काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोह २९ मंसीरमा हुने भएको छ।
२४ मंसीरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वविद्यालयले दीक्षान्त समारोह धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा हुने जानकारी गराएको हो।
प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा. पङ्कज मित्तल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा लगायते समारोहमा आ–आफ्नो भनाइ राख्नेछन्।
कार्यक्रममा आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज् र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४४९ जना विद्यार्थी दीक्षित हुनेछन्।
दीक्षित हुने विद्यार्थीमा पुरुषको संख्या ४८.४५ र महिलाको ५१.५५ प्रतिशत रहेको विश्वविद्यालयले जनाएको छ। समारोहमा बाङ्लादेश, बेनिन, नेदरल्यान्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुस गरी ८ देशका १२३ जना पनि दीक्षित हुनेछन्।