कस्तो छ लोकगीतमा वर्ग चेतना?
यस्तो लाग्छ, यथासम्भव कसैलाई पनि चोट नपारी शिष्ट पारामा मनोभाव पोख्ने नेपाली लोकगीतको मौलिक विशेषता हो। तर, यसलाई शिष्ट, विनयशीलता भन्ने या वर्ग विभेदप्रतिको मन्द चेत?
विश्व राजनीतिक परिदृश्यमा वर्ग विभेदका मामिला सदाबहार विषय बन्दै आएका छन्। वर्ग विभेदबारे चेतनाप्रवाह कहिलेदेखि शुरू भयो? गीत-सङ्गीत र लोकभाकाहरूमा यस विषयले कहिलेदेखि प्रवेश पायो? वर्ग विभेद सम्बन्धी ऐतिहासिक अभिलेख नियाल्दा राजनीतिक दार्शनिकहरूले वर्ग चेतनाबारे बौद्धिक बहस थालनी गरेका पाइन्छन्।
‘ब्रिटानिका’ अनलाइन विश्वकोशका अनुसार, थोमस हब्स (सन् १५८८-१५७९), जोन लक (सन् १६३२-१७०४), रुसो (सन् १७१२-१७७८) जस्ता राजनीतिक दार्शनिकहरूले सामाजिक असमानता र सामाजिक श्रेणी-विभाजनबारे वैचारिक चेतनाप्रवाह र बहस थालनी गरे।
यी वैचारिक अगुवाहरूले प्रारम्भ गरेको बहसलाई विश्वविख्यात जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८-१८८३)ले खरो रूपमा व्याख्या-विश्लेषण गरेर चुलीमै पुर्याए। उनले आफ्नो कृति दास क्यापिटल मार्पmत वर्ग विभेद र वर्ग सङ्घर्षको सिङ्गो शास्त्र नै तयार पारेर वर्ग चेतना राँको नै सल्काए।
मार्क्सले समाजलाई पूँजीपति वर्ग र श्रमजीवी वर्ग गरी दुई वर्गमा विभाजन गरेर वित्तीय तथा वर्गीय चरित्रको कित्ताकाट गरे। यहींबाट वर्ग चेतनाको दरिलो किसिमले सैद्धान्तीकरण शुरू भएको देखिन्छ। त्यसमाथि बेलायत तथा यूरोपमा चलेको औद्योगिक तथा राजनीतिक क्रान्तिले वर्ग चेतनालाई झन् झन् दरिलो पारिदियो।
विश्वमा धनसम्पदाको आर्जन र वितरणबारे गहिरो जटिलता छ, जसबारे साम्यवादी र पूँजीवादी गरी दुई ध्रुवमा उभिएका तप्काले कार्ल माक्र्सले खडा गरेको वित्तीय तथा राजनीतिक चिन्तन धुरीमा नै अडिएर व्याख्या गरिरहेका छन्। धनसम्पत्तिको असमान वितरणबारे राजनीतिक वृत्तमा सैद्धान्तिक बहस निरन्तर चल्दै छ।
नेपालमा पनि धनसम्पत्तिको असमान वितरणबारे राजनीतिक वृत्तदेखि जनस्तरसम्म चर्चा छ। शुरूआती घडीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (विसं १९८१-२०३५) र उनका समकालीन राजनेताले राजनीतिक कोणबाट यसबारे आवाज बुलन्द गरे। अनुज पुस्ताको सामाजिक तथा राजनीतिक व्यवहार जे जस्तो भए पनि उनीहरूले सैद्धान्तिक रूपमा त्यही भाका छोपिरहेका छन्। समग्रमा भन्दा, २००७ सालको राणा विरोधी आन्दोलनपछि आम नेपालीमा आर्थिक असमानता र वर्ग चेतनाको चस्को पसेको देखिन्छ।
