दुई साताभित्र थप ६ लाख फाइजर खोप आउँदै
नेपालले दुई साताभित्र थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार कोभ्याक्स सुविधा अन्तगर्त आगामी ९ पुसमा फाइजर खोप आउने भएको हो। कोभ्याक्स सुविधा अन्तगर्त २४ डिसेम्बरका दिन फाइजरको दोस्रो लट खोप आउने तय भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए।
यसअघि कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६२० डोज फाइजर खोप ८ कात्तिकमा आएको थियो। नेपाल पठाएको थियो।
यसअघि आएको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो। अब आउने खोप त्यहि जिल्लाका बाँकी बालबालिकालाई लगाइने विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आगामी ४ पुसबाट ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिने तय गरिसकेको छ। यसैका लागि आइतबारसम्म करीब ३४ लाख डोज खोप भित्रिदै छ भने यसअघि नै १७ मंसीरमा १ लाख ८८ हजार डोज मोडर्ना खोप आइसकेको छ।