जापानी खान्छन् खोटाङको नौनी
जापानकी एक सामाजिक उद्यमीले नेपालमा शुरू गरेको व्यवसायले खोटाङलाई पिनट बटरको परिचायक बनाउने आशा जगाएको छ।
दार्जीलिङ भन्नासाथ दिमागमा चियाको सम्झना आउछ। चेकोस्लोभाकियाको पिल्जेन शहर बियरको लागि चिनिन्छ। फ्रान्स क्यामनबे चिजको लागि प्रसिद्ध छ। के नेपालखोटाङमा उत्पादित बदामी नौनी अर्थात् पिनट बटरले यही हाराहारीको प्रसिद्धि पाउला त?
जापानकी एक सामाजिक उद्यमीले यहाँ शुरू गरेको व्यवसायले नेपालको हिमाली जिल्ला खोटाङलाई पिनट बटरको परिचायक बनाउने आशा जगाएको छ। जापानको फुकुओका शहरमा हुर्किएकी ४३ वर्षीया कोटोबुकी नाकाले हलेसी नगरपालिकाको दुर्चिमलाई विश्वकै पिनट बटरको केन्द्र बनाउने सपना साँचेकी छिन्।
कोरोनाभाइरसले गर्दा योजना केही समय धकेलिए पनि जनजीवन सहज भएसँगै नाका पिनट बटर उत्पादनमा जुटेकी छन्। आफूले बदाम उत्पादनको तालिम दिएका कृषकका उत्पादनबाट पिनट बटर बनाउने उद्योगलाई युद्धस्तरमा सञ्चालन गरिरहकी छिन्।
नाका जापानको एउटा आइओटी (इन्टरनेट अफ थिङ्स्) कम्पनीको परोपकारी कामका सिलसिलामा बालबालिकालाई सहयोग गर्न पहिलो पटक खोटाङ पुगेकी थिइन्। उनको पहिलो खोटाङ यात्रा पनि स्मरणीय थियो। पहाडी कच्ची बाटोमा १५ घण्टाको मोटर यात्राले उनी थलिएकी थिइन् भने खोटाङको प्राकृतिक अवस्थाले मोहित भएकी थिइन्।
खोटाङमा नगदे बालीका रुपमा बदाम लगाउने गरिएको उनले देखिन्। तर बाली नसप्रिएका कारण कृषक भारत वा खाडी मुलुकमा कामका लागि जानुपर्ने बाध्यता रहेको उनले बुझिन्।
“बालबालिकाको स्तर उकास्नको लागि हामीले गर्ने सहयोग मात्र पर्याप्त छैन भन्ने मैले बुझें,” नाका भन्छिन्, “के गर्दा होला त भन्ने सोचिरहँदा मलाई लाग्यो उनीहरुका आमाबुवालाई आर्थिक रुपमा सक्षम बनाउने उपाय नै सबभन्दा प्रभावकारी हुनेछ।”
तीन वर्षअघि एक जना कृषकले नाकासँग के दुखेसो पोखे भने यदि खोटाङमै गरिने खेतीकिसानीले निर्वाह हुने हो भने उनी कदापी विदेश जाने छैनन्। उनको सो कुरा नाकाको मनमा गड्यो।
सोही कुरालाई प्रेरणाको रुपमा लिँदै नाकाले ‘सन्चै इन्क’ संस्था स्थापना गरिन् र किसानलाई बदामको जैविक उत्पादन सम्बन्धी तालिम दिइन्। उनको योजना थियो उत्पादित उच्च गुणस्तरको बदामबाट नौनी बनाउने।
अध्ययन गर्दै जाँदा उनले के पाइन् भने खोटाङका किसानले दुई प्रजातिको बदाम लगाउने गरेका रहेछन्। एउटा सानो खाले स्वादिलो बदाम जुन आफूले खानको लागि लगाउने गरिएको रहेछ। अर्को अलि ठूलो खालको विकासे प्रजाति चाहिँ बजारमा बिक्री गरिने रहेछ।
अनि बाँकी रहेका रहलपहल भने बस्तुभाउलाई खुवाइँदो रहेछ। जापानी नाकालाई अध्ययनको यस काममा सघाएकी थिइन्, ‘विपना इन्क’ संस्थाकी सबिता महर्जनले।
“त्यतिन्जेलसम्म मलाई बटरको ‘ब’ पनि थाहा थिएन तर के गर्नु मलाई जापानमा रहेका आफ्नो हाकिमलाई पनि त विश्वास दिलाउनु थियो,” नाका भन्छिन्, “अनि मैले उहाँलाई के भनेर विश्वस्त बनाए भनेँ यो काम नाफाको लागि गरिन लागेको होइन, नेपाली किसानको हितको लागि हो।”
उनले जापानका बदाम विज्ञलाई भेटेर परामर्श लिइन् र अर्को पटक खोटाङ आउँदा पिनट बटरको नमुना उत्पादन गर्ने मेसिनसहित आइन्। उनले सानो खाले स्वादिलो बदामले बनेको नमुना पिनट बटर पठाएपछि जापानीले मन पराएको खबर आयो, अहिलेसम्म खाएकोभन्दा राम्रो भएको बताए।