अन्तर्राष्ट्रिय साङ्गीतिक वृत्तमा धनसम्पदाको असमान वितरण तथा सामाजिक अन्यायबारे चर्को आवाज उठ्दै आएको छ। अमेरिकी स्वरजीवीहरू उडी गथ्री (सन् १९१२-१९६७), पिट सिगर (सन् १९१९-२०१४), बब डिलन (सन् १९४१), जमैकन्-अमेरिकी गायक बब मार्ली (सन् १९४५-१९८१), मार्क्सवादी धारका इटालियन कम्पोजर लुइजी नोनो (सन् १९२४-१९९०)ले गीत-सङ्गीत मार्फत सामाजिक असमानता विरुद्ध आवाज उठाएका छन्।
नेपालमा पनि वर्ग विभेद र वर्ग चेतनाको राजनीतिक भाका टिप्ने काम वामपन्थी कलाकारहरूले गरे। जेबी टुहुरे (विसं २००१-२०७८), खुसीराम पाख्रिन (विसं २००९-२०७४), रामेश, रायन, मञ्जुल, जीवन शर्मा जस्ता ‘प्रगतिशील’ स्वरजीवीहरूले गीत-सङ्गीत मार्फत सामाजिक विभेद र वर्ग चेतनाको आवाज उराल्ने काम गरे।
‘बसाइँ हिंड्नेको ताँतीको सबको रुवाउँछ’, ‘कोई त भने जहाजमा हरर, कोई त भने पसिना तरर’, ‘आमा दिदी बहिनी हो’, ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मही छैन, मही छैन’, ‘घर-बारी साहूलाई बुझउँदै, झरें मधेश बालबच्चा रुवाउँदै’ जस्ता गीत–गुञ्जन विद्रोही चेतका प्रतीक हुन्, जसमा वर्ग विभेदका स्पष्ट झ्लकहरू भेटिन्छन्।
‘प्रगतिशील’ स्वरजीवीहरूले कोरलेका सामाजिक असमानता र वर्ग विभेदका स्वर राजनीतिक उद्देश्यबाट प्रेरित गीत थिए। ती गीत राजनीतिक दलको ‘मिसन’ पूरा गर्ने अभिप्रायले ‘कम्पोज’ गरिएका थिए। लोककण्ठबाट प्रस्फुटन भएका स्वाभाविक आवाज थिएनन्। तर पनि, यस्ता गीतले जनस्तरमा लोकप्रियता हासिल गरेका थिए, जसले समाजमा वर्ग चेतना विस्तार गर्न भने सघाए।
नेपाली लोकजीवनमा वर्ग चेतनाको तस्वीर भने बहुधा धमिलो छ। यसका पछाडि निश्चित कारण छन्। चौतर्फी गरीबी, कमजोर चेतनास्तर, भाग्यवादको जगजगी, राज्यले धर्म (स्वर्ग-नर्कका प्रसङ्गमा)लाई प्रयोग गरेको वैचारिक नियोजन आदि यसका मूलभूत कारण हुन सक्छन्।
मानवशास्त्री डोरबहादुर विष्टको भाष्य अनुसार, ‘भाग्यवाद’ ले गाँजेको नेपाली समाज इटालियन माक्र्सवादी विचारक एन्टिनियो ग्राम्सी (सन् १८९१-१९३७) तथा फ्रान्सेली दार्शनिक लुइस अल्थ्युजर (सन् १९१८-१९९०)ले औंल्याएका तथ्य पनि सहायक सिद्ध हुन आउँछ। उनीहरूका विचारमा, राज्यले धर्म, आध्यात्मिकता लगायत वैचारिक हतियार (सफ्ट पावर) मार्फत नागरिकलाई एउटा निश्चित थान्कोमा राख्छ र उसभित्र विद्रोहको बीउ उम्रन दिँदैन।
यिनै सैद्धान्तिक तथा दार्शनिक आधारलाई मनन गर्दा नेपाली लोकजीवनको आलोचनात्मक चेत तुलनात्मक रूपमा बोधो हो कि भन्ने अड्कल काट्न सकिन्छ। यसको प्रतिविम्ब लोकगीतमा देखा पर्ने नै भयो। पछिल्लो समय नेपाली समाजमा वर्गीय विभेद, नश्लीय विभेद तथा सांस्कृतिक विभेदका मामिला सघन रूपमा उठिरहँदा पनि नेपाली लोकजीवनको यथार्थ प्रतिविम्ब मानिने लोकगीतमा वर्गीय विभेद सम्बन्धी चेतना ज्यादै मन्द, सुस्त र नरम देखिन्छ।
शिष्ट या मन्द चेतना?
