा. शेखर कोइराला र विमिलेन्द्र निधि आ-आफ्नो टिम बनाउने अन्तिम गृहकार्यमा लागेका छन्।
कांग्रेस केन्द्रीय सदस्यका लागि भने नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। उम्मेदवारी दर्ता गर्न आउने महाधिवेशन प्रतिनिधिसँगै कांग्रेस नेता तथा कार्यकर्ताले भृकुटीमण्डप र राष्ट्रिय सभागृह भरिएको छ।
यससँगै निर्वाचन समितिले २७ मंसीरमा हुने मतदानका लागि तयारी गरिरहेको छ। पानी ट्यांकीलाई मतपेटिका रुपमा प्रयोग गरिने भएको छ।