सगरमाथाको सट्टा नौबन्धन?
महाभारतमा चर्चा गरिएको समुद्र भनेको पूर्वसागर अर्थात् बङ्गालको खाडी हो र त्यहाँको हिमालयको चुचुरो भनेको पूर्वसागरसँग सम्बद्ध हिमचुली हो भन्ने स्पष्ट भए पनि अहिले ‘सगरमाथा’ भनी प्रसिद्ध हिमचुली नै ‘नौबन्धन’ हो भनी पत्याउने स्थितिमा हामी छैनौं।
हाम्रो देशको नाउँको पर्याय जस्तै भएको हिमालयको चर्चा प्राचीनतम ग्रन्थ वेदमै पाइन्छ। तर, मैले पढेका संस्कृतका काव्यमध्ये हिमालयको विषयमा बढी कुरा कालिदासको कुमारसम्भव र भारविको किरातार्जुनीयमा छ। नयराज पन्त (विसं १९७०-२०५९) ले लेखे जस्तै, ‘कालिदासले कुमारसम्भवको प्रथम सर्गमा हिमालयको वर्णन गरेका छन्।
भारविले पनि किरातार्जुनीयको पञ्चम सर्गमा हिमालको वर्णन गरेका छन्। कालिदासको वर्णन स्वभावोक्तितिर र भारविको वर्णन कल्पनातिर ढल्केको छ’ (हाम्रो उद्देश्य र कार्यप्रणाली, काठमाडौं:
खिलशर्म-राजीवलोचन जोशी स्मारक-प्रतिष्ठान, २०५९, २३ पृ.)।
हुन पनि कुमारसम्भवमा किरात जाति (६, १५ श्लोक), भोजपत्र (७ श्लोक), सल्लोको रूख (९ श्लोक), चौंरी गाई (१३ श्लोक), भागीरथी अर्थात् गङ्गा नदी र दियालो (१५ श्लोक)को चर्चा जस्ता कुराले स्वभावोक्तितिर उन्मुख गराउँछन्। उता किरातार्जुनीयमा त्यस्तो स्वभावोक्ति पाइँदैन।
भारतमा अङ्ग्रेजी शासन आएपछि समग्र भारतवर्षका सबै विषयको खोजी गर्ने पद्धति बस्दा हिमालयको पनि विविध दृष्टिले परिशीलन हुन थाल्यो। यसै क्रममा हिमालयका जति चुचुरा छन्, तिनलाई नम्बर दिई तिनको उचाइ नाप्न थालियो। नाप्दै जाँदा नेपालको पूर्वोत्तर भागमा रहेको, १५ नम्बरको चुचुरो भनी चिनाउने गरिएको एउटा हिमचुली विसं १९०९ मा संसारका पहाडमध्ये सबभन्दा अग्लो हो भन्ने निर्णय भयो।
त्यस शिखरको नाउँ के राख्ने भन्ने छलफल हुँदा रोयल जियोग्राफिकल सोसाइटी भारतका सर्भेयर-जनरल जर्ज एभरेस्ट (विसं १८४७-१९२३) को अवदानको सम्मान गर्दै बहालवाला सर्भेयर-जनरल एन्ड्र्यु स्कट वाघ (विसं १८६६-१९३४)ले ‘माउन्ट एभरेस्ट’ राख्ने प्रस्ताव रोयल जियोग्राफिकल सोसाइटीमा पठाए।
नेपालको पुराविद्या मात्र होइन, प्राकृतिक विज्ञानलाई पनि नेपालसँग जोडी नेपाल सम्बन्धी विभिन्न विषयको अन्वेषणका पथिकृत् ब्रायन हटन हज्सन (विसं १८५८-१९५१)ले हिमालयका मुख्य मुख्य सात चुचुराको नाउँ दिँदा सबभन्दा अग्लो चुचुरोको नाउँ ‘देवढुङ्गा’ हो भनी विसं १९०६ मा लेखिसकेका थिए (अन् द फिजिकल् जिअग्रफि अफ् द हिमालय, जर्नल् अफ् द बेन्गल् एशियाटिक् सोसाइटि, १८ ठेली, सन् १८४९ = एसेज् अन् द ल्याङ्ग्विजिज्, लिटरेचर्, यान्ड् रिलिज्न् अफ् नेपाल् यान्ड् टिबेट्, टुगेदर् विद् फर्दर् पेपर्ज् अन् द ज्योग्राफि, एथ्नोलजि यान्ड् कमर्स् अफ् दोज् कन्ट्रिज्, २ ठेली, लन्डनः ट्रब्नर यान्ड कम्पनि, सन् १८७४, २७ पृ.)।
त्यस चुचुरोको स्थानीय नाउँ हुँदाहुँदै ‘माउन्ट एभरेस्ट’ राख्नु ठीक छैन भनी हज्सनले विरोध गरे। तर, सन् १८५७ मे ११ (विसं १९१४ वैशाख ३१) मा त्यस सोसाइटीमा बहस हुँदा ‘माउन्ट एभरेस्ट’ नै नाउँ राख्ने निर्णय गरियो (चित्तरञ्जन नेपाली, केही ऐतिहासिक निबन्धहरू, काठमाडौंः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०६०, ८८-८९ पृ.)।
एभरेस्ट होइन सगरमाथा
नेपालपट्टि यस पर्वतशिखरको नाउँ के थियो भन्ने थाहा नभए पनि भोटपट्टि त्यसलाई झ्यामोलोङ्मा भनिने गरेको प्रचारमा आएको थियो। आफ्नो सरहदभित्र पर्ने गिरिशिखरको नाउँ तिब्बती भाषामा भए पनि आफ्नो भाषामा नभेट्टाइएकाले इतिहासरसिक खरीदार बाबुराम आचार्य (विसं १९४४-२०२९) यसको खोजीमा उद्यत भए। परिणामस्वरूप उनले १९९५ कात्तिकमा काठमाडौंबाट छापिने शारदा मासिक पत्रिकामा ‘सगरमाथा या झ्यामोलोङ्मा’ भन्ने शीर्षकमा लेख छपाए।
त्यो लेख किन लेखियो र त्यसको असर उनको व्यक्तिगत जीवनमा कस्तो पर्यो भन्ने कुराको वर्णन उनले पछि यसरी गरेका छन्– ‘देहरादूनको सर्भे अफ इण्डिया आफिसबाट प्रकाशित गरेको नेपालको पहिलो मानचित्रमा हिमालयको सर्वोच्च शिखरको नाम ‘एभरेष्ट’ देखेर दिल दुखेको थियो। त्यस मानचित्रको दोस्रो आवृत्तिमा एभरेष्टकासाथ तिब्बती नाम चमोलोङ्मा पनि देखियो, तर नेपाली नाम नदेखिंदा मानचित्र त्रुटीपूर्ण देखियो र त्यो त्रुटी पूरा गर्नभनेर शारदामा सगरमाथा या झ्यामोलोङ्मा शीर्षक लेख प्रकाशित गर्दा अंग्रेजको अपमान गरेको दोष लगाइयो र झण्डैझण्डै पदच्युत हुनुपरेको थियो’ (नेपालको संक्षिप्त वृत्तान्त, काठमाडौंः प्रमोद शम्शेर र नीरबिक्रम “प्यासी”, २०२२, प्रस्तावना, ४ पृ.)।
सरकारले आचार्यलाई निरुत्साह पारे पनि त्यस लेखले स्वदेशमा राम्रै चर्चा पायो। आफ्नो देशभित्र पर्ने, संसारको सबभन्दा अग्लो चुचुरोको नाउँ सगरमाथा भनी पत्ता लगाई लेखिएको त्यो निबन्ध पछि एसएलसीको पाठ्यपुस्तक नेपाली-गद्य-संग्रह पहिलो भागमा गाभियो। हजारौं हजार विद्यार्थीले अनिवार्य रूपले पढ्नुपरेकाले आचार्यको ख्याति त्यही एउटा लेखले मात्र पनि चुलियो। ‘किराँत प्रदेशका जुन जुन ठाउँबाट यो चुली देखिन्छ उस उस ठाउँका बासिन्दाका मुखमा मात्र परम्पराबाट अरू सामान्य वस्तुको नाउँ सरह सगरमाथा भन्ने नाउँ चलिरहेको देखिन्छ। ...सगरमाथाको शब्द भने किराँत–प्रदेशमा मात्र अलमलिएर रहेको छ’ भनी उनले लेखेकाले खालि स्थानीय मानिसहरूले भनेको भरमा त्यस हिमचुलीको नाउँ सगरमाथा हो भनी उनले ठहर्याएको देखिन्छ।
‘सगरमाथा’ भन्ने नाउँको विषयमा आचार्यले लेखेको निबन्ध छापिएको २८ वर्ष आठ महीनापछि २०२४ असार ३० गते कमलप्रकाश मल्ल (विसं १९९३-२०७५)ले यस विषयमा उनीसँग कुराकानी गरेका रहेछन्। मल्लले लेखे अनुसार, आचार्य पाठशाला बन्दोबस्तको हाकिम हुँदा त्यतातिरका कारिन्दाले त्यस हिमचुलीको नाउँ सगरमाथा भनेकाले मैले त्यही नाउँ चलाएको हुँ भनी उनीसँग भनेका रहेछन् (सगरमाथाः द लिङ्ग्विस्टिक् कङ्क्वेस्ट् अफ् माउन्ट् एभरेस्ट्, नेपाली लिङ्ग्विस्टिक्स्, १५ ठेली, सन् १९९८, २०-२१ पृ.)।
बाबुराम आचार्यले लेखेको त्यस हिमचुलीको नाउँ सम्बन्धी निबन्ध छापिएको ७४ वर्ष पाँच महीनापछि, उनी परलोक भएको साढे ४० वर्षभन्दा पनि पछि उनका कान्छा छोरा श्रीकृष्ण आचार्य (विसं १९९३-२०७७)ले बाबुको एक सय छब्बीसौं जन्मदिनको अवसर पारेर ‘जसले सगरमाथाको नाम जुराए’ भन्ने लेख प्रकाश गराए (कान्तिपुर २०६९/१२/३/७, ७ पृ.)। ‘त्यस क्षेत्रबाट राजधानी काठमाडौंमा आई बसेका लेखे-पढेका प्रतिष्ठित व्यक्तिहरूसँग भेट गरी, त्यस क्षेत्रमा रहेका सम्भावित जानकारहरूसँग पत्राचार गरी, मुद्दामा तारिख खेप्न आउने झगडियाहरू, ढाकर बोकेर आउने ढाकरेहरूसँग पनि सम्पर्क गरी महिनौं लगाएर उहाँले यस सर्वोच्च पर्वतशिखरको नेपाली नाम ‘सगरमाथा’ हो भनी पत्ता लगाई छोड्नुभयो।