यहाँनेर अर्को वास्तविकता पनि जोडिन आउँछ। त्यो हो, नेपाली लोकगीतमा विद्यमान शिष्ट र विनयशील अभिव्यक्तिको परम्परा। आफ्ना तीव्र असन्तुष्टिलाई पनि शिष्ट र मर्यादित ढङ्गमा साङ्केतिक रूपमा अभिव्यक्त गर्ने नेपाली लोकगीतको विशिष्ट परम्परा हो। नेपाली लोकगीतमा अन्तर्राष्ट्रिय गीतमा जस्तो चर्को क्रान्तिकारिता र उग्र विद्रोह भेटिँदैन, जसमा आक्रमताको कुनै गुञ्जायस देखिँदैन। परम्परागत नेपाली लोकगीतको मूल उद्देश्य भाव प्रकाशन मात्रै देखिन्छ। यसको अर्थ, हाम्रा लोकगीतमा सामाजिक असन्तुष्टि र वर्ग विभेदको प्रसङ्ग हुँदै हुँँदैनन् भन्ने होइन।
‘सुखीलाई जून पनि घाम पनि, म दुःखीलाई छैन नि माम पनि’, ‘सुखी ज्यानलाई गुँदरी काम्लो, मै दुःखीलाई जहाँ बस्यो उही राम्रो’, ‘लाम् त माया पुग्दैन धनले, नलाम् माया मान्दैन मनले’ जस्ता लोककण्ठमा उच्चारित लोकगीतमा वर्ग विभेद र वर्ग चेतनाका छनकहरू भेटिन्छन्। यी गीतमा कुनै उग्रभाव भेटिँदैन। वर्ग चेतनाका ‘जेन्टल रिमाइन्डर’ मात्र देखिन्छन्।
नेपाली लोकगीतमा भेटिने यस्ता ‘जेन्टल रिमाइन्डर’ ले समाजमा धनी र गरीबबीच विद्यमान वर्ग विभेदबारे स्मरण गराउँछन्। कतै कतै वर्ग विभेदका साथै रङ्गभेदका भुल्का पनि भेटिन्छन्। प्रस्तुत रोइला गीतमा यसको दृष्टान्त भेटिन्छ:
के के माया लाउँथ्यो
कालोसँग गोरीले
धनी बाउको छोरीले
हिजोआज अधिकारमुखी आन्दोलन मार्फत सामाजिक न्यायका कुरा चर्कै रूपमा उठे पनि सुधो, सीधा र निर्धाहरू कसैको बोलीवचन र व्यवहारबाट हेपिने क्रम निरन्तर जारी नै छ। भनाइ नै छ, ‘जो सोझे उसकै मुखमा घोचो।’ यो सर्वजनीन वास्तविकता लोकगीतमा भल्किएको छः
काली उखु पेलेर खुदो
गरीबलाई देखेर सुधो
भन्छौ कुरो हुँदो र नहुँदो
परम्परागत नेपाली लोकगीतका रचनाकार अज्ञात छन्, जुन मौलिक लोकगीतको एउटा महत्तवपूर्ण विशेषता हो। एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै आएका यस्ता गीत कसले कहिले रचना गरे भन्ने खुल्दैन। यी गीत कार्ल माक्र्सले वर्ग सङ्घर्षको कुरा निकाल्नुभन्दा अघि नै स्वस्फूर्तमा रूपमा रचित पनि हुन सक्छन्।
रेडियो नेपाल जस्ता प्रसारण संस्थाको आगमन, रेकर्डिङ प्रविधिको विकास तथा लोकगीतको वस्तुकरण भएसँगै लोकगीतमा रचनाकार देखापर्न थालेका छन्, जसमध्ये केही वर्ग चेतना झ्ल्कने प्रकृतिका पनि छन्। दृष्टान्तको रूपमा रामशरण नेपाली र सुभद्रा अधिकारी (विसं २००४-२०७६) को स्वरमा रहेको गीत:
भो माया लाउँदिनँ
आफू सुखी साइँला दाजु म दुःखी सुहाउँदिनँ
फूल सारे माया नमारे
कुनै कुनै लोकगीतमा वर्गीय रवाफको छनक भने पाइन्छ। ‘स्टेट्स सिम्बोल’ प्रतिको गौरवभाव भेटिन्छ्:
मेरो राजा को भन्दा कम्ती छ
हातमा घडी सुनैको अम्ठी छ
पङ्क्तिकारको तर्क के हो भने, हाम्रा लोकगीतमा वर्ग विभेद नभनी विभेद र चेतनाका प्रसङ्ग आएका छन्। यसमा पश्चिमेलीहरूले सिर्जना गरेका ‘प्रोटेस्ट सङ’ मा जस्तो उग्रभाव भेटिन्न। शिष्ट पारामा मनोभाव पोख्ने नेपाली लोकगीतको मौलिक विशेषता हो। यस प्रकारको शिष्ट परम्परालाई विनयशीलता भन्ने कि वर्ग विभेदप्रतिको मन्द चेत मान्ने? यसबारे मन्थन आवश्यक हुन सक्छ।
(मिडिया र सांस्कृतिक फाँटमा लेख्ने दुरा मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता प्राध्यापन गर्छन्। हिमालको २०७८ मंसीर अंकमा ‘लोकगीतमा वर्ग चेतना’ शीर्षकमा प्रकाशित।)