“हामी छक्क पर्यौं कि यो कति स्वादिष्ट थियो भनेर,” नाकाले भनिन्, “अनि मलाई के विश्वास भयो भने अब बटर उत्पादनको लागि उद्योग नै खोल्नुपर्छ।”
विजुली नपुगेको खोटाङको दुर्चिममा उद्योग बनिसक्दा विजुली पनि आइपुग्यो। “आफू जापानी भएको हुँदा शुरूआतमा त मलाई नेपाली समयमा अभ्यस्त हुनै गाह्रो पर्यो,” उनले हाँस्दै नेपालीको समयनिष्ठाप्रतिको फुक्काफाल स्वभावबारे सुनाइन्। उनले अधिकांश महिला किसानसँगै काम गरिन् किनभने प्रायः पुरुष विदेशमा थिए। आखिरमा यो बदाम व्यवसाय महिला सशक्तीकरणको राम्रो आधार बन्यो।
नाकाले ६० घरपरिवारलाई जैविक बदाम खेतीको तालिम दिलाइन्। अहिले कम्पनीले उनीहरूको उत्पादनलाई विचौलियाले भन्दा राम्रो भाउमा खरीद गर्छ। बदाम उत्पादनको यो कामले ३ सय जनालाई प्रत्यक्ष लाभ पुगेको छ।
“हाम्रो मूल उद्देश्य नै आर्थिक सहयोग भन्दा पनि सीप हस्तान्तरण गरेर स्थानीय किसानहरुको जीविकोपार्जन र जीवनस्तर उकास्ने हो,” उनी भन्छिन्।
उत्पादित बदामलाई नौनी बनाउन १० जना स्थानीय महिलालाई पनि तालिम दिइएको छ। उनीहरू नौनी बनाउन नबिग्रेको बदाम हातैले छानेपछि छोडाउँछन्। छोडाइएको बदामलाई भुटिन्छ। भुटेर मगमग बास्ना आउने भएको बदामलाई दुई फ्याक पारिन्छ। त्यसपछि पनि राम्रो नराम्रो बदाम छानिन्छ।
निर्यातको लागि गुणस्तरमा ध्यान पुर्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ र खोटाङको पिनट बटरको विषेश स्वादलाई कायम राख्न कच्चा पदार्थको छनोटदेखि प्रशोधनसम्मका काम संवेदनशील रुपमा हुने गरेको छ। जसले बटरमा भएको प्रोटिनको मात्रालाई १.३ कायम गर्दछ, जुन यस्तै अन्य उत्पादनको भन्दा उच्च मात्रा हो।
उनले व्यावसायको आधारभूत ज्ञान बुवाबाट आफ्नो गृहगनर फुकुओकामै सिकेकी हुन्, जसले धेरै ब्युटी पार्लर सञ्चालन गर्ने गरेका थिए। उनी आइओटी कम्पनीमा अनुसन्धानकर्मीका रुपमा आवद्ध भएपछि टोकियो आएकी थिइन्। तर त्यसको तीन वर्षपछि सन् २०१७ को अन्त्यमा उनले आफ्नै संस्था ‘सन्चै इन्क’ स्थापना गरिन्। र, स्थापनाको एक वर्षमै संस्थाले खोटाङ पिनट बटर निर्यात गर्न थाल्यो।
खोटाङ पिनट बटर काठमाडौंका शेर्पा फार्मर मार्केट, हिमगिरी अर्गानिक फार्ममा पनि उपलब्ध छन्। यद्यपि बजारको ९० प्रतिशत हिस्सा जापान निर्यात हुने गरेको छ। थप खुशीको कुरा के छ भने सिंगापुर, युरोप तथा अमेरिकी बजारबाट पनि खोटाङको पिनट बटरको माग आउन थालेको छ।
“जब म मानिसहरूलाई यो पिनट बटर उत्पादन हुनुको कथा सुनाउँछु तब उनीहरू उत्साहित हुन्छन्,” नाका भन्छिन्, “यसै मार्फत म उनीहरूमा नेपालको ग्रामीण वस्तीका वासिन्दालाई गर्न सकिने सहयोगको भावनालाई उजागर गर्न प्रेरित गर्छु।”
रूपान्तरणको लागि आफूले गरेको प्रयास सफल भएकोमा उनी खुशी छिन्। “हामीले एउटा सानो प्रयास थालेको थियौं जसले आखिरमा खोटाङका महिलालाई आफ्नो सीप तथा क्षमता प्रस्तुत गर्ने आधार दियो,” नाका भन्छिन्, “यो कामले उनीहरूको जीवनस्तर उकासिएको मात्रै छैन, उनीहरू अहिले गाउँका अगुवा बनेका छन्।”
यो रिपोर्ट अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुस्।