धेरैलाई यस पर्वतशिखरको नाम उहाँले नै राख्नुभएको हो भन्ने भ्रम रहेको छ। तर यो सत्य होइन। लोकप्रचलनमा रहेको नामलाई उहाँले प्रकाशमा ल्याइदिनुभएको मात्र हो’ भनी उनले लेखेकाले ‘सगरमाथा’ भन्ने नाउँ त्यस ठाउँमा नपुगी, काठमाडौंमा काम परी आएका त्यताका बासिन्दाहरूसँग प्रत्यक्ष र चिठीपत्र गरी सोधपुछ गर्दा आचार्यलाई थाहा भएको रहेछ भन्ने देखिन्छ।
कमलप्रकाश मल्लको लेखाइ अनुसार, बाबुराम आचार्यले आफ्नो अड्डाका त्यतातिरका कारिन्दा मार्फत यो नाउँ थाहा पाएको भन्ने र उनका छोराले भने, धेरै स्थानीय मानिससँग सोधखोज गरी यो नाउँ पत्ता लगाएको भने पनि खुद बाबुराम आचार्यले आफ्नो लेखमा यो कुरा किन खुलाएनन् भन्ने प्रश्न उठ्छ। आचार्यले विश्वको सबभन्दा अग्लो चुचुरोको नाउँ पत्ता लगाउने लगायत जुन काम गरे, ती उनले कुनै सुखसुविधा पाएर गरेका थिएनन्, स्वान्तसुखाय गरेका थिए, अझ कति प्रसङ्गमा त यस्तो खोजी गर्दा शासकको खप्की समेत उनले खानुपरेको थियो, झण्डै उनको जागीर खुस्किसकेको थियो भन्ने कुरा त माथि उद्धरण गरिएको उनकै वाक्यबाट स्पष्ट हुन्छ। यस कारण उनले गरेको सगरमाथा सम्बन्धी खोजीमा शास्त्रीय ढङ्गले विधि नपुग्दा नपुग्दै पनि त्यति आलोचना गर्न मिल्दैन।
अङ्ग्रेजको नाउँबाट त्यस हिमचुलीको नाउँ राखिएकाले भारतका स्वातन्त्र्यप्रेमी मसीजीवीहरूलाई अप्ठेरो परिरहेको अवस्थामा ‘सगरमाथा’ भन्ने नाउँबाट त्राण मिलेको अनुमान गर्न सकिन्छ। स्वामी प्रणवानन्द (विसं १९५२-१९९७)को विसं १९९६ मा छापिएको किताबमा ‘नेपालको माझ-किरातका जिल्लामा अरुण कोसी क्षेत्रका मानिसहरू एभरेस्टलाई कुम्भकरण लङ्गुर (चुचुरो) भन्छन् त दूधकोसी क्षेत्रका मानिसहरू चाहिँ ‘स्वर्ग-माथा’ वा ‘सगर-माथा’ भन्छन्। जब पैसा हुन्छ, यसको स्थानीय नाउँ पक्का गर्न म आफै दूधकोसी र अरुणकोसी क्षेत्रमा जाने मेरो विचार छ’ (एक्स्प्लोरेशन् इन् टिबेट्, २ संस्करण, कलकत्ताः कलकत्ता यूनिभर्सिटि प्रेस, सन् १९५४, ४ पृ.बाट मेरो उल्था) भनी लेखिएकाले भारतीयहरू पनि आआफ्नो ढङ्गले त्यस चुचुरोको नाउँ पत्ता लाउन लागिरहेको देखिन्छ।
शिवरात्रिको मौका छोपी विसं १९८८ मा प्रसिद्ध हिन्दीभाषी भारतीय ऐतिहासिक जयचन्द्र विद्यालंकार (विसं १९५५-?) काठमाडौं आउँदा त्यही साल छापिएको आफ्नो भारतभूमि और उस के निवासी (कमालिया, पञ्जाबः जयचन्द्र विद्यालंकार) उनले राजगुरु हेमराज पण्डित (विसंं १९३५-२०१०)लाई दिएका रहेछन्। माउन्ट एभरेस्ट भनी कहलिएको हिमालयको चुचुरोको स्थानीय नाउँ के हो भनी खोज्नुपर्ने भएको छ भनी आफूले त्यस पुस्तकमा लेखेको कुरा (उहीः १५५-१५६ पृ.)तर्पm उनले राजगुरुको ध्यान आकृष्ट गरेछन्।
आफ्नो त्यही सुझाव अनुसार राजगुरुको प्रेरणाले केही वर्षपछि श्रीबाबुराम खरीदारले दूधकोशी दूनको यात्रा गरेर हिमालयको त्यस चुचुरोको ‘सगरमाथा’ भन्ने नाउँको उद्धार गरेको कुरा सन् १९६६ जुलाई ५ तदनुसार २०२३ असार २१ गते उनले मलाई लेखेको चिठीमा परेको छ (नयराज पन्त, ‘गुरुज्यू हेमराजको विषयमा विदेशी विद्वान्हरूको विचार’, पूर्णिमा २८ पूर्णाङ्क, २०२९, २३३ पृ.)।
हिमालयको सबभन्दा अग्लो चुचुरोको नाउँ खोज्नुपर्यो भनी आफूले राजगुरु हेमराज पण्डितलाई सुझाएपछि उनको प्रेरणाबाट आचार्यले सगरमाथा भन्ने नाउँ खोजी गरेको कुरा जयचन्द्र विद्यालंकारले लेखे पनि यसमा हेमराजको प्रेरणा थियो जस्तो मलाई लाग्दैन। आचार्यको अड्डा पाठशाला बन्दोबस्त संस्कृतशिक्षाका तालुकवाला हेमराज पण्डितको मातहतको भए पनि बाबुराम यस्तो खोजीमा पहिल्यैदेखि लागिसकेकाले उनलाई हेमराजको प्रेरणाको जरुरत पर्दैनथ्यो।
हेमराज र जयचन्द्रको भेट भएको केही कालपछि नै भारतबाट नेपालको नक्शा पहिलो पटक छापिँदा त्यहाँ हिमालयको सबभन्दा उचो चुचुरोको नेपाली नाउँ नपरेकाले आफू त्यसको खोजी गर्न लागेको भनी बाबुराम आचार्यले लेखेको कुरा पनि माथि परिसकेको छ। बाबुराम आचार्यले दूधकोशी दूनको यात्रा गरी ‘सगरमाथा’ भन्ने नाउँको उद्धार गरे भनी जयचन्द्रले लेखेको कुरा पनि मिल्दैन, किनभने बाबुराम आफैं त्यहाँ गई खोजमेल गरेका होइनन्। यो कुरा माथि खुलाएर लेखिसकिएकाले यस विषयमा फेरि यहाँ दोहर्याइरहनुपर्दैन।
संसारको सबभन्दा अग्लो हिमचुलीको नाउँ सगरमाथा हो भन्ने कुरा आचार्यले नेपालमा बसी लेखे पनि ‘यसको नेपालमा नै यत्किञ्चित् चर्चा भयो’, तर अन्यत्र त्यति चर्चा नभएकाले जयचन्द्रसँग सूर्यविक्रम ज्ञवाली (विसं १९५५-२०४२)ले यस विषयमा कुरा गरेछन्। अनि जयचन्द्रले आचार्यको सो लेख माग्दा ज्ञवालीले पहिलो पल्ट त्यो लेख छापिएको शारदा पत्रिकाको अङ्क र पछि पछि त्यही लेख छापिने गरेको नेपाली गद्यसंग्रहको एक प्रति उनलाई दिएछन्।
त्यस लेखको आफूमा प्रभाव परेकाले २००७ पुस ११ गते राजस्थान कोटामा भएको हिन्दी साहित्य सम्मेलनको वार्षिक सभामा सभापतिको आसनबाट बोल्दा जयचन्द्रले ‘हिमालयको सबभन्दा ठूलो चुचुरोको नाउँ के हो भन्ने प्रश्न भारतीय इतिहासको पहिलो अध्यायमै हाम्रो लागि उठ्छ। अङ्ग्रेजहरूले एक जना अङ्ग्रेजको नाउँमा यसको नाउँ राखेका छन्। एक जना अकिञ्चन सत्यान्वेषीले सगरमाथा भन्ने नाउँको खोजी गरे, त्यो खोजी ठीक हो भन्ने कुरा अरू अरू आकर अर्थात् स्रोतबाट पनि प्रमाणित भयो। बाबुराम खरदारले आफ्नो यो खोज भारतीय भाषाको एउटा पत्रिकामा प्रकाशित गरे’ (हिन्दीबाट मेरो उल्था) भनी यस विषयमा बोलेछन् (सूर्यविक्रम ज्ञवाली, ‘भूमिका’, प्रयागराज शर्मा, संयोजक, बाबुराम आचार्य र उहाँका कृति, काठमाडौंः नेपाल र एशियाली अध्ययन संस्थान, २०२९, झ पृ.)।
ज्ञानमणि नेपाल (विसं १९८९ जन्म) अनुसार स्वामी करपात्री (विसं १९६४-२०३७)को अखिल भारतीय रामराज्यपरिषत्को मुखपत्र सन्मार्गमा पनि जयचन्द्रले त्यस लेखको प्रशंसा गरेको कुरा छापिएको थियो (बाबुराम आचार्यको सम्झना, कृष्णचन्द्रसिंह प्रधान आदि, सम्पादक, बाबुराम आचार्य स्मृतिग्रन्थ, काठमाडौंः इतिहास-शिरोमणि बाबुराम आचार्य शतवार्षिक समारोह समिति, २०४६, २०१ पृ.)।
सगरमाथा होइन नौबन्धन!
‘सगरमाथा’ भन्ने नाउँको आधार त्यति बलियो नभए पनि यसमा खोट लगाई टीकाटिप्पणी गर्ने काम धेरै पछि मात्र भयो। मलाई थाहा भएसम्म सबभन्दा पहिले यस विषयमा चित्तरञ्जन नेपाली (विसं १९८८ जन्म)ले बोलेका हुन्। उनले बोलेको कुरा विसं २०१७ बर्खामा रेडियो नेपालबाट प्रसारण भएको थियो। पछि त्यही कुरा लेखरूपमा रेडियो नेपालको मुखपत्र झंकारमा र उनकै विसंं २०२१ मा छापिएको नेपाल–चीन सिमाना सन्धिमा प्रकाशित हुँदै विसं २०६० मा प्रकाशित उनको लेखसङ्ग्रह केही ऐतिहासिक निबन्धहरूमा गाभियो (८८-१०५ पृ.)।
त्यसपछि यस विषयमा मदनमणि दीक्षित (विसं १९७९-२०७६)ले कलम चलाए। २०३३ असारमा छापिएको आफ्नो एउटा लेखमा यस विषयमा उनले कुरा उठाएका थिए (‘पौराणिक नेपालको इतिहासबारे केही सवाल’, रूपरेखा, १८२ पूर्णाङ्क, ११-१३ पृ.)। त्यसको झण्डै ३७ वर्षपछि विसं २०७० मा यस विषयमा उनको सिङ्गै लेख आयो (‘‘नौबन्धन सट्टा सगरमाथा’ किन ?’, कान्तिपुर दैनिक, २०७०/७/७, ७ पृ.)।
यस्तै विषयमा हरिराम जोशी (विसं १९९२ जन्म)ले विसं २०३९ मा कलम चलाए (राजाराम कर्माचार्यद्वारा अनूदित ‘काङ्-चोमो-लुङ्मा-सरग्माथ्-माउन्ट् एभरेस्ट्’, रोलम्ब २ ठेली, ३ अङ्क, सन् १९८२, अङ्ग्रेजी खण्ड १८-२३ पृ.)। अन्तमा कमलप्रकाश मल्लले यस विषयमा निकै खोजमेल गरी लेख प्रकाश गरे। त्यस लेखको विषयमा अलिकति माथि प्रसङ्गवश चर्चा पनि भइसकेको छ (नेपाली लिङ्ग्विस्टिक्स् १५ ठेली १९–२८ पृ.)।
‘सगरमाथा’ शब्दको अर्थको विषयमा बाबुराम आचार्य र उनीपछिका अरूहरूले लेखे पनि ती अर्थको औचित्य वा अनौचित्यको विषयमा म अहिले केही बोल्दिनँ। मलाई अहिले खायस परेको कुरा त सगरमाथाको शास्त्रोक्त नाउँ ‘नौबन्धन’ हो भन्ने दीक्षितको भनाइको परख हो।
महाभारत वनपर्वमा प्रचलित संस्करणको १८७ अध्यायको ५० श्लोक
नौर्मत्स्यस्य वचः श्रुत्वा शृङ्गे हिमवतस्तदा।
तस्य नौबन्धनं नाम शृङ्गं हिमवतः परम्।।
सारेर त्यस श्लोकको ‘माछोको वचन सुनेर हिमालयकोे चुचुरोमा नाउलाइ बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको चुचुरोको नौबन्धन भन्ने नाउँ रहेको छ’ भन्ने अर्थ गरी दीक्षितले यताबाट यस्तो निष्कर्ष निकालेका छन्-
‘मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाइ छोडेर हेर्दा सर्वोच्च हिम शिखरको नाउँबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाइ जोडेर त्यो सर्वोच्च हिमशिखरलाइ नौबन्धन भन्ने नाउँ दिएका थिए भन्ने तथ्य छर्लङ्ग हुन्छ। यसबाट, महाभारतकारलाई जियोडेटिक वा ट्रिगोनोमेट्रिकल सर्भेका आधारमा उक्त सर्वोच्च हिम शिखरबारे निश्चित ज्ञान थियो भन्ने अर्थ झिक्न म खोज्दिनँ तर त्यस्तो सर्वोच्च शिखरको अस्तित्वबारे विचार स्थिर गरेर तिनले त्यसलाइ नाउँ समेत दिएका हुन् भन्ने त प्रस्ट नै छ।’
‘बाबुराम आचार्यले सगरमाथा भन्ने नाउँ दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन भन्ने मलाइ थाहा छैन’ (रूपरेखा १८२ पूर्णाङ्क, १२ पृ.) भनी उनले लेखेकाले सगरमाथा भन्ने नाउँ खोज्न बाबुराम व्यर्थै लागे भन्ने दीक्षितको आशय देखिन्छ।
बाबुराम आचार्यले हिमालयको सबभन्दा उचो चुचुरोको नाउँ सगरमाथा भनी १९९५ कात्तिकमै लेखे पनि, २०१० जेठ १६ गते सगरमाथा चढी काठमाडौं फर्कंदा एड्मन्ड हिलारी (विसं १९७६-२०६४) र तेन्जिङ नोर्गे (विसं १९७१-२०४३)लाई स्वागत गर्ने राष्ट्रिय स्वागत समारोह समितिको अध्यक्षको हैसियतले ‘नेपाल र नेपालीको तर्पmबाट विजयहार पहिराउने सौभाग्य’ बाबुरामले नै पाए (कञ्चन शर्मा, ‘इतिहास-शिरोमणि बाबुराम आचार्य’, बाबुराम आचार्य स्मृतिग्रन्थ, १४४-१४५ पृ.) पनि सरकारको दृष्टिमा ‘सगरमाथा’ नाउँ असन्दिग्ध थिएन भन्ने कुरा २०१६ मा नेपाल र चीनको सीमासन्धि हुनुभन्दा अगाडि त्यस चुचुरोको विषयमा कुनै पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन सरकारले चूडानाथ भट्टराय (विसं १९७५-२०५३)लाई अह्राएकोबाट बुझिन्छ। चूडानाथले पनि खोजमेल गरी हिमवत्खण्डमा उल्लिखित व्योमकूट र सगरमाथा एउटै हुन् भन्ने मन्तव्य दिए भनी दीक्षितले लेखेका छन् (रूपरेखा १२३ पूर्णाङ्क, ११-१२ पृ.)।
दीक्षितको माथि चर्चा गरिएको लेख छापिएको ३७ वर्षपछि फेरि उनले ‘नौबन्धन’ नाउँलाई मात्र लिई एउटा लेख छपाए (कान्तिपुर दैनिक, २०७०/१/७/७, ७ पृ.)। त्यस लेखको सामान्य चर्चा माथि गरिए पनि यहाँ अलि खुलाएर लेख्नुपरेको छ। त्यस लेखमा पनि उनले महाभारत वनपर्वबाट त्यही श्लोक उद्धरण गरी ‘सर्वोच्च हिमशिखरको नाम महाभारत र मत्स्य पुराण अनुसार ‘नौबन्धन’ राख्नुपर्छ। सगरमाथा भन्ने नाम कुनै पनि भाषाको व्याकरणले स्वीकार गर्दैन। त्यो नाम विद्वान् बाबुराम आचार्यको सृष्टि हो’ भनी निष्कर्ष निकालेका छन्।
महाभारतबाट उनले श्लोकको उद्धरण गरे पनि मत्स्यपुराणको भने न अध्याय र श्लोकसङ्ख्याको सन्दर्भ दिएका छन्, न श्लोककै उद्धरण गरेका छन्। महाभारतबाट दुवै लेखमा त्यही एउटा श्लोकको मात्र उद्धरण गरिएकाले पूर्वापर शब्दको संयोजन नहुँदा त्यस श्लोकको वास्तव अर्थ लाउन गाह्रो पर्छ।
सबैभन्दा पहिले महाभारतमा आएको ‘नौबन्धन’ सम्बन्धी प्रसङ्गको चर्चा गरौं। त्यहाँ लेखिएको कथा अनुसार- बदरी (बदरीवन)को विशालामा वैवस्वत मनु तपस्या गरिरहेका थिए। कुनै वेला एउटा सानो माछो वीरिणी (चल्तीको पाठमा चीरिणी) नदीको किनारामा आई ठूला माछाहरूबाट आफ्नो रक्षा गर्न वैवस्वत मनुसँग प्रार्थना गर्यो। अनि उनले त्यस माछोलाई पानी हालेको अलिञ्जर (माटोको घ्याम्पो)मा राखे। त्यो माछो ठूलो हुँदै गएपछि अलिञ्जरमा नअटाउने भयो।
त्यसपछि त्यसले आफूलाई अन्त सार्ने प्रार्थना गर्दा मनुले वापी (पोखरी)मा सारिदिए। कालान्तरमा त्यो माछो त्यहाँ पनि नअटाउने भयो। यस्तो भएपछि त्यसले आफूलाई गङ्गाजीमा सार्न प्रार्थना गर्यो। त्यो माछो अझ बढ्दै गएपछि त्यसले आफूलाई समुद्रमा लगेर छोडिदिन मनुसँग प्रार्थना गर्यो। उनले त्यसै गरे। त्यसपछि मनुसँग अब छिट्टै प्रलय हुने भएकोले हजुरले एउटा मजबूत नाउ बनाउनुपर्छ र त्यस नाउमा वटाकर (डोरी) पनि बाँधिएको हुनुपर्छ, अनि हजुर सप्तर्षिहरूसँगै त्यस नाउमा चढ्नुपर्छ र त्यसमा सबै प्रकारका बीउ राख्नुपर्छ, हजुरहरू त्यही नाउमा बसेर मलाई पर्खिरहनू, सीङ धारण गरी म त्यहीँ आइपुग्छु, मलाई त्यही सीङबाट हजुरले चिन्नू भनी त्यो माछो हिँड्यो।
त्यसपछि माछोले भनेबमोजिम सबै प्रकारका बीउ लिएर समुद्रमा नडुबीकन मनु रहे। अनि आफूलाई मनुले सम्झेको थाहा पाएर सीङ धारण गरी माछो त्यहाँ आइपुग्यो। त्यसपछि माछोको सीङमा मनुले डोरी बाँधे। अनि सीङमा डोरी बाँधिएको माछोले समुद्रमा नाउ तान्दा मनुले त्यही नाउले समुद्र तरे। जमीन, दिशा, विदिशा, आकाश र द्युलोक (आकाशको माथिल्लो भाग) जलाम्य हुँदा खालि मनु, सप्तर्षि र माछो मात्र देखिए। अनि माछो धेरै वर्षसम्म नाउ तान्दै रह्यो (वनपर्व, चल्तीका संस्करण १८७ अध्याय, १-४६१/२ श्लोक = पूनासंस्करण १८५ अध्याय, १-४३ श्लोक)।
अब हामी चुरो कुरोको नजीकै आइपुगेकोले महाभारतबाट अत्यावश्यक श्लोकको उद्धरण गर्नुपरेको छ-
ततो हिमवतः शृङ्गं यत् परं पुरुषर्षभ।
तत्राकर्षत् ततो नावं स मत्स्यः कुरुनन्दन।।४४।।
ततोऽब्रवीत् तदा मत्स्यस्तानृषीन् प्रहसञ्शनैः।
अस्मिन् हिमवतः शृङ्गे नावं बध्नीत माचिरम्।।४५।।
सा बद्धा तत्र तैस्तूर्णमृषिभिर्भरतर्षभ।
नौर्मत्स्यस्य वचः श्रुत्वा शृङ्गं हिमवतस्तदा।।४६।।
तस्य नौबन्धनं नाम शृङ्गं हिमवतः परम्।
ख्यातमद्यापि कौन्तेय तद्विद्धि भरतर्षभ।।४७।।
(महाभारत वनपर्व चल्तीको संस्करण १८७ अध्याय, ४६-४९१/२ श्लोक = पूनासंस्करण १८५ अध्याय, ४४-४७ श्लोक)
(हे मानिसहरूमा श्रेष्ठ, त्यसपछि हिमालयको जुन ठूलो चुचुरो थियो, त्यहाँ हे कुरुपुत्र, त्यसपछि त्यो माछोले त्यहाँ नाउ तान्यो।।४४।।
त्यसपछि माछोले बिस्तारै हाँस्दै त्यस वेला ती ऋषिहरूलाई भन्यो- हिमालयको यस चुचुरोमा नाउ छिटै बाँध।।४५।।
(हे भरतश्रेष्ठ, माछोको कुरा सुनेर त्यस वेला ती ऋषिहरूले त्यो नाउ त्यहाँ छिटै बाँधे।।४६।।, हे भरतश्रेष्ठ, हे कुन्तीका छोरा, त्यस हिमालयको ठूलो चुचुरोको नौबन्धन भन्ने नाउँ अहिलेसम्म पनि प्रख्यात छ।।४७।।)
मत्स्यावतार विष्णुले प्रलय हुन लाग्दा नभई नहुने मानिस र थरीथरीका बीउ बोकेको नाउ समुद्रमा तार्दै त्यो नाउ हिमालयको चुचुरोमा बाँध्दा त्यस चुचुरोको नाउँ नौबन्धन भन्ने भयो भन्ने कुरा महाभारतको यस आख्यानबाट बुझिन्छ।
नसकिएको नाम-विवाद
दीक्षितले महाभारतको यो प्रसङ्ग अघि सारी अहिले माउन्ट एभरेस्ट वा सगरमाथाको नाउँले प्रसिद्ध संसारको सबभन्दा अग्लो हिमशिखरको नाउँ नौबन्धन राख्नुपर्छ भन्ने जिकिर गरेको ४५ वर्ष पनि नाघिसक्यो। तर, महाभारतको यस पौराणिक आख्यानमा बदरीवन र त्यसको नजीकै रहेको विशाला हुँदै गङ्गाजीको प्रसङ्ग ल्याई अन्तमा समुद्रको कुरा आएकाले यस विषयमा अलि गम्भीर भएर विचार गर्नुपर्ने भएको छ।
अहिलेको भारतको उत्तराखण्ड राज्य हुँदै भागीरथी नदीपछि महाभारतमा चर्चा गरिएको समुद्र भनेको पूर्वसागर अर्थात् बङ्गालको खाडी हो र त्यहाँको हिमालयको चुचुरो भनेको पूर्वसागरसँग सम्बद्ध हिमचुली हो भन्ने स्पष्ट भए पनि अहिले ‘सगरमाथा’ भनी प्रसिद्ध हिमचुली नै ‘नौबन्धन’ हो भनी पत्याउने स्थितिमा हामी छैनौं।
महाभारतमा जस्तै, हिमालयको चुचुरोको रूपमा नीलमतपुराणमा पनि ‘नौबन्धन’ नाउँ आएको छ। नीलमतपुराण भनेको काश्मीरको स्थलपुराण हो। नीलमतमा ठाउँठाउँमा नौबन्धनको कुरा आए पनि लेख लम्बिने भएकाले त्यस चुचुरोको पहिचानमा खास मदत पुग्ने अंशको मात्र यहाँ चर्चा गरिन्छ-तदा विनष्टे लोकेऽस्मिन् महादेवः स्वयंप्रभुः।
आपो भूत्वा स्वयं लोके तिष्ठत्यस्मिन् समन्ततः।।३७।।
सती देवी स्वयं काले तस्मिन् नौत्वं करोति वै।
मनुर्भविष्यंस्तस्मिंस्तु सर्वबीजानि मायया।।३८।।
तदा स्थापयते राजंस्तां च नावं जगद्गुरुः।
मत्स्यरूपधरो विष्णुः शृङ्गे कृत्वापकर्षति।।३९।।
आकृष्य नावं तां देवस्तस्मिन् पर्वतमस्तके।
वद्ध्वा व्रजति भूपाल ह्यविज्ञातां तदा गतिम्।।४०।।
इदं च शिखरं पश्य देशेऽस्मिन् नृप पश्चिमे।
नौबन्धनमिति ख्यातं पुण्यं पापभयापहम्।।४१।।
कृततुल्ये तदा काले व्यतीते तु मनुस्तदा।
विदधाति प्रजासर्गं यथापूर्वमरिन्दम।।४२।।
नौदेहेन सती देवी भूमिर्भवति पार्थिव।
तस्यां तु भूमौ भवति सरस्तु विमलोदकम्।।४३।।
षड्योजनायतं रम्यं तदर्धेन च विस्तृतम्।
सतीदेश इति ख्यातं देवाक्रीडं मनोहरम्।।४४।।
आकाशमिव गम्भीरं जलजैश्च विवर्जितम्।
शीतलामलपानीयं सर्वभूमिमनोहरम्।।४५।।
(का. द फ्रेसद्वारा सम्पादित नीलमत अर् टीचिङ्ज् अफ् नील, लाइडनः ई. जे. ब्रिल, सन् १९३०)
{त्यस वेला यस लोकको नाश भएपछि आफैं मालिक भएका महादेव आफैं पानी भएर यस लोकमा चारैतिर बस्नुभएको छ।।३७।।
सती देवी आफैंले त्यस समयमा नाउको रूप लिनुभयो। भविष्यका मनुले त्यस वेला मायाद्वारा त्यसमा सबै बीउ राख्नुभयो। हे राजा, संसारका गुरु, मत्स्यको रूप धर्नुभएका विष्णुले सीङ बनाएर नाउ तान्नुभयो।।३८-३९।।
हे राजा, देवता (मत्स्यावतार विष्णु)ले नाउ तानी त्यसलाई त्यस पहाडको शिरमा बाँधेर आफू थाहा नभएको अवस्थामा जानुभयो।।४०।।
यस देशको पश्चिमपट्टि हे राजा, पुण्य गर्ने, पाप र डर हर्ने, नौबन्धन भनी प्रसिद्ध यो चुचुरो हेर्नुहोस्।।४१।।
शत्रुको दमन गर्ने हे ृराजो, सत्ययुग जस्तै समय बितेपछि मनुले पहिले जस्तै मानिसको सृष्टि गर्नुभयो।।४२।।
हे राजा, नाउरूपी शरीरद्वारा सती देवी भूमि हुनुभयो। त्यस भूमिमा सफा पानी भएको ताल उत्पन्न भयो।।४३।।
सतीदेश भन्ने नाउँले प्रख्यात, देवताहरूको क्रीडास्थल, मनै हर्ने, त्यो राम्रो ताल २४ कोस लम्बा, त्यसको आधा
(१२ कोस) चौडा छ।।४४।।
आकाश जस्तो गम्भीर, कमलहरूद्वारा चम्केको, चीसो र सफा पानी भएको, पृथ्वीभरमा मन हर्ने (त्यो ताले)
छ।।४५।।}
नीलमत अनुसार ‘नौबन्धन’ काश्मीरको पश्चिम भागमा पर्छ भन्ने कुरा माथिको उद्धरणबाट स्पष्ट भएकाले ‘नौबन्धन’ को भुवनकोषीय अर्थात् भौगोलिक अवस्थितिको विषयमा महाभारत र नीलमतमा आनको तान फरक परेको यतासम्मका कुराबाट स्पष्ट भएको छ। बाह्रौं शताब्दीका कल्हणको राजतरङ्गिणीका ख्यातनामा सम्पादक र अनुवादक मार्क ओरेल स्टीन (विसं १९१९-२०००)ले हिमालयको पीर पञ्जल पर्वतश्रेणीमा नौबन्धन छ भनी लेखेका छन् (कल्हण’ज् राजतरङ्गिणीः अ क्रनिक्ल् अफ् द किङ्ज् अफ् कश्मीर्, २ ठेली, वेस्ट्मिन्स्टरः आर्किबाल्ड कन्स्टेब्ल यान्ड कम्पनि, लिमिटेड, सन् १९००, ३९२-३९३ पृ.)। यताबाट पनि ‘सगरमाथा’ को सट्टा ‘नौबन्धन’ भन्ने नाउँ चलाउनुपर्छ भन्ने भनाइमा कुनै तुक छैन भनिरहनु नपर्ला।
‘सगरमाथा’ शब्द संसारको सबभन्दा अग्लो चुचुरोको नेपाली नाउँको रूपमा स्वीकार गर्दा गर्दै पनि यस शब्दको वास्तविक अर्थ विदेशी अन्वेषकहरूलाई नलागेको लेखेर यो लेख टुङ्ग्याउनुपरेको छ। कुरा के भने, माउन्ट एभरेस्टको तिब्बती नाउँको विषयको एउटा लामो लेखमा ‘सगरमाथा’ शब्दको दुई अर्थ दिइएकोमा एउटा अर्थ ‘चरनिङ् द ओसन्’ अर्थात् ‘समुद्रमन्थन’ भन्ने छ (इस्रुन एङ्गेल्हार्द्त, ‘यान् इन्डिजिनियस् नेम् फर् माउन्ट् एभरेस्ट्’, जाय्नीन बिशोफ आदि, सम्पादक, अन् अ डे अफ् अ मन्थ् अफ् द फायर् बर्ड् यर्ः फेस्त्श्रिफ्त् फर् पिटर् श्वाइगर् अन् दि ओकेझन् अफ् हिज् ६५थ् वर्थ्डे, लुम्बिनीः लुम्बिनी इन्टर्न्याशनल रिसर्च इन्स्टिच्युट, सन् २०२०, २५७-२५८ पृ.) र माउन्ट एभरेस्ट सम्बन्धी विकिपिडियामा ‘गडिस् अफ् स्काइ’ अर्थात् ‘आकाशकी देवी’ गरेकोतर्फ औंल्याउनुपर्छ। यसको मतलब के हो भने, नेपाली भाषामा लेखिएका अन्वेषणात्मक कृति पढी तिनको ऊहापोह गर्न सक्ने जनशक्ति बाहिरका अन्वेषकमा छैन र त्यसले गर्दा उनीहरूका कृति कहीं कहीं एकाङ्गी हुन पुगेका छन् भनी भन्नुपर्छ।
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य र इतिहास-प्रधान पत्रिका पूर्णिमाका सम्पादक हुन्। हिमालको २०७८ मंसीर अंकबाट